१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १८ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार १८ शुक्रबार o९:१९:oo
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार १८ शुक्रबार o९:१९:oo

हिजो १ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो जन्मशताब्दी भव्य समारोहबीच मनायो । केही महिनादेखि नै चिनियाँ सरकारी प्रचार संयन्त्र र कम्युनिस्ट पार्टीको सम्पूर्ण संयन्त्रले यस अवसरलाई चिनियाँ नयाँ पुस्तामा कम्युनिस्ट पार्टीप्रतिको आस्था विस्तार गराउन र विश्व बिरादरीमा चिनियाँ समाजवादको श्रेष्ठता स्थापित गर्न उपयोग गरिरहेका थिए । सन् १८४० को दशकदेखि १९४९ सम्म साम्राज्यवादको थिचोमिचो सहेको र पछाडि पारिएको चीनले कम्युनिस्ट पार्टीको नेतृत्वमा पछिल्लो ७२ वर्षमा अजंगका परिवर्तनमा चिनियाँ समाजको अगुवाइ गरेको छ । कम्युनिस्ट शासनको पहिलो २५ वर्षजति सुधार, उन्नति, उथलपुथल र अनिकालसमेत व्यहोरेको चीन अहिले विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बनेको छ । विश्वशक्तिका रूपमा आर्थिक, सैन्य र प्रविधिमा गरेको विकासका दृष्टिले पनि चीन दोस्रो शक्ति बनेको छ । हालै मात्र चीनले आधारभूत तहको गरिबी समाप्त पारेको घोषणा गरेको छ । ४० वर्षको लगातारको आर्थिक उन्नतिमार्फत ७० करोड जनसंख्यालाई निरपेक्ष गरिबीबाट मुक्त गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको देश र जनताप्रतिको निष्ठाबाट सिक्ने हो भने यहाँ सत्तारुढ हुने कम्युनिस्ट पार्टीबाट पनि देशको आर्थिक, सामाजिक रूपान्तरणमा अवश्यै योगदान पुग्ने थियो 

आफ्नो आर्थिक तथा सामरिक शक्ति विस्तार हुँदै जाँदाका प्रभाव विश्वमा महसुस गरियोस् भनेर उसले विभिन्न संस्था स्थापना र विकास गरेको छ । एसियाली पूर्वाधार विकास बैंक, ब्रिक्स बैंक, साङ्हाई कोअपरेसन काउन्सिल, पूर्वी युरोपेली देश–चीन सहकार्य, अफ्रिका–चीन सहकार्य र बिआरआई जस्ता संस्था र कार्यहरू पश्चिमकेन्द्रित विचार र शक्तिलाई चुनौती दिने विकल्प बन्दै गएका छन् । चिनियाँ जनता पहिलेभन्दा धनी भएका छन् र तिनको आत्मगौरव बढ्दै जाँदा चिनियाँ राष्ट्रवाद बलशाली हुँदै आएको छ । अहिलेका चिनियाँ कम्युनिस्टले सम्पन्नतासहितको राष्ट्रवाद, मार्क्सवाद, बजार समाजवाद र कन्फ्युसियसको व्यवहारवादी अध्यात्मवाद घालमेल गरेर आफ्नो वैधानिकता स्थापित गरिरहेको विश्लेषण पश्चिमाहरूको छ । विश्वको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा साम्यवादमा विश्वास गर्ने चिनियाँ कम्युनिस्ट पार्टीमा पाँचाैँ पुस्ताले नेतृत्व गरिरहेको छ, जो १९४९ को जनवादी क्रान्तिपछि जन्मेको हो । सांस्कृतिक क्रान्तिको उथलपुथल झेलेको र देङ स्याओपिङको सुधारवादका समयमा आफ्नो करियर उठाएको यस पुस्ताले बजार समाजवादले दिएको सम्पन्नताको समयमा हुर्केको पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीको यस्तो सफलताले विश्वलाई उदारवाद र साम्यवादबीचको विचारधारात्मक ध्रुवीकरणतिर लाने सम्भावना छ । खासगरी अमेरिकी नेतृत्वमा अहिले चीनका विपक्षमा भइरहेका गठबन्धनका प्रयासले यही देखाउँछ ।

यता नेपालमा कम्युनिस्ट विचारको विस्तार र शक्ति आर्जनमा चिनियाँ कम्युनिस्ट पार्टीको विचारधाराको प्रभाव जबर्जस्त थियो । लामो समय त नेपालका कम्युनिस्टहरू मस्कोपन्थी र पेकिङपन्थी भनेर चिनिन्थे । पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाका हाँगाबिँगाबीच विचारधारात्मक आदानप्रदान र सहयोग बढ्दै गएको छ । सी जिन पिङ र उनको दलको प्रभाव या उपस्थिति नेकपामा मात्र होइन, नेपाली राजनीतिमा पनि अनुभव गर्न थालिएको छ । नेपालका कम्युनिस्टले राणाशाहीविरुद्ध गरेका आन्दोलन, पञ्चायतविरुद्धका संघर्ष र जनयुद्धसहित अन्य आन्दोलनमा गरेको त्यागले अवश्य पनि नेपाललाई अहिलेको लोकतान्त्रिक र समावेशी प्रतिनिधित्वसहितको राज्य व्यवस्था स्थापनामा मुख्य भूमिका खेलेको छ । तर, जनताको सेवा गर्ने र देशको आर्थिक सामाजिक रूपान्तरण गर्ने मामिलामा सरकारमा गइसकेपछि उनीहरूले खेल्नुपर्ने भूमिकामा भने कम्युनिस्टको भूमिका आशालाग्दो छैन । सीमित सुधारका कामबाहेक उनीहरू आफ्नै वर्गोत्थान र अभिजात वर्गमा रूपान्तरण हुने दिशामा सक्रिय रहेका देखिन्छन् । नेपालमा चीनको जस्तो एकदलीय शासन व्यवस्था सम्भव पनि छैन र नेकपाको विचारले पनि त्यसलाई स्वीकार गर्दैन । तर, चिनियाँ कम्युनिस्ट पार्टीको देश र जनताप्रतिको निष्ठाबाट सिक्ने हो भनेचाहिँ सत्तारुढ हुने कम्युनिस्ट पार्टीबाट देशको आर्थिक सामाजिक रूपान्तरणमा अवश्य योगदान पुग्दो हो ।