१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३० बुधबार
  • Monday, 01 July, 2024
२o७८ असार ३० बुधबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रसुवामा बायोफ्लक प्रविधिबाट माछापालन परीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३० बुधबार o८:४९:oo

रसुवामा पहिलोपटक बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु भएको छ । जिल्लाको उत्तरगया गाउँपालिका–४, मणिगाउँमा बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु भएको हो ।  

मणिगाउँका स्थानीय अमृत लामा र अमित लामा दुई दाजुभाइले यो प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु गरेका छन् । करिब ३ लाखको लगानीमा बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु गरिएको अमृत लामाले बताए । 

दुईवटा पोखरी निर्माण गरी त्यसमा तीन हजार माछाका भुरा राखिएको उनको भनाइ छ । मत्स्य अनुसन्धान केन्द्र नुवाकोटबाट खरिद गरी ल्याइएको टिलापिया, कमनकार्प जातका माछाका भुराहरू पोखरीमा राखिएको उनले बताए । उनले भने, ‘पोखरी निर्माण गरी बायोफ्लक प्रविधिबाट माछापालनको परीक्षण सुरु गरेका छौँ, तीन महिना भयो, अहिलेसम्म माछाको आकार वृद्धि राम्रै भएको छ ।’ यो परीक्षण मात्र भएको र सफल भएमा थप विस्तार गर्ने उनको भनाइ छ ।  

करिब १० वर्षअघिदेखि थोरै मात्रामा सामान्य पोखरी निर्माण गरी माछापालन सुरु गरिएको भए पनि अहिले व्यावसायिक रूपमा आधुनिक शैलीमा सुरु गरेको अमित लामाले बताए । थोरै समयमा धेरै तथा बढी तौलको माछा उत्पादन गर्न सकिने भएकाले यो प्रविधिको परीक्षण सुरु गरिएको उनको भनाइ छ । यो प्रविधिमा ब्याक्टेरियाको झुन्ड उत्पादन गरी स–साना ट्यांकमै धेरै माछा उत्पादन गर्न सकिने उनले बताए ।   

यो प्रविधिबाट माछापालन सुरु गर्दा पोखरीमा माछाका भुरा हाल्नुअघि पानीमा ब्याक्टेरिया उत्पादन गर्नुपर्ने हुन्छ । पोखरीमा चौबिसे घन्टा अक्सिजन प्रवाह गर्नुपर्ने हुन्छ भने पानीको आवश्यक मापदण्डसमेत तयार गर्नुपर्ने उनले बताएका छन् । 

बायोफ्लक प्रविधिबाट सुरु गरिएको टिलापिया, कमनकार्प जातका माछा शाहाकारी माछा हुन् । यी माछा करिब ५ महिनामा बिक्री गर्न सकिने बताइएको छ । पहिलो लटको माछा उत्पादन भएपछि मात्र नतिजा आउने उनले बताए ।  

नेपालसहित भारतमा बायोफ्लक प्रविधिबाटै किसानहरूले सफल रूपले माछापालन गरिरहेका छन् । थोरै स्थानमा कम लगानीमै स्वरोजगार हुन सकिने भएकाले यो प्रविधि प्रयोग हुन थालेको पाइएको छ ।बायोफ्लक प्रविधिबाट माछापालन सुरु गर्नुका साथै दुई दाजुभाइले कृषिउपजहरू पनि उत्पादन सुरु गरेका छन् ।

करिब ३ लाख रुपैयाँको लगानीमा ६ रोपनी जग्गामा गोलभेँडा, खुर्सानी, साग, काउली, बन्दालगायतका कृषि वस्तुहरूको उत्पादन सुरु गरेको बताएका छन् । माछा उत्पादन सुरु भएसँगै हन्टिङ एन्ड ग्यादरिङको अवधारणाअनुसार होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको लामा दाजुभाइको भनाइ छ । 

ad
ad
ad
ad