दुई साताअघि युट्युबमार्फत मोडल तथा गायक दुर्गेश थापाको तिज गीत सार्वजनिक भयो । बजारमा गीत आएसँगै विवादमा तानियो । गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’को अर्थ र मर्म गलत भएको भन्दै आलोचना सुरु भयो । सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि थापाको गीतलाई प्रतिबन्ध लगाउन नैतिकताको तराजु बोकेर राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अघि सर्यो ।
थापाले प्रतिष्ठानको निर्देशन नमानेकाले ‘बहिस्कार’ गर्ने निर्णय पनि सार्वजनिक भयो । थापाले पनि प्रतिष्ठानको निर्देशनको डटेर विरोध गरे । उनले नयाँ पत्रिकालाई भनेका थिए, ‘उहाँहरूले बहिस्कार गर्नुहुन्छ भने गरिदिए हुन्छ । उहाँहरूले चाहिँ जेजस्तो गाए पनि हुने, हामी गाउँदा बहिस्कारमा परिन्छ भने बहिस्कार हुन तयार छु ।’ तर, प्रतिष्ठानको तानाशाही शैलीको निर्णयको चौतर्फी आलोचना भएपछि निर्णय सच्याउँदै ‘सदस्यताबाट मात्रै वञ्चित गरिएको’ विज्ञप्ति सार्वजनिक गरियो ।
यसपटकको तिज गीत मात्रै होइन, थापाको अन्य गीतहरू पनि विवादमुक्त छैनन् । कहिले गीतको शब्द चोरीको आरोपमा विवादमा परेका छन् त कहिले गलत शब्द राखेको आरोप खेप्दै हिरासतसम्म पुगेका छन् । गीतको शब्द र त्यसले दिने अर्थकै कारण थापा लगातार विवादमा पर्दै आएका छन् । तर, दोहोरो अर्थ दिने शब्द प्रयोग गर्ने संगीतकर्मीको सूचीमा दुर्गेश एक्ला भने होइनन् ।
पछिल्लो समय युट्युबमा अपलोड भएका गीतहरूतिर थोरै मात्रै नजर लगाउँदा पनि नेपाली लोक तथा तिज गीतमा शब्दको खडेरी परेको प्रस्टै देखिन्छ । दोहोरीका नाममा आएका कतिपय गीतले त यौनिकतालाई केन्द्रमा राखेर यौनकुण्ठा मात्रै ओकलेका छन् । चार महिनाअघि सार्वजनिक भएको ‘झुम्के बुलाकी’ बोलको गीतको ‘बोटैमा भोगटे, भोगटेले ठाउँ मात्रै ओगटे...’ लाइन टिकटकमा भाइरल भयो । भाइरल हुनुको कारण एउटै थियो, यसले दिने दोहोरो अर्थ । त्यही अर्थ झल्काउने गरी टिकटक भिडियो बनाइएका छन् । त्यस्तै ‘स्यानी माया’ बोलको गीतको ‘ओए भन्न नपाउँदै, आउँदै च्याप्प समाउँदै’ लाइन अहिले टिकटकमा भाइरल छ । हजारौँ टिकटक भिडियो भनेको यस गीतलाई कुन अर्थमा दर्शक श्रोताले लिएका छन्, त्यो भिडियोमै प्रस्ट छ । झनै भिडियोहरूमा आएका प्रतिक्रिया पढ्नै नसकिने खालका छन् ।
गायक पशुपति शर्मा भन्छन् - वास्तविक गीत निकाल्दा दर्शक/श्रोताले सुनिनदिनु पनि एउटा कारण हो । उट्पट्याङ, हल्ला गर्दा चल्छ, सबैले त्यसै गर्छन् । तर, अलिकति चेतना हुनेले यसो गर्दैनन् ।
गीतकार हर्क साउद भन्छन् -दर्शकहरू जहाँ रमाइरहेका छन्, त्यस्तै खाले गीत ल्याएर कलाकार हुनेहरू छन् । दर्शकको सोच, बुझाइ बदल्ने कोसिस गर्दैनन् । यो स्वतन्त्रताको नाममा निर्लज्जता हो ।
चलचित्र निर्देशक तथा समीक्षक मनोज पण्डित भन्छन् -अहिले तिज गीत जसरी आइरहेको छ, यसलाई ‘बहिस्कार’भन्दा पनि सचेत भएर जाँच गर्नुपर्छ । यस्ता गीतको खपतले हाम्रो समाजको कुण्ठित मनोविज्ञान देखाउँछ । हाम्रो समाजमा यौन, नैराश्यता, परनिर्भरताको कुण्ठा छ ।
यी त पछिल्ला उदाहरण मात्रै हुन्, जहाँ तिज तथा लोकदोहोरी भनिएका गीतमा राम्रो शब्दको खडेरी पर्ने गर्छ । यस्ता गीतमा दोहोरो अर्थ हुनु नौलो रहेन । यस्तो विकराल अवस्था निम्तिनुमा वास्तविक गीत निकाल्दा दर्शक/श्रोताले नसुनिदिनुलाई पनि कारक मान्छन् गायक तथा प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्मा । ‘उपटप्याङ, हल्ला गर्दा चल्छ, सबैले त्यसै गर्छन् । तर, अलिकति चेतना हुनेले यसो गर्दैनन्,’ शर्मा भन्छन् ।
जम्मा चर्चा भए पुग्ने, बदनामै भए पनि नाम चाहिने खालको सोच भएकाहरूले नै त्यस प्रकारका गीत ल्याउने शर्माको दाबी छ । मूल गीतले एक तरिकाले भनेको हुन्छ, त्यसको अर्थलाई बंग्याएर टिकटक भिडियो बनाउनेहरूले पनि लोकगीतलाई मार्न भूमिका खेल्ने गरेको उनको गुनासो छ । ‘सरकारी निकायले पनि नियमन गर्नुपर्छ, ख्याल गर्नुपर्छ । नीति नियम बनाएर अनुशासित बनाउनुपर्छ,’ शर्मा भन्छन्, ‘हामीले त सकेको गरिरहेकै छौँ । अहिले टड्कारो रूपमा चाहिएको भनेको सेन्सर बोर्ड हो । यसबारे कुरा उठाइरहेका छौँ, तर हाम्रो कुरा सम्बन्धित निकायले सुनेको छैन ।’
याँमा मात्रै होइन, पुराना कलाकार बद्री पंगेनी, प्रजापति पराजुली, कोमल वली, कुमार बस्नेतसम्मका गीतमा शब्दको खडेरी भेटिन्छन् । अनुप्रास मिलाउन र गीत चलाउन मात्रै दोहोरो अर्थ दिने शब्द प्रयोग गरिएका छन् । वलीको ‘पोइल जान पाम्...’, बस्नेतको ‘छोरीभन्दा आमा तरुनी...’,लगायत गीत पनि दोहोरो अर्थ र सस्तो लोकप्रियताको भोकबाट बाहिर निस्कन सकेका छैनन् ।
लोकगीतभित्रकै तिज गीत विशेषतः महिलाले आफ्नो वेदना, खुसी, बाध्यता पोख्ने विधा हो । तर, गायक प्रजापति पराजुलीले २०५४ सालमा ‘वेदनाको भाग–१’ ल्याएपछि तिज गीतमा पुरुषको औपचारिक प्रवेश सुरु भएको तथ्य छ । तिज गीतचाहिँ विशेषगरी महिलाकै हो भन्ने विभिन्न तथ्यले समेत देखाउँछ । पहिले–पहिले तिजको वेला छोरीहरू तीन चार डाँडा काटेर माइत जानुपथ्र्यो । माइत जानेवेलाका खुसीहरूलाई गीत बनाएर गाउँथे । माइत जान नसकेका वा नपाएकाहरू त्यो पीडालाई गीतका माध्यमबाट अभिव्यक्त गर्थे । माइत पुगेकाहरू त्यो खुसीलाई गीतका लहरहरूमा उन्थे । र ती गीतहरू पुस्तान्तरण हुँदै जान्थ्यो । कवि तथा लोकसंगीतका अनुसन्धानदाता संगीत श्रोताले संकलन गरेको तिज गीतमा छोरीलाई आमाले भनेकी छिन्– जा त सीता कोठीमा, भाउजु किन उठिन, सुकाएका धान थिए किन कुटिन... ।
नयाँमा मात्रै होइन, पुराना कलाकार बद्री पंगेनी, प्रजापति पराजुली, कोमल वली, कुमार बस्नेतसम्मका गीतमा शब्दको खडेरी भेटिन्छन् । अनुप्रास मिलाउन र गीत चलाउन मात्रै दोहोरो अर्थ दिने शब्द प्रयोग गरिएका छन् ।
तिज गीत महिलाले आफ्नो मनको कुरा अभिव्यक्त गर्ने माध्यम थियो । दुःख, पीडा, खुसी, आँसु सबै गीतका लयमा उन्थे । आक्रोश, विद्रोह सबै गीत बनाएर गाउँथे । गीतको लयमा पारिवारिक मनमुटाव पनि सुन्दर हुने गथ्र्यो । तुलसी दिवसले संकलन गरेको एउटा तिज गीतमा चेलीले आफ्नो वेदना यसरी पोख्छिन्– दाज्यूको माया भाउज्यूले खोसिन्, तिजको रहर गयो बरिलै, मलाई तिजको रहर गयो बरिलै ।
०६४ सालबाट तिज गीतहरू दुईअर्थी हुन थालेको जानकारहरू बताउँछन् । लोक साहित्यमा पिएचडी गरेका प्रा.डा. मोतिलाल पराजुली तिज गीतमा महिलालाई स्वतन्त्र छाडिदिनु पर्ने तर्क गर्थे । यसको अर्गानिकता नमासिने उनको भनाइ थियो । उनले भनेका थिए, ‘नेपाली समाजले परिवारका सदस्यलाई एउटा–एउटा पर्व दिएको छ । पुरुषको प्रवेशले व्यवसाय बढ्यो होला । त्यो व्यवसायीले हेर्ने हो । तर, तिजको विरासत बचाउनका लागि पुरुषको प्रवेश हुनुहुन्न । त्यो नभइदिए हुने ।’ तर, पराजुलीले भनेजस्तो पुरुषको प्रवेश रोक्न सकिने अवस्थामा छैन अहिलेको तिज गीत । बरु दुर्गेश थापाहरू झनै जोसिएर तिज गीत ल्याइरहेका छन् । दर्शक/श्रोता दुर्गेशहरूकै गीतलाई रमाइलो मानीमानी हेरिरहेका छन् ।
लोकगीतका नाममा यस्तो विकराल अवस्था आउनुमा दर्शकको चेतना, मनोविज्ञान र बुझाइ पनि कारक रहेको बताउँछन् गीतकार हर्क साउद । ‘यौनिकता, अश्लीलता झल्किएका गीतहरू आउँछन्, दर्शक÷श्रोता त्यही गीत हेर्छन्, ट्रेन्डिङमा ल्याइदिन्छन् । प्रमुख त हामी दर्शक÷श्रोताको बुझाइमै समस्या छ,’ साउद थप्छन्, ‘दर्शकहरू जहाँ रमाइरहेका छन्, त्यस्तैखाले गीत ल्याएर कलाकार हुनेहरू छन् । दर्शकको सोच, बुझाइ बदल्ने कोसिस गर्दैनन् । यो स्वतन्त्रताको नाममा निर्लज्जता हो ।’
पछिल्लो समय हिसाबै गर्दा दैनिक आधा दर्जनभन्दा बढी तिज गीत सार्वजनिक भइरहेका छन् । त्यही मात्रामा लोकगीत सार्वजनिक भइरहेका छन् । लगानीको हिसाबले पनि ठूलो लगानी गीतसंगीतमै भइरहेको छ । तर, अहिले तिज गीत जसरी आइरहेको छ, यसलाई ‘बहिस्कार’भन्दा पनि सचेत भएर जाँच गर्नुपर्ने अवस्था देखिएको निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् । उनका अनुसार अहिलेका गीत त्यस्तो बन्नुमा बनाउनेको मात्रै होइन, गीत खपत गर्ने जुन जमात छ, उनीहरूको भित्री कुण्ठा यस्ता गीतले पूरा गरिरहेको छ ।
‘यस्ता गीतको खपतले हाम्रो समाजको कुण्ठित मनोविज्ञान देखाउँछ । हाम्रो समाजमा यौन, नैराश्यता, परनिर्भरताको कुण्ठा छ,’ पण्डित भन्छन्, ‘हाम्रो समाज ती खपतकर्ताहरूकै कारण बिरामी छ भन्ने प्रमाणीकरण भइरहेको छ । त्यो आफ्नै चाहनाको उपजमा दुर्गेशलाई गाली गरिरहेका छन् । तर, आफ्नै मनोविज्ञानलाई प्रश्नचाहिँ गर्न सक्दैनन्, ‘तँ रोगी छस्’ भनेर ।’