मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १३ बुधबार १५:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार सानातिना कुरामा फस्न, अल्झिन र अल्मलिन हुँदैन : राष्ट्रिय सभा सदस्य पन्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १३ बुधबार १५:२०:००

राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले सुरुदेखि नै सरकार सानातिना कुराहरूमा फस्न, अल्झिन र अल्मलिन नहुने बताएका छन् । बुधबार राष्ट्रिय सभाको विशेष समयमा सम्बोधन गर्दै पन्तले सुरुका केही सवालहरूले बजार  तातिएको भन्दै सरकारले हरेक सवालहरूको जवाफ समयमै दिनुपर्ने बताएका छन् ।  समस्या भए बहस–छलफलमार्फत हल गर्नुपर्नेमा जोड दिएका छन् । अघिल्लो सरकारले जाँदाजाँदै तीन लाख डोज कोभिडविरुद्धको भ्याक्सिन हराएको भन्ने कुराको यथार्थ बाहिर ल्याउन माग गरे । 

हिजो प्रश्न गर्ने ठाउँमा, आज कार्यान्वयन गर्ने ठाउँमा रहेको वर्तमान सरकारसँग जनताका धेरै अपेक्षा रहेको बताए । हिजो प्रतिपक्षमा रहँदा ओली सरकारलाई प्रतिपक्षको हैसियतमा गरिएका सारा प्रश्नहरू बिस्तारै वर्तमान सरकारतर्फ आउने उल्लेख गरे । उनले भने, ‘हिजोका सबैजसो प्रश्नहरू, सवालहरू, समस्याहरूका भारी वर्तमान सरकारले वहन गर्नुपर्ने अवस्था विद्यमान छ । वर्तमान सरकारको जिम्मेवारी पनि हो । यसको क्रमशः व्यवस्थापन गर्दै, सुधार गर्दै, जनभावनाअनुरूप, संविधानकाे भावनाअनुरूप काम गर्दै जानुपर्ने नै छ ।’

वर्तमान सरकारले प्रतिपक्षमा रहँदा उठाएका तमाम सवाल र प्रश्नहरूलाई एकपटक पल्टाएर हेर्न जरुरी रहेको बताए । उनले वर्तमान सरकारको सफल हुने कसी त्यही भएको उल्लेख गरे । अहिलेको अवस्थामा मन्त्री, प्रधानमन्त्री, नेताहरूको घरदैलोमा भैलो खेल्न को–को पुगे ? लाइन लाग्न को पुगे ? को अगाडि छ ? भनेर नजर लगाउने वेला नभएको बताए ।

बरु को आएन ? किन आएन ? को छुट्यो ? लाइनको पछाडि को छ ? बालुवाटारको घेराबाहिर को छ ? सिंहदरबारको बाहिर को छ ? ग्रामीण दूरदराजमा को छ ?हिमाल, पहाडका कन्दरादेखि मधेसका झुप्रोमा को छ ? तिनीहरूले सिंहदरबार, बालुवाटार देख्न, आफ्नो सरकारलाई भेट्न सक्छन् ? के सिंहदरबार घरघर पुग्यो ? संविधानको कार्यान्वयनभित्र, मौलिक हक कार्यान्वयनभित्र, वर्तमान सरकारको जिम्मेवारीभित्र यी कुराहरू, सवालहरू कहाँनेर छ ? मैले निवर्तमान प्रधानमन्त्रीलाई सोधेको थिएँ, प्रश्न गरेको थिएँ, तपाईंको समृद्धिको यात्रामा कुदेको रेलको कुनचाहिँ डिब्बामा यी जनता छन् ? सवालका गुन्टाहरू कहाँ छन् भनेर सोच्नुपर्ने बताए ।