मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार o८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देउवा–मोदी टेलिफोन संवाद :  खोप छिट्टै उपलब्ध गराउने आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार o८:१४:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोनाविरुद्धको खोप छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको टेलिफोन वार्तामा खोपबारे चासो राखिएपछि मोदीले यस्तो आश्वासन दिएका हुन् । 

नेपालले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको २० लाख डोज कोभिसिल्ड खोप खरिदका लागि रकम भुक्तानी गरिसकेको छ । त्यसमध्ये १० लाख डोज खोप अझै आएको छैन । नेपालले कूटनीतिक च्यानलमार्फत खोप आपूर्तिका लागि भारतसँग आग्रह गर्दै आएको छ । 

‘भारतका प्रधानमन्त्रीले नेपाललाई कोभिडविरुद्धको खोप छिट्टै आपूर्ति गरिदिने आश्वस्त पार्नुभएको छ,’ सोमबार बिहान प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन संवादपछि परराष्ट्र मन्त्रालयले ट्विटरमा उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेका थिए । आइतबार राति पनि उनले फोन गरेर देउवालाई बधाई दिएका थिए । 

टेलिफोन संवादमा प्रधानमन्त्री देउवाले दुई देश र जनताबीच सम्बन्ध थप सुदृढ गर्ने गरी मोदीसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । भारतीय समकक्षी मोदीले पनि देउवालाई बधाई दिँदै सम्बन्ध थप सुमधुर हुने गरी सहकार्य गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बधाई दिएका छन् । त्यस्तै, नेपालका लागि जापानी राजदूत किकुता युताका, स्विस राजदूत एलिसाबेथ भोन केपेलरलगायतले पनि प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् ।