
नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आमजनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।
४३औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘आमजनतालाई खोप उपलब्ध गराउने, उपचारको व्यवस्थादेखि लिएर बाढी, पहिरो र डुबानका कारण भोकले पीडित भएका जनताको निम्ति आवश्यक प्रबन्ध गर्ने कुरामा संवेदनशील भएर अगाडि बढनुहोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो राजनीतिको केन्द्रबिन्दु नै जनता हुन् ।’
नेता नेपालले भ्रष्टाचारमुक्त नेपाल बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्न तथा हावादारी योजना नल्याउन आफूले प्रधानमन्त्री देउवालाई सुझाब दिएको पनि स्मरण गराए । वरिष्ठ नेता नेपालले भ्रष्टाचारले मुलुक आक्रान्त बनाएकाले त्यसको अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पारे ।