१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७८ असार ३१ बिहीबार o८:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोभ्याक्स सुविधामार्फत फाइजरको  ४० लाख डोज खोप खरिद गर्न प्रस्ताव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार o८:२१:oo

१२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि खोप दिने सरकारको तयारी

सरकारले १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी थालेको छ । बालबालिकाका लागि प्रयोग अनुमति पाएको अमेरिकन फाइजर खोप नेपालमा ल्याउन कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार फाइजरको ४० लाख डोज खोप खरिद गर्न कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको हो । 

अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोभिडविरुद्धको खोप अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न अनुमति पाएको छ । खोपको नतिजा पनि सन्तोषजनक छ । फाइजरले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका दुई हजार दुई सय ६० बालबालिकामा क्लिनिकल परीक्षण गरेको थियो । परीक्षणमा फाइजर खोप बालबालिकामा प्रभावकारी देखिएपछि नेपालले पनि सोही खोप ४० लाख डोज खरिद गर्न प्रस्ताव गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले करिब ३५ लाख बालबालिकाका लागि फाइजरको खोप खरिद गर्न लागेको जानकारी दिए । साथै, सरकारले मोडेर्ना ४० लाख डोज खोप पनि कोभ्याक्स सुविधामार्फत खरिद गर्न प्रस्ताव गरेको छ ।

 लक्ष्मण अर्याल, सचिव, स्वास्थ्य मन्त्रालय

फाइजरको खोप खरिदका लागि हामीले प्रस्ताव गरेका छौं । सरकार सरकारबीच कुरा हुनुपर्छ । जुन देशको खोप उत्पादन कम्पनी हो, त्यो देशको सरकारले आफ्नो कम्पनीलाई भनेमा खोप आउँछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकालाई जोगाउने फाइजर खोपको अवस्थाबारे स्वास्थ्य मन्त्रालयका अधिकारीसँग जानकारी लिएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बुधबार प्रधानमन्त्री देउवालाई कोरोना भाइरस र खोपको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । ‘हामी प्रधानमन्त्रीज्यूसमक्ष कोभिड महामारी र खोपको अवस्थाबारे जानकारी गराउन गएका थियौँ,’ डा.पौडेलले भने, ‘सिसिएमसी र स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणको अवस्थाबारे छलफल भयो । प्रधानमन्त्रीले चासो दिई सुन्नुभयो र फाइजरको खोप ल्याउनेबारे जिज्ञासा राख्नुभयो ।’

प्रधानमन्त्री देउवाले बालबालिकाका लागि सबैभन्दा राम्रो फाइजरको खोप छ भन्छन् के हो ? भनेर स्वास्थ्यका अधिकारीसँग प्रश्न गरेका थिए । प्रधानमन्त्रीको प्रश्नमा स्वास्थ्यका अधिकारीहरूले अहिलेसम्मको नतिजा राम्रो भएको र बालबालिकालाई समेत लगाउन मिल्ने भएकाले फाइजर खोप खरिद गर्न लागेको जवाफ दिएका थिए ।

स्वास्थ्य विज्ञहरूका अनुसार फाइजरको खोप माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पाँच दिनसम्म माइनस २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिन्छ । खोप आएको पाँच दिनभित्र प्रयोगमा ल्याइसक्ने पनि स्वास्थ्य अधिकारीहरूले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । यसो गर्दा फाइजर प्रयोगमा समस्या हुँदैन । प्रधानमन्त्री देउवाले नागरिकको ज्यानभन्दा ठूलो खोपको मूल्य नभएको बताएका थिए । ‘आफ्ना नागरिकको ज्यानका अगाडि खोपको मूल्य गौण हो । त्यसैले खोप खरिद गर्दा मूल्यमा अड्केर नबस्नुहोस्,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै एक अधिकारीले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्रीले माइनस तापक्रममा राख्नुपर्ने खोप दिएमा कति भण्डारण गर्न सकिन्छ भनेरसमेत जिज्ञासा राखेका थिए । जवाफमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बढीमा ३० लाख डोजसम्म भण्डारण गर्न सक्ने बताएका थिए । स्वास्थ्य मन्त्रालयले माइनस ७० डिग्री सेन्टिग्रेटको खोप भण्डारणका लागि तीन महिनाभित्र सिंगापुरबाट दुईवटा सुविधासम्पन्न रेफ्रिजेनेटर भ्यान खरिद गर्दै छ । सो भ्यान आएपछि लामो समयसम्म भण्डारण गर्न सकिनेछ । 

प्रधानमन्त्री देउवाले स्वास्थ्य अधिकारीहरूसँग सरकारले अमेरिकासँग फाइजरको खोप दिन अपिल गर्ने कि नगर्ने भनेरसमेत सोधेको सहभागी एक चिकित्सकले बताए । सचिव लक्ष्मण अर्यालले सरकार–सरकारबीच कुरा हुनुपर्ने बताए । ‘फाइजरको खोप खरिदका लागि हामीले प्रस्ताव गरेका छौँ,’ सचिव अर्यालले भने, ‘सरकार सरकारबीच कुरा हुनुपर्छ । जुन देशको खोप उत्पादन कम्पनी हो, त्यो देशको सरकारले आफ्नो कम्पनीलाई भनेपछि खोप आउँछ ।’ कोभ्याक्स सुविधाबाट ल्याउँदा जुनै पनि खोप प्रति १० डलरभन्दा कममा आउने अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 


 

ad
ad
ad
ad