१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सांसदलाई सभामुखको बधाई, सर्वोच्चलाई आभार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o१:oo

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सांसदहरूलाई बधाई दिएका छन्।  सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनर्स्थापित भएकोमा बधाई व्यक्त गरे। 

‘यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नोतर्फबाट योगदान पुर्‍याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत्, नागरिक समाज एवं आमजनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रतिनिधिसभा बैठकमा उनले भने। 

सापकोटाले संविधानसभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरे। 

 

सभामुखको मन्तव्यको पूर्णापाठ 
माननीय सदस्यहरू ! 

सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनर्स्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यहरूलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु । यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नोतर्फबाट योगदान पुर्‍याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत्, नागरिक समाज एवं आमजनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 

यस अवसरमा संविधानसभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वाेच्च अदालतप्रति आभार प्रकट गर्न  चाहन्छु ।

सार्वभौम जनता नै राज्य शक्तिको एक मात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छाअनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सम्मानित अदालतको फैसलाले पुनः स्थापित गरेको छ ।

प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि हामीले वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषताहरू समावेश गरेका थियौँ । विगतको तुलनामा संसदलाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनीतिक समस्याहरूको निकास दिने आधिकारिक थलोको रूपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको छ ।

शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ । प्रतिनिधिसभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ ।

हामीले अवलम्बन गरेको निर्वाचन प्रणाली र हाम्रो व्यावहारिक यथार्थका दृष्टिले पनि सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा छ । यसबाट मात्र संवैधानिक प्रणालीले गतिशीलता प्राप्त गर्न सक्छ ।

प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै हामीलाई सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहं दायित्व पनि थपिएको छ । यो विशद कार्यभारका लागि सिंगो संसद्, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू एवं सम्पूर्ण माननीय सदस्यहरूको रचनात्मक भूमिका हुनेछ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।
धन्यवाद ।  
२०७८ साउन ३ 

ad
ad