मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १६ बुधबार ०५:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदमा प्रहार हुँदा शक्तिसन्तुलन बिग्रियो : सभामुख सापकोटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १६ बुधबार ०५:१२:००

सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक प्रतिनिधिसभामाथि प्रहार हुँदा राज्यका प्रमुख तीन अंग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका)बीचको शक्तिसन्तुलन नराम्ररी बिग्रिएको बताएका छन् । सर्वाेच्च अदालतको ११ फागुनको फैसलाविपरीत प्रधानमन्त्री र राष्ट्रपतिले पुनः ८ जेठमा प्रतिनिधिसभा विघटन गरेको र यो शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत भएको सभामुख सापकोटाको भनाइ छ । 

मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग समसामयिक विषयमा नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल गरेको सभामुख सापकोटाले प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य नहुने पनि बताए । ‘जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक–पटक हनन हुनु चिन्ताको विषय हो । प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य हुँदैन । पटक–पटक प्रतिनिधिसभामाथि प्रहार हुँदा राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको छ । राजनीतिक र प्रशासनिक सन्तुलन पनि बिग्रिएको छ,’ सभामुख सापकोटाले भने । 

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल गर्दै सभामुख । तस्बिर : रासस

हाल देशमा बहुआयामिक संकट आइपरेको र यस्तो वेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनुपर्ने सभामुख सापकोटाको भनाइ छ । सापकोटाले देशमा कानुनको सर्वोच्चता नमान्ने अवस्थाको सिर्जना हुनु दुःखद भएको बताए । ‘अदालतले ११ फागुनमा प्रतिनिधिसभा पुनस्र्थापना गर्दा प्रस्टसँग सरकार निर्माणको अवस्था रहेसम्म विकल्पमा जानुपर्छ भनेको छ, तर अहिले त्यसो गरिएन । यसको गाम्भीर्यतालाई हामीले बुझ्नुपर्छ,’ उनले भने, ‘देशमा कानुनको सर्वोच्चता नमान्ने अवस्थाको सिर्जना हुनु दुःखद भएको छ ।’ 

बेलायतको संसद्मा नेपालको कोभिड संकटबारे छलफल भएको, तर प्रतिनिधिसभामा यो छलफल हुन नपाएकोमा सभामुख सापकोटाले असन्तुष्टि जनाए । ‘बेलायती संसद्‍मा नेपालको कोभिड संक्रमणको अवस्थाबारे छलफल हुन्छ, तर त्यही विषयमा यहाँ छलफल चलाउन सकिँदैन । पीडा महसुस हुन्छ,’ उनले भने, ‘सरकारले कहिले अधिवेशन नबोलाइदिने, कहिले प्रतिनिधिसभा नै विघटन गरिदिने गर्नाले ०७७ भरि संसद्ले प्रभावकारी ढंगले काम गर्न सकेन ।’ 

सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको पनि सुनाए । छलफलमा सहभागी सम्पादकहरूले सभामुखले पटक–पटक सक्रियता बढाउने संकेत देखाएको भन्दै आगामी कदमबारे चासो व्यक्त गरेका थिए ।