मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार १६ बुधबार १६:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी स्वास्थ्य प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी 

Read Time : > 1 मिनेट
२०७८ असार १६ बुधबार १६:३७:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा संयुक्त संघर्ष समितिले बुधबार तालाबन्दी गरेका छन् । चारैजना पदाधिकारीको राजीनामाको माग गर्दै संघर्ष समितिले तालाबन्दी गरेको हो । १६ दिनदेखि आन्दोलनरत चिकित्सक–कर्मचारी सम्मिलित संघर्ष समितिले चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । 

यसअघि मंगलबार वार्ता हुने बताइए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरेर आएका कारण सम्भव नभएको संघर्ष समितिले आरोप लगाएको छ । संघर्ष समितिले मापसे परीक्षण गर्न आग्रह गरे पनि गिरीले मानेका थिएनन् । 

पदाधिकारीहरूले प्रतिष्ठानको गाडी दुरुपयोग गरेको भन्दै गाडीको चाबीसमेत संघर्ष समितिका सदस्यहरूले खोसेका थिए । उपकुलपति गिरी गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै चिकित्सक, नर्स र कर्मचारीले उपकुलपति गिरीसहित पदाधिकारीलाई मंगलबार अपराह्न साढे ३ देखि बेलुका साढे ९ सम्म उपकुलपतिको कार्यकक्षमा थुनेका थिए । पदाधिकारीलाई प्रहरीले स्कर्टिङ गरेर घर पु¥याएको थियो । 

पदाधिकारीले आफ्ना माग नसुनेको भन्दै अब प्रधानमन्त्रीले बनाएको उच्चस्तरीय वार्ता समितिसँग मात्र वार्ता हुने संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । संघर्ष समितिले माग पूरा गर्न २३ असारसम्मको समय दिएको छ । 

एक साताभित्र माग सम्बोधन नगरिए सम्पूर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक, विद्यार्थीले सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेराउ गर्न जाने रिमालले बताए । प्रतिष्ठानको बेथितिका विषयमा समितिले स्थानीय तह, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवस्था मंगलबार ठीक नभएको बताए । मदिरा पिएर वार्तामा बसेको र वार्ता भाँडिएको खबर आएपछि प्रतिष्ठानका सिनेटरसमेत रहेका मेयर राई प्रतिष्ठान पुगेर दुई घन्टाभन्दा बढी उपकुलपतिसहित उपस्थित पदाधिकारीहरूसँग छलफल गरेका थिए । 

उनले आन्दोलनरत पक्षसँगको कुरा सुनेपछि भित्र पुगेर मापसे परीक्षण गर्न वा आन्दोलनकारीलाई सम्बोधन गरेर सम्झाउन आग्रह गरेको बताए । त्यत्तिकै आरोप लगाएको हो भने पनि सबै पदाधिकारीहरूको पनि मेडिकल जाँच गर्न आग्रह गरेको, तर नमानेको राईले बताए । 

‘हामीले पटक–पटक भन्यौँ, यो नैतिकताको कुरा हो । डाक्टर, विद्यार्थी, कर्मचारीले नैतिकताको कुरा उठाए, वार्तामा पदाधिकारीले मदिरा सेवन गरे भन्ने नैतिकताको कुरा भएकाले जसरी पनि मेडिकल टेस्ट गर्नुपर्छ भनेर भन्दा पनि उहाँ मान्नुभएन । अराजकता बढ्छ भनेर पञ्छनुभयो,’ मेयर राईले भने । प्रतिष्ठानका रेक्टर प्राडा गुरु खनाल र रजिस्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले स्वीकार गरेको, तर उपकुलपतिले भने नमानेको राईले बताए ।