भजनी नगरपालिका– ८, काँडाढिकका ध्वजबहादुर विक वर्षायाम सुरु भएयता राति ढुक्कले सुत्न सकेका छैनन् । बादल लागेको र पानी परेको दिन उनी राति बारम्बार उठेर नदीमा बाढीको सतह हेर्न जान्छन् । घरबाट तीन सय मिटर पूर्वमा रहेको पथरैया नदीको बाढी घरमा पस्दा गत वर्ष ध्वजबहादुरको परिवारलाई ज्यान जोगाएर सुरक्षित स्थानमा जान मुस्किल पर्यो । प्रहरीले डुंगाबाट उद्धार गरेर उनको परिवारलाई हुलाकी सडकमा राखेको थियो ।
बाढीले घरभित्रको अन्नपात, लुगाफाटो बगायो, केही भिजेर क्षति भयो, एक महिनासम्म घर फर्कन पाएनन् । त्यस्तै प्रकोप दोहोरिएला भन्ने डरले असार लागेएता राति ढुक्कले निदाउन नपाएको ध्वजबहादुरले बताए । ‘गत वर्ष घरभित्रै घाँटीसम्म पुग्ने बाढी पस्यो । डुंगाले उद्धार गरेपछि ज्यान जोगिएको थियो,’ उनले भने, ‘यसपालि पनि कतिवेला पो बाढी आउँछ भन्ने डरले राति निद्रा लाग्दैन ।’
बाढी आउनुअघि नै सुरक्षित स्थानमा जान सकियोस् भनेर पानी पर्दा र बादल लागेको दिन राति उठेर बारम्बार नदीको सतह हेर्न जाने गरेको ध्वजबहादुरले बताए । घरमा बाढी पसेपछि हुलाकी सडक र जंगलमा बिताएका २९ दिनमध्ये कैयौँ छाक भोकभोकै बस्नुपरेको दुःख उनले बिर्सेका छैनन् । भजनी– ८, कै करकबहादुर शाहीलाई हिजोआज आकाशमा बादल लाग्दा पनि डर लाग्छ । पानी परेको दिन उनी निदाउँदैनन् । गत वर्ष साउनको बाढीले उनलाई जीवनभर नभुल्ने पीडा दिएको छ । अविरल वर्षापछि १४ साउनमा बाढी आउँदा उनको घरसहित गाउँ पुरै डुबानमा पर्यो ।
घरबाट निस्केर सुरक्षित ठाउँ जान पनि मुस्किल भयो । घर डुबानमा परेको खबर पाएर टीकापुरमा रहेका उनका ३५ वर्षीय छोरा ईश्वर आफन्तलाई सुरक्षित स्थानमा सार्न भनेर भजनी जाँदै थिए । भजनीको काँडाढिकनजिकै हुलाकी सडकबाटै बाढीले बगाउँदा उनीसहित तीनजनाले ज्यान गुमाए ।बाढीबाट विस्थापित हुनुपर्दा मृतकका परिवारले राम्ररी दाहसंस्कार र काजकिरिया गर्नसमेत नपाएको स्थानीय बताउँछन् । ‘१४ गते घटना भयो । बाढीले त्यही दिन हामी विस्थापित भयौँ । बाढी नसुक्दै पानी पर्ने गरेकाले भदौ १ गते मात्र घर फर्कन पाएका थियौँँ,’ करकबहादुरले भने, ‘यसपालि पनि त्यस्तै बाढी दोहोरिएला भन्ने डर लागेको छ ।’
हरेक बर्खायाममा पानी पर्दा बाढी र डुबानको समस्या हुने भएकाले स्थानीय त्रसित छन् । चुरेमा पानी पर्दा नदीमा आउने बाढीले समेत डुबान गर्ने भएकाले बादल लाग्दा पनि स्थानीय त्रसित हुन्छन् । अत्यधिक वर्षा हुँदा पथरैया र काँडा नदी तथा गौरीनालालगायत नदीखोलाहरूमा आउने बाढी पस्दा वडा नम्बर ८ का अधिकांश बस्ती डुबानमा पर्छन् । यो वडामा मात्रै गत वर्ष साउनमा एक हजार परिवार विस्थापित भएका थिए । सतहभन्दा अग्लो रहेकाले डुबान हुँदा अधिकांश विस्थापित हुलाकी सडकमा बस्ने गर्छन् । न्यून वर्षा भएकाले यसपालि हालसम्म बाढी र डुबानको समस्या आइसकेको छैन ।
हरेक वर्ष समस्या, तर न पूर्वाधार निर्माण न पूर्वतयारी
बाढी र डुबानको समस्या हरेक बर्खायाममा स्थानीयले भोग्नुपर्छ । तर, समस्या न्यूनीकरणका लागि कुनै पनि तहका सरकारले चासो नदिएको उनीहरूको गुनासो छ । बाढी नियन्त्रणका लागि नदीमा अग्ला ड्यामसहित तटबन्ध, बाढी आएका वेला बस्न सुरक्षित सामुदायिक भवनलगायत पूर्वाधार निर्माण गर्ने कार्य हुन सकेको छैन । न प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने पहल भएको छ ।
‘जुन ठाउँबाट नदीको भंगालो गाउँ पस्छ, ती ठाउँमा समेत तटबन्ध बनेका छैनन्,’ वडा नम्बर ८ का वडा सदस्य कृष्णलाल धमलाले भने, ‘उच्च ड्यामसहितको तटबन्ध बन्न सके डुबानको समस्या धेरै हदसम्म कम हुन्थ्यो ।’ रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले केही ठाउँमा तटबन्ध निर्माणका लागि सम्झौता गरे पनि काम नभएको उनले बताए । बाढी आएका वेला सुरक्षित स्थानमा जान बस्तीमा डुंगा, लाइफ ज्याकेटलगायत सामानको समेत अभाव रहेको धमलाले बताए ।
तटबन्धलगायत पूर्वाधार निर्माण गरेर बाढी र डुबानको समस्या न्यूनीकरण गर्नुपर्ने, नभए आफूहरूलाई डुबान नहुने ठाउँमा सार्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् । ‘हरेक वर्ष बर्खामा त्रासमा बाँच्नुपर्छ । घरजग्गा छोडेर अन्त्रय जाने ठाउँ पनि छैन,’ भजनी– ८, का लक्ष्मण जोशीले भने, ‘सरकारले बाढी र डुबानको स्थायी समाधान खोज्न नसक्ने हो भने हाम्रो वासस्थान सारिदेओस् ।’ तत्कालका लागि एउटा बस्तीमा कम्तीमा दुईवटा डुंगा र प्रत्येक घरमा एउटा लाइफ ज्याकेटको व्यवस्था गर्न सरकारसँग उनले आग्रह गरे । बाढी आएर विस्थापित भएका वेलाबाहेक कसैले पनि फर्केर नहेरेको स्थानीयको गुनासो छ ।