१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १५ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ श्रावण १५ शुक्रबार १८:३४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ वर्षमा अख्तियार हेटौँडामा १० हजार उजुरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १५ शुक्रबार १८:३४:oo

बितेको आठ वर्ष अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा १० हजार बढी उजुरी दर्ता भएको छ । १५ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक वर्ष ०७०/७१ देखि गत आर्थिक वर्ष ०७७/७८ सम्म १० हजार तीन सय ७० वटा उजुरी दर्ता भएको तथ्यांकमा उल्लेख छ ।

कार्यालयको तथ्यांकअनुसार आठ वर्ष अवधिमा सबैभन्दा बढी आव ०७१/७२ मा दुई हजार दुई सय ९८ उजुरी परेका थिए । तीमध्ये एक हजार चार सय ३४ फर्स्याेट र आठ सय ६४ बाँकी रहेको थियो । ०७१/७२ मा कार्यालयले ६२ दशमलव ४ प्रतिशत उजुरी फर्स्याेट गरेको थियो । सोही अवधिमा सबैभन्दा कम आव ०७०/७१ मा सबैभन्दा कम ३९ दशलमव ७ प्रतिशत मात्र उजुरी फर्स्याेट गरिएका छन् । ०७०/७१ मा दर्ता भएका दुई हजार ५५ उजुरीमध्ये आठ सय १५ फर्स्याेट र एक हजार दुई सय ४० बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

आव ०७२/७३ मा एक हजार तीन सय पाँच दर्ता, एक हजार २४ फर्स्याेट र तीन सय ६१ बाँकी, ०७३/७४ मा सात सय ९८ दर्ता भएका उजुरीमध्ये पाँच सय २७ फर्स्याेट र दुई सय ६१ बाँकी रहेको थियो । हेटौँडामा अख्तियारको कार्यालय स्थापनापछि ०७४/७५ मा दर्ता भएका उजुरी संख्या हालसम्मकै न्यून छ । 

कार्यालयका अनुसार ०७४/७५ मा ६ सय ७९ उजुरी दर्ता भएको थियो । त्यस अवधिमा चार सय फर्स्याेट र दुई सय ७९ बाँकी रहेको जनाइएको छ । आव ०७५/७६ मा एक हजार एक सय उजुरीमध्ये सात सय ७१ फर्स्याेट, ०७६/७७ मा एक हजार एक सय २६ मध्ये सात सय आठ फर्स्याेट र ०७७/७८ मा नाै सय २९ दर्ता, पाँच सय १६ फर्स्याेट गरिएको कार्यालयले जनाएको छ ।

आठ वर्ष अवधिमा अनियमितता, भ्रष्टाचार, किर्ते, अधिकार दुरुपयोगका उजुरीहरू दर्ता भएको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले बताए । उनका अनुसार स्थानीय तहसँग सम्बन्धित सबैभन्दा बढी उजुरी कार्यालयमा दर्ता हुने गरेको छ । 

प्रायः स्थानीय तहमा भइरहेका विकास निर्माणको कार्यमा गुणस्तर कम भएको, काम नभई भुक्तानी भएको, उपभोक्ता समितिको नामबाट ठेक्का लगाएर काम हुने गरेको, सचेतनामूलक तथा तालिम सेमिनारजस्ता कार्यक्रममा फर्जिबिल बनाई आर्थिक अपचलन हुने गरेको विषयमा केन्द्रित रहेर उजुरी दर्ता भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

भ्रष्टाचारजन्य कार्यको छिटो र वैज्ञानिक अनुसन्धान तहकिकातमा आधुनिक र प्रविधिमैत्री विधिहरूको अवलम्बन गरी सदाचार सुशासन कायम गर्नेतर्फ कार्यालयको क्षमता विस्तार गर्दै अघि बढ्ने योजना रहेको सापकोटाको दाबी छ ।

आव ०७७/७८ मा ३१ लाख ८७ हजार असु
  गत आर्थिक वर्ष ०७७/७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले ३१ लख ८७ हजार आठ सय ६८ रुपैयाँ असुलउपर गरेको छ ।

 कार्यालयले अनुसन्धान भएका उजुरीहरूको प्रारम्भिक एवं विस्तृत अनुसन्धानबाट व्यक्ति र संस्थाबाट सार्वजनिक सम्पत्ति रकमको पुनः प्राप्तिस्वरूप असुलउपर गरिएको जनाएको छ । कार्यालयमा आव ०७७/७८ मा नाै सय २९ वटा उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये ५५ दशमलव ५४ प्रतिशत फर्स्याेट गरिएको छ । 

बितेको आर्थिक वर्षमा अनुसन्धान गरेर पाँच सय १६ वटा उजुरीको फर्स्याेट भएको आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी सापकोटाले जानकारी दिए । दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धी पाँच सय १८ वटा उजुरी परेका छन् । तीमध्ये दुई सय ६७ को फर्स्याेट र दुई सय ५१ वटा बाँकी रहेका छन् । त्यसैगरी संघीय सरकारअन्तर्गतका कार्यालयको बितेको आर्थिक वर्षमा दुई सय ३९ वटा उजुरी परेका छन् । 

त्यसमध्येमा एक सय ५३ वटा उजुरीको फर्स्याेट गरिएको छ । ८६ वटा उजुरी बाँकी रहेका छन् । प्रदेशस्तरका मन्त्रालय र कार्यालयको एक सय ७२ वटा उजुरी परेको छ । त्यसमध्येमा ९६ वटा उजुरीको फर्स्याेट भएको र बाँकी ७६ वटा रहेको छ । कार्यालयमा परेका उजुरीमध्ये रौतहटबाट ११, बाराबाट तीन सय चार, पर्साबाट एक सय ९६, दोलखाबाट १७, सिन्धुपाल्चोकबाट आठ, रसुवाबाट दुई, धादिङबाट २७, नुवाकोटबाट पाँच, काठमाडौंबाट दुई, भक्तपुरबाट एक, काभ्रेपलाञ्चाेककबाट नाै, रामेछापबाट २९, धनुषाबाट एक र चितवनबाट ९७ वटा उजुरी परेको उनले बताए ।