१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०७८ असार १३ आइतबार ०९:२०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वेल्समाथिको सानदार जितसँगै डेनमार्क क्वार्टरफाइनलमा 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७८ असार १३ आइतबार ०९:२०:००

डेनमार्कले वेल्समाथि ४–० को सानदार जित निकाली अन्तिम आठको स्थान पक्का गरेको हो, युरोकपको अन्तिम आठमा पुग्ने क्रममा कास्पेर डोलवर्गले उत्कृष्ट दुई गोल गरे भने मार्टिन ब्राथवेट र जोकिम मलेले एक–एक गोल गरे 

डेनमार्क युरोकप २०२० च्याम्पियसिप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नेदरल्यान्ड्सको जोहान काफु रंशगालामा डेनमार्कले वेल्समाथि ४–० को सानदार जित निकाली अन्तिम आठको स्थान पक्का गरेको हो । दोस्रोपटक युरोकपको अन्तिम आठमा पुग्ने क्रममा कास्पेर डोलवर्गले उत्कृष्ट दुई गोल गरेका थिए । यसैगरी, मार्टिन ब्राथवेट र जोकिम मलेले एक–एक गोल गरेका थिए ।

अब सेमिफाइनल प्रवेशका लागि डेनमार्कले चेक रिपब्लिक र नेदरल्यान्ड्सबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । खेलको ९० मिनेटमा वेल्स १० खेलाडीमा सीमित भएको थियो । वेल्स गत संस्करणको सेमिफाइनलिस्ट टोली हो । सुरुवाती १५ मिनेटसम्म गेराथ बेलको कप्तानीमा रहेको वेल्सले डेनमार्कमाथि दबाब राखेको थियो । यस समयमा वेल्सले दुईपटक गोल अवसर चुकाएको थियो ।

इंग्लिस क्लब टोटनह्यामका बेलको एक उत्कृष्ट गोल प्रयासलाई डेनमार्कका रक्षापंक्तिका खेलाडीले विफल पारेका थिए । डेनमार्कले बिस्तारै खेलमा पकड बनाउँदै गयो । खेलको २२औँ मिनेटमा एज्याक्सका पूर्वखेलाडी कास्पेर डोलबर्गले डेनमार्कलाई अप्रत्याशित रूपमा १–० को अग्रता दिलाए । कास्पेरले डेनमार्कलाई दिलाएको अग्रतासँगै वेल्स खेलमा फर्कन सकेन । 

खेलको अन्तिम मिनेटसम्म पनि डेनमार्कले वेल्समाथि दबाब मात्र बनाएन, स्पष्ट चार गोलअन्तरले जित निकालेर अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । जोकिमको पासमा कास्पेरले वेल्सका तीन डिफेन्डरविरुद्ध ड्रिब्लिङ गर्दै पोस्टभन्दा २२ यार्ड टाढाबाट पहिलो बारमा उत्कृष्ट गोल गरे । उनले प्रहार गरेको बललाई वेल्सका गोलरक्षक ड्यानी वार्डले डाइभ गरे पनि छेक्न सकेनन् । 

कास्पेरलाई जोकिमले पास उपलब्ध गराएका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै डेनमार्कले निकै राम्रो गोल अवसर गुमायो । डेनमार्कका मिडफिल्डर जोकिमले पोस्टनजिकबाट प्रहार गरेको बललाई वेल्सका गोलरक्षक वार्डले हातले छेक्दै सम्भावित गोल विफल पारे । मध्यान्तरपछिको तेस्रो मिनेटमै डेनमार्कले अग्रता बनाउँदा वेल्स नाजवाफ भयो । खेलको ४८औँ मिनेटमा कास्पेरले डेनमार्कलाई २–० को अग्रता दिलाउन सफल भए । दायाँ साइडबाट ब्राथवेटले निकालेको क्रसमा सिक्स यार्ड बक्समा वेल्सका डिफेन्डर विलियम्सले क्लियर गर्न कोसिस गरेका थिए । विलियम्सको कमजोर क्लियरेन्समै कास्पेरले सहजै डेनमार्कलाई २–० को अग्रता दिलाएका हुन् ।

कास्पेरले चालू युरोकपमा दुई खेलमा तीन गोल गरिसकेका छन् । यसअघि उनले समूह चरणमा रसियाविरुद्ध पनि उत्कृष्ट गोल गरेका थिए । मध्यान्तरपछि वेल्सका डिफेन्डरलाई पूरै व्यस्त बनाएको डेनमार्कले खेलको ८८औँ मिनेटमा ३–० को अग्रता बनायो । यसपटक जोकिमले डेनमार्कलाई अग्रता दिलाएका हुन् । फुलब्याक जेसनले दायाँ साइडमा जोकिमलाई क्रस पास दिएका थिए । त्यसवेला जोकिम अनमार्कमा थिए । उनले सहजै डिबक्सभित्रबाटै पहिलो बारमा गोल गरे । खेलमा फर्कन नसक्ने अवस्थामा पुगेको वेल्सले ९० मिनेटमा एक खेलाडी गुमायो । उत्कृष्ट ड्रिब्लिङ गरी अगाडि बढिरहेका जोकिमलाई पछाडिबाट ह्यारी विल्सनले फल गरे र रेफ्रीले सीधै विल्सनलाई रातो कार्ड देखाए । विल्सनको करिअरकै यो पहिलो रातो कार्ड थियो । अन्तिम इन्जुरी समयमा खेल अवधिभरि डेनमार्कका लागि प्रेरणादायी खेल प्रस्तुत गरेका मार्टिन ब्राथवेटले व्यक्तिगत पहिलो तथा टोलीका लागि चौथो गोल गरे ।

सुरुवातमा उनको गोललाई अफसाइड दिइयो । जर्मन रेफ्रीले भिएआरको सहयोगमा ब्राथवेटको गोललाई मान्यता दिँदा डेनमार्क ४–० को जितसँगै अन्तिम आठमा पुग्यो । यसअघि नवौँ मिनेटमा वेल्सका कप्तान बेलले पोस्टभन्दा २२ यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको बल पहिलो बारनजिक हुँदै बाहिरिएको थियो । खेलको ११औँ मिनेटमा वेल्सका आरोन राम्सीले सानो डिबक्समा बल नियन्त्रण लिन नसक्दा वेल्सले गोल अवसर गुमायो । खेलको १८औँ मिनेटमा डेनमार्कले पहिलो कर्नर पाएको थियो । डेनमार्कले लगातार तीन कर्नर पाएको थियो । तर, डेनमार्कका खेलाडीले यसलाई सदुपयोग गर्न सकेनन् । 

तथ्य
– डेनमार्कले लगातार चार खेलमा वेल्सलाई हराएको छ । डेनमार्कले यस खेलमा दुई र वेल्सले तीन खेलाडी परिवर्तन गरेको थियो । वेल्सले डेनमार्कको काउन्टर र आक्रमण रोक्न ४–२–३–२ को रणनीति अपनाएको थियो । 

– डेनमार्कले ३–४–२–१ रणनीति बनाएर वेल्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । आम्स्टार्डम रंगशालामा डेनमार्कलाई समर्थन गर्न १६ हजार समर्थक थिए । खेल सुरु हुनुअघि डेनमार्कका खेलाडीले सहकर्मी क्रिस्टियन एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका थिए । 

– २९ वर्षअघि आजकै दिनमा डेनमार्कले पहिलोपटक युरोकप उपाधि उचालेको थियो । सन् १९९२ को संस्करणको फाइनलमा डेनमार्कले जर्मनीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । 
– डेनमार्क र वेल्सले पहिलोपटक मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । 

चालू युरोकपमा डेनमार्कले डिबक्सबाहिरबाट सर्वाधिक तीन गोल गरेको छ । सन् १९८० को संस्करणमा फ्रान्सले डिबक्सबाट पाँच गोल गरेको थियो । फ्रान्सपछि बेल्जियमले सन् २०१६ मा डिबक्सबाहिरबाट चार गोल गरेको थियो ।