मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १६ बुधबार
  • Thursday, 19 December, 2024
सन्तोष गौतम
२o७८ असार १६ बुधबार o८:२३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रदूषित राजनीति र सदाचार शिक्षा

Read Time : > 2 मिनेट
सन्तोष गौतम
नयाँ पत्रिका
२o७८ असार १६ बुधबार o८:२३:oo

सदाचार र नैतिकताका उपयुक्त र सामयिक पाठ्यक्रमहरू तयार गरी शिक्षाका हरेक तहमा प्रभावकारी रूपमा लागू गर्नु आवश्यक छ, होइन भने भ्रष्ट संस्कृतिको दीर्घ संक्रमणले ग्रसित भई देश अधोगतिमा गइरहनेछ ।
विधिका पर्खाल नाघेर, नीति, नियम र निष्ठाका सबै सीमा भत्काएरै भए पनि शक्ति र सफलता आर्जनको अन्ध प्रतिस्पर्धामा नेपाली समाज पनि हेलिँदै गएको आभास मिल्छ । व्यक्ति र संस्थाहरूलाई आफ्नो स्वार्थअनुसार उपयोग गर्ने र व्यवस्थाका कमजोरी र अन्तरविरोधमा खेलेर आफ्नो दुनो सोझ्याउने प्रवृत्तिले समाजमा गलत संस्कारको बीजारोपण र पृष्ठपोषण भइरहेको छ । नेताका कहिल्यै तृप्त नहुने पदलोलुपता र द्रव्यलालसाको मूल्य जनता र सम्पूर्ण राष्ट्रले नै चुकाउनुपरेको यथार्थ हाम्रो सामु छ । निर्लज्ज रूपमा स्रोत र शक्तिको प्राप्ति र दुरुपयोगमा लिप्त रहनेहरूबाट राष्ट्रले युगसापेक्ष गति र उपलब्धि हासिल गर्न सक्दैन । 

विचार र निष्ठाको राजनीति गर्ने, सदाचार र राष्ट्रहितलाई आफ्नो आदर्श बनाएर जनताको मन मस्तिष्कमा अमिट छाप छोडेका जनप्रिय र राष्ट्रप्रेमी राजनीतिज्ञहरू नभएका होइनन्, तर आमरूपमा नेता र राजनीतिप्रतिको दृष्टिकोण नकारात्मक बनिरहेको छ । कर्मचारीतन्त्रमा पनि पेसागत मर्यादा र बफादारीबाट विचलित नहुने कर्तव्यनिष्ठ, क्षमतावान् राष्ट्रसेवकहरू हुँदाहुँदै यसभित्रका भ्रष्ट प्रवृत्ति र अभ्यासहरूले कलंकित बनाउँदै गएको छ । एक्काइसौँ शताब्दीको विज्ञान, प्रविधि र उच्च चेतनाको यो युगमा पनि देश र जनतालाई बन्धकी राखेर भ्रष्टहरूले देशको निरन्तर दोहन गरिरहेको पीडादायी वास्तविकताको साक्षी हामी बनिरहनुपरेको छ । समाजका हरेक क्षेत्र अनैतिकताको रोगबाट संक्रमित देखिँदै छ । यस्तो विषाक्त संस्कृति मौलाउँदै जाँदा देश अनियमितता, पछौटेपन र विकराल निराशाको चंगुलमा फस्दै गएको छ । भावी पुस्ता यसको नराम्रो सिकार हुन सक्नेछ ।

सदाचार मान्छेको गहना हो । यसले मान्छेको आन्तरिक सुन्दरता बढाउँछ, मनमस्तिष्कलाई शुद्ध राख्छ । सदाचारविनाको शिक्षाले विद्यमान् सामाजिक आर्थिक संरचनाभित्र पदप्राप्ति र अर्थोपार्जन गर्न सक्ने यन्त्रमानवहरूको उत्पादन गर्न त सक्ला, तर मानवलाई वास्तविक अर्थमा मानव बनाउन सक्दैन । शिक्षालाई सीधै धन आर्जनसँग मात्र जोडेर हेर्ने प्रवृत्तिले भ्रष्ट संस्कृतिलाई जन्माउने र मलजल गर्ने काम गरेको छ । 

आफ्ना बालबालिकाको शिक्षाका लागि जति नै महँगो मूल्य चुकाउन पनि अभिभावकहरू तयार देखिन्छन् । वर्तमान भौतिकवादी युगमा यो स्वाभाविक पनि हो । तर, शिक्षामा नैतिकता र सदाचारको विकराल अभावले भविष्यमा मानवीय मूल्य–मान्यताको गम्भीर स्खलन देखिन सक्नेतर्फ भने कसैको ध्यान पर्याप्त जान सकिरहेको छैन । शिक्षाबाट सेवाभाव हट्दै गएर यो पूर्ण रूपमा आयआर्जनको साधन बन्दै गइरहेको प्रतीत हुँदै छ । शिक्षाले मानिसलाई सद्भाव, भाइचारा र मानवताको डोरीले उन्नेभन्दा पनि विभिन्न नाममा विभाजनका रेखाहरू कोरेर अस्वस्थ भौतिक प्रतिस्पर्धातर्फ उन्मुख गरेको छ । औपचारिक होस् वा अनौपचारिक, मान्छेको ज्ञान, सीप, विवेक र दृष्टि निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने गर्छ । 

एक्काइसौँ शताब्दीको शिक्षाको अभीष्ट हरतरहले योग्य नागरिक उत्पादन हुनुपर्छ । तर, हाम्रो शिक्षाले यस युगीन आवश्यकताको बोध गर्न सकेको देखिँदैन । हरेक क्षेत्रमा इमानदारिता, नैतिकता, कर्तव्यनिष्ठता र सदाचारजस्ता विषयलाई बिर्सेर पढाइ र पेसालाई अर्थाेपार्जनसँग मात्र जोडेर हेर्ने प्रवृत्ति बढ्दो छ । भन्सारको निम्न तहको कर्मचारीको रवाफ माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकको भन्दा बढी हुनु अनैतिक अर्थाेपार्जनकै उपज हो । तर, सदाचारको संकटले कर्मचारीतन्त्र मात्र आक्रान्त भएको भने होइन । यसबाट राष्ट्र नै संक्रमित भएको आभास हुँदै छ । हरेक क्षेत्रको जनशक्ति उत्पादन गर्ने र जीवनलाई अझ उन्नत, सबल र सार्थक बनाउने शिक्षा क्षेत्र पनि सदाचार र नैतिकताको संकटमा हुनुचाहिँ गम्भीर अवस्था हो । हामीलाई अहिले जति प्रविधि तथा सीपयुक्त शिक्षाको खाँचो छ, उत्तिकै नैतिकता र सदाचार शिक्षाको पनि अपरिहार्यता छ । 

सफल र विकसित सबैजसो मुलुकहरूले सदाचार शिक्षाको कुनै न कुनै रूपमा प्रवद्र्धनको प्रयास गरेको देखिन्छ । चीनको विद्यालय एवं विश्वविद्यालय शिक्षामा लागू भएको सदाचार शिक्षाका अभ्यासहरू साँच्चै उत्कृष्ट र अनुकरणीय छन् । बंगलादेशमा विद्यार्थीहरूलाई सदाचार सिकाउन क्यासियररहित इन्टिग्रिटी स्टोरहरू सञ्चालन गरिएका छन् । लिथुआनियामा विद्यार्थीलाई व्यावहारिक रूपमै शिष्टाचारको बीजारोपण गर्न स्थानीय निकाय र गैरसरकारी संस्थाका भ्रष्टाचारविरोधी अभियानमा सहभागी गराउने व्यवस्था छ । हंगेरीमा सदाचारसम्बन्धी र भ्रष्टाचारविरोधी अवधारणाहरू एथिक्सको पाठ्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै, अस्ट्रियामा संघीय ब्युरोले १४–१८ वर्ष उमेरसमूहका विद्यार्थीलाई भ्रष्ट्राचारविरुद्ध तालिम प्रदान गर्छ । उच्चशिक्षातर्फ पनि विश्वका विभिन्न देशमा सदाचार प्रवद्र्धनका अनुकरणीय प्रयासहरू भएका देखिन्छन् । हाम्रो देशमा पनि विभिन्न समयमा नैतिक शिक्षा, सामाजिक शिक्षा, नागरिक शिक्षालगायत विभिन्न विषय र पाठ्यक्रमहरू विकास गर्ने प्रयास नभएका होइनन्, तर आमनागरिक र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको व्यवहारमा सदाचार प्रतिबिम्बित नहुँदा यो प्रयास अपूर्ण र परिणामविहीनजस्तै देखिएको छ । तसर्थ, सदाचार र नैतिकताका उपयुक्त र सामयिक पाठ्यक्रमहरू तयार गरी शिक्षाका हरेक तहमा प्रभावकारी रूपमा लागू गर्नु आवश्यक छ, होइन भने भ्रष्ट संस्कृतिको दीर्घ संक्रमणले देश ग्रसित भई अधोगतिमा गइरहनेछ ।