१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Saturday, 05 July, 2025
गणेश लम्साल विराटनगर
२o७८ श्रावण १४ बिहीबार १३:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध युवाहरूको प्रदर्शन 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १३:४८:oo

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरघर पुगेर  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले खोप लगाउने अनियमित कार्य गरेको भन्दै बिहीबार युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले, समाजवादी पार्टीलगायतका दलमा आबद्ध युवाले बिहीबार दिउँसो ११ देखि १ बजेसम्म खोपमा अनियमितता गरेको आरोपमा मेयर पराजुलीविरुद्ध नाराबाजी गर्दै विराटनगर महानगरपालिका घेराउ गर्दै  प्रदर्शन गरे । उनीहरूले दिनभरि लाइन लाग्दा पनि कसैले खोप लगाउन नपाएको, तर कांग्रेस गुटका कार्यकर्ता भएकै कारणले मध्यराति घरघरमै खोप लगाउने गलत कार्य गरेको भन्दै मेयर पराजुलीमाथि कारबाही हुनुपर्ने माग गरे । 

युवा दीपक बजगाईंका अनुसार यसअघि पनि मेयर पराजुलीले पहुँचवालालाई खोप दिलाउने काम गरेका थिए । यसैगरी उनले मापदण्ड लत्याएर अक्सिजन पनि घरघरमा रातिराति विनाप्राविधिक आफैँ पुगेर बाँडेका थिए ।  युवाहरूका अनुसार बुधबार साँझ विराटनगर– ५ मा आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउन मेयर पराजुली दलबलसहित पुगेका थिए ।

तर,  राति ९ बजे सुटुक्क घरघरमा खोप लगाउने गरेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि  विराटनगर– ५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा खोप लगाउन पुगेका मेयर पराजुलीसहित प्राविधिकहरूको भागाभाग भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात पनि गरेका थिए ।  

विराटनगर महानगरपालिकाले सरकारले तोकेको मापदण्डअनुसार अमेरिकाबाट आयात गरिएको जोन्सन एन्ड जोन्सन खोप ५५ वर्षभन्दा माथिको उमेर समूहलाई लगाइरहेको छ । खोप लगाउन केन्द्रमा मानिस चर्को घामपानी सहेर घन्टाैँ लाइन बस्ने गरेका छन् ।