Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार ११:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोकिन कारोबारीको  गिरोहमा प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार ११:२५:००

एक किलो १४ सय ग्राम कोकिनसहित ६ जना पक्राउ, बरामद कोकिनको मूल्य करिब साढे चार करोड  

कोकिन कारोबारमा संलग्न गिरोहमा प्रहरीको समेत आबद्धता भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले एक किलो १४ सय ग्राम कोकिन बरामद गरी एक प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरेको छ । 

गोरखाका सुरज गुरुङको समूहलाई ब्युरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा प्रहरी जवान एकराज गुरुङसमेत पक्राउ परेका हुन् । हुम्लामा कार्यरत जवान गुरुङ पटकपटक उपचारका नाममा काठमाडौं आउने र तस्करीमा सघाउने गरेको अनुसन्धानमा खुलेको छ । 

ब्युरोले शुक्रबार सुरुमा पाँच सय ग्राम कोकिनसहित पकनाजोलको एक होटेलबाट पाँचजनालाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा गिरोहका नाइके गुरुङलाई चितवनबाट पक्राउ गरी थप कोकिन बरामद गरेको हो । सो गिरोहबाट नक्कली सुनसमेत बरामद भएको छ ।

पक्राउ पर्नेहरू धेरैजसो गोरखाका छन् । मुकुन्द खड्का, मन गुरुङ, रेशमबहादुर रानालगायतलाई पनि पक्राउ गरी ब्युरोले अनुसन्धान गरिरहेको छ । नक्कली सुनको कारोबारमा संलग्न सुर्खेतका नन्दलाल मान्तलाई पनि प्रहरीले उनीहरूसँगै पक्राउ गरेको छ । उनीबाट दुई किलो चार सय ग्राम नक्कली सुनसमेत बरामद गरेको छ । 

अमेरिकामा उत्पादन हुने कोकिनको कारोबारमा नेपाल ट्रान्जिट हुने गरेको छ । सो कोकिन कसरी यो गिरोहको हातमा पर्‍यो भन्नेमा अनुसन्धान भइरहेको ब्युरोका अधिकारीहरू बताउँछन् । बरामद कोकिनको मूल्य करिब साढे चार करोड छ ।

नेपालमा कोकिन प्रयोग गर्ने दुर्व्यसनी खासै छैनन् । उनीहरूले अन्तर्राष्ट्रिय गिरोहसँगै मिलेर कारोबार गरेको हुन सक्ने आशंकामा ब्युरोले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसकिएकाले यसबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन । पक्राउ परेका सुरज गुरुङ लामो समयदेखि प्रहरीको खोजी सूचीमा भएका व्यक्ति हुन् ।