मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मातृका देवकोटा
गणेश लम्साल विराटनगर
२०७८ श्रावण ८ शुक्रबार ०८:३५:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

युनिपोलरका बिरामी मनोरोग सचेतनाका अभियन्ता

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण ८ शुक्रबार ०८:३५:००

४८ वर्षअघि गोरखाको आँपपीपल गाविस–३ मा जन्मेका मातृका देवकोटा तीन दाजुभाइमध्ये कान्छो थिए । उनले यहीँको स्कुलमा पढे । पढाइ मध्यम थियो । उनको स्वभाव भने गम्भीर प्रकृतिको थियो । पढाइलेखाइमा गम्भीरजस्तो देखिए पनि परिणाम भने मध्यमखालको मात्रै आउँथ्यो । 

१५ वर्ष पुग्दा उनी चाहिनेभन्दा बढी पढ्न मन गर्न थाले । धेरै पढ्थे । एकदमै ‘रिर्जभ’ बस्थे । अरूसँग निकै कम बोल्थे । एसएलसी दिने वेलासम्म त उनलाई लेख्न मनै लाग्न छाड्यो । तैपनि सेकेन्ड डिभिजनमा एसएलसी पास गरे । त्यसपछि त उनमा पढ्ने शक्ति नै रहेन । यसले उनी निकै तनावमा परे । के भइरहेको छ भन्ने न त आफैँले थाहा पाए न त परिवारले नै जान्ने कोसिस गर्‍यो । भाइलाई यस्तो किन भइरहेको छ भनेर खोज्नुको साटो उनका दाजुहरूले वन विज्ञान अध्ययन संस्थान पोखरामा फरेस्टरी पढ्न भर्ना गरिदए । उनी भने पढाइ भन्नेबित्तिकै तर्सिन्थे । एकछिन पढ्दा पनि आँखा राता हुन्थे साथीहरू भने धेरै पढेर यस्तो भएको भन्थे । उनले भने, ‘आफ्नो व्यथा अरूलाई के था ?’ पढ्न बस्यो कि उनको टाउको चट्किन्थ्यो, ढाड दुख्थ्यो, ऐनामा अनुहार हेर्नै सक्दैन थिए । उनी अहिले पनि सेल्फी खिच्दैनन् । र ऐना पनि हत्तपत्त हेर्दैनन् । 

रोगले च्याप्दै गएपछि उनले परीक्षा राम्रोसँग दिन सकेनन् । यद्यपि, शिक्षकको सहानुभूतिले जसोतसो आइएस्सी भने पास गरेको उनी बताउँछन् । आइएस्सी गरेपछि रेन्जरको जागिर पक्का भयो । ६ महिना उनले जागिर पनि खाए । तर, काममा मनै लागेन । त्यसपछि उनी घर फर्केर आठ वर्ष चुपचाप बिताए । पढे लेखेको र रेन्जर भए पनि घरमै उनी मौनजस्तै बस्थे । करेसाबारीमा आफ्नै सुरले काम गरेर दिन बिताउँथे । तर, गाउँमा भने पढेर पनि केही गर्न नसक्ने भनेर आलेचना हुन थालिसकेछ । उनले भने, ‘आमाबुबालाई सुख दिनुको साटो झनै दुःख दियो भनेर पनि कुरा काट्ने गर्थे । लाछी भनेर होच्याउँथे । यस्तो सुन्दा दुःख त लाग्थ्यो नि तर केही गर्न सक्दैनथेँ ।’ उनी बिरामी छन् भनेर उनलाई मात्रै थाहा थियो । गाउँलेहरूले पढेर घमन्डी भएको ठान्थे । बिहे नगरेर बिग्रेको र संकीर्ण स्वभावसमेत भन्न भ्याएको उनी सम्झन्छन् । 

वर्षौसम्म मानसिक रोग भनेर पत्तै पाएनन् 
घर आएको आठ वर्ष बितिसक्दा पनि उनको उपचारमा कसैले चासो दिएनन् । त्यो वेला मानसिक रोगलाई बिराम नै ठानिँदैनथ्यो । बरु ‘यो बहुला हो’ भनेर होच्याउँथे । पछि गाउँमै कसैले ‘तिमीलाई मानसिक रोग लागेको हुन सक्छ उपचार गराऊ’ भनेर सल्लाह दिए । त्यो वेला गोरखामा भर्खर मिसन अस्पताल खुलेको थियो । उनी त्यहाँ गए । यहाँ रोग निको नभए पनि मानसिक रोग नै लागेको हो भन्नेमा उनी पक्का भए । त्यसपछि उपचार गर्न काठमाडांै गएको उनको भनाइ छ । 

‘आफ्नो उपचार आफैले गरेँ’ 
०५५ तिर मातृका देवकोटा काठमाडांै गए । किराना पसलहरूमा काम गर्न थाले । साइकलमा डुलाएर समानहरू बिक्री गर्थे । हिसाब मिलाउन नसक्दा धेरै गाली खान्थे । तर, सबै सहेर उनले आफ्नो उपचार जारी राखे । वीर र पाटन अस्पताल गए । तर, त्यहाँको औषधिले छोएन । अन्य निजी डाक्टरकोमा पनि गए । तर, कुन रोग हो भनेर छुट्टिन सकेन । त्यही क्रममा उनी एकपटक मानसिक रोग विशेषज्ञ विश्वबन्धु थापाकोमा पुगे । थापाले परीक्षणपछि दिएको औषधि भने म्याच गर्‍यो । अनि उनलाई लागेको रोग ‘मुड लो’ हुने ‘युनिपोलर’ हो भन्ने पत्ता लाग्यो ।

उनको काम र उपचार सँगसँगै चलिरहेको थियो । त्यही क्रममा उनले एक विदेशीको घरमा काम गर्न थाले । उनले १५ सयजति बचतसमेत गर्न भ्याए । एक वर्षपछि बचत गरेको पैसा घर पुगेर आमाबुबाको हातमा राखिदिए । यो घटनामा पछि उनलाई समाजमा हेर्ने दृष्टिकोण नै बदलियो । 

कोसिस जन्माउने कोसिस 
०६२ तिर उनको बुबाको मृत्यु भयो । त्यसपछि उनले जागिर छाडे । आमालाई काठमाडांै ल्याए । आफ्नो रोगमा समेत सुधार भएपछि १९ वर्षपछि उनी स्नातक तहमा भर्ना भए । रोग निको हुँदै गएपछि उनलाई हिम्मत जुट्यो । २०६५ मा उनले स्नातक सके । त्यतिवेलासम्म उनले मानसिक रोग र स्वास्थ्यबारे धेरै बुझिसकेका थिए । जागिर खाएर घरजम गर्नभन्दा आफूजस्तै बिरामीलाई सहयोग गर्ने सोच बनाए । अहिले पनि मानसिक रोग र रोगीबारे समाजमा धेरै नकारात्मक धारणा छ । यस्ता बिरामीको उपचारमा राज्य पनि पूरै उदासीन छ । त्यतिवेला उपचार गराउने अस्पताल पनि सुलभ थिएन । सडकमा भौँतारिने रोगीहरूको संख्या निकै नै थियो । उनीहरूले माया र स्नेह पाउन सकेका थिएनन् । उल्टै यातना पाइरहेका थिए ।

उनले आफूनिकट साथीहरू जम्मा गरेर ‘कोसिस’ नामको समाजिक संस्था दर्ता गराए । र, सडकमा भौँतारिरहेका कडाखाले मनोरोगीहरूलाई उद्धार गरेर उपचार गराउन सुरु गरे । अहिलेसम्म उनले कोसिसमार्फत सयौंँ मनोरोगीको उद्धार गरी पुनस्र्थापना गराइसकेका छन् । र, यो अभियान जारी छ । ललितपुरको खुमलटारमा कोसिसको हेरचाह केन्द्र छ ।