१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ९ शनिबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ९ शनिबार १७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको पक्षमा दिनदिनै काम गर्नुपर्नेछ, मन्त्रीलाई अलिकति पनि लापरबाही गर्ने छुट छैन : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ९ शनिबार १७:१२:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झन्डै दुईतिहाइ बहुमतनजिक पु¥याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको उनले बताए । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेको बताए । 

उनले भने ‘सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरूबीच कतै छिद्र छ कि ? कांग्रेस र कम्युनिस्ट भनाउन सकिने हो कि ? एमालेभित्र चलिराखेको छ नि फरमानको फरमान । एमसिसी अगाडि सारेर हुन्छ कि ? आइपिएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भइरहेको बुझ्न जरुरी छ ।’

उनले एमाले उपाध्यक्ष भीम रावलप्रति लक्षित गर्दै भने ‘संसद् विघटनविरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्पिरिटका साथ काम गरेका साथीहरू पनि ढले । त्यो त्यत्तिकै ढलेको होइन । त्यहाँभित्र गम्भीर षड्यन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो ।’
 
प्रचण्डले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिए पनि कमजोर ठानिहाल्ने अवस्था नरहेको पनि बताए । उनले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको उल्लेख गर्दै मन्त्रीहरूलाई लापरबाही गर्ने कुनै छुट नभएको पनि बताए । 

‘लापरबाही गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन । सानासाना भए पनि सकारात्मक काम हुँदै जानु अनिवार्य छ । कोही पनि मन्त्रीलाई अलिकति पनि छुट छैन, लापरबाही गर्ने । यो बाँकी अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नुपर्नेछ । हुुन त सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको सुरुवात गरेको छ । तर, अब यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानुन र संविधानसम्मत ढंगले परास्त गर्दै अघि बढ्नुपर्ने हुन्छ ।’
 
प्रचण्डले पार्टीभित्र मन्त्री बन्न दबाब दिनेहरूले आफूलाई मानसिक तनाव बढाएको प्रतिक्रिया पनि दिए । ‘म अहिले पनि मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलभित्रबाट यहाँ आएको छु । आतंक छ, मेरा दिमागमा, कसलाई मन्त्री बनाउने ? हाम्रो पार्टीको ४९ जना सांसद सबै मन्त्री बन्न चाहन्छन्, हामीले पाउने मन्त्री बढीमा सातजना हो । चार–पाँच दिनयता मचाहिँ साँच्चै एक खालको मानसिक तनावभित्र छु ।’

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कर्माचार्यको जीवनशैलीलाई ग्रहण गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।