१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
एजेन्सी
२o८१ बैशाख १८ मंगलबार १२:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युरोकप २०२० को फाइनल आज : प्रतिबद्ध इटालीविरुद्ध उत्साहित इंग्ल्यान्ड

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o७:oo

पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड उपाधिको खोजीमा छ भने सन् १९६८ मा उपाधि जितेको इटाली दोस्रो उपाधिको प्रयासमा छ

आजको खेल : इटालीविरुद्ध इंग्ल्यान्ड १२:४५ राति (वेम्बली स्टेडियम, इंग्ल्यान्ड)

कोरोना भाइरस (कोभिड–१९) महामारीको ठूलो त्रासबीच सुरु भएको युरोकप २०२० समापननजिक पुगेको छ । आइतबार अबेर राति हुने युरोकपको १६औँ संस्करणको उपाधि भिडन्तमा इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गरेपछि युरोकप २०२० एउटा फरक इतिहाससँगै समापन हुनेछ । खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

यो प्रतिस्पर्धाले इंग्ल्यान्ड युरोपको नयाँ च्याम्पियन बन्ने वा इटालीले युरोकपको उपाधि दोस्रोपटक जित्ने निश्चित गर्नेछ । पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड पहिलो उपाधिको खोजीमा छ भने सन् १९६८ मा उपाधि जितेको इटाली दोस्रो उपाधिको प्रयासमा छ । त्यसैले यी दुई टोलीको उपाधि भिडन्त रोमाञ्चक हुने निश्चित छ । दुवै टोलीले उपाधिका लागि आफ्नो शतप्रतिशत दिनेछन् । फाइनल खेलअघि इंग्ल्यान्ड थप उत्साहित देखिएको छ । इंग्ल्यान्ड आफ्नो महादेशको यो प्रतिष्ठित प्रतियोगिताको पहिलो फाइनल मात्रै खेल्दै छैन, उनीहरू ५५ वर्षको लामो पर्खाइपछि कुनै मुख्य प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । 

सन् १९६६ मा विश्वकपको उपाधि जितेपछि इंग्ल्यान्ड कुनै महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पहिलोपटक पुगेको हो । कुनै पनि मुख्य प्रतियोगिता (युरोकप र विश्वकपमध्ये) को फाइनल खेल्न इंग्ल्यान्डले कुरेको यो समय युरापेली देशहरूमध्ये सबैभन्दा बढी हो । फाइनल पुग्दा नै नयाँ उपलब्धि हात पारिसकेको इंग्ल्यान्डले उपाधिका लागि थप मिहिनेत गर्नेछ । चारपटकको विश्वकप विजेता इटालीसँग पनि युरोकपको अर्काे उपाधि थप्ने योजना छ । यी दुई टोलीमध्ये आफ्नो योजनामा सफल हुने टोलीको टुंगो यो खेलपछि लाग्नेछ ।  त्यसअघि प्रतियोगिताको अघिल्लो चरणमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन दिएका छन् । यी दुवै टोली प्रतियोगिताको अपराजित टोली हुन् । 

इंग्ल्यान्डले प्रतियोगितामा अहिलेसम्म खेलेको ६ मध्ये एक खेलमा मात्रै बराबरी खेलेको छ । यस्तै, इंग्ल्यान्डले चार खेलमा निर्धारित समयभित्रै र डेनमार्कविरुद्धको सेमिफाइनल खेलमा थप ३० मिनेट प्रतिस्पर्धा गरेर जित हात पारेको छ । त्यसको तुलनामा इटालीले प्रतियोगिताको ६ मध्ये सबै खेलमा निरन्तर जित हात पारेको छ । त्यसो त इटाली आफ्नो पछिल्लो १४ खेलमा लगातार विजयी छ । पछिल्लो ३३ खेलमा अपराजित छ । यी दुई टोलीको पछिल्लो लयले पनि फाइनल खेल थप प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

इंग्ल्यान्ड र इटाली खेलका प्रायः सबै क्षेत्रमा उत्तिकै सशक्त देखिएका छन् । यद्यपि, व्यहोरेको गोलअनुसार इंग्ल्यान्डको रक्षापंक्ति थप बलियो देखिएको छ । प्रतियोगितामा इंग्ल्यान्डले एक गोल मात्रै व्यहोरेको छ । इटालीले पनि टाइब्रेकरबाहेक तीन गोल मात्रै व्यहोरेको छ । मिडफिल्ड र अग्रपंक्तिमा दुवै टोली बलिया छन् । यस्तो अवस्थामा प्राप्त अवसरलाई सदुपयोग गर्न सक्ने टोलीले जित निकाल्न सक्नेछ । 

यी दुई टोलीबीच यसअघि भएको प्रतिस्पर्धामा भने इटाली बलियो देखिएको छ । युरोपेली फुटबल महासंघ (युइएफए)का अनुसार यी दुई टोलीबीच अहिलेसम्म एकअर्काविरुद्ध २७ पटक प्रतिस्पर्धा गर्दा इटालीले १० खेलमा जित हात पारेको छ । इंग्ल्यान्डले आठ खेलमा जित हात पारेको छ भने बाँकी नौ खेल बराबरीमै टुंगिएको छ ।

फाइनलअघि के भन्छन्, प्रशिक्षक र खेलाडी ?

इटालीका प्रशिक्षक रोबर्टाे मान्सिनी भन्छन्, ‘हामीले यसका लागि धेरै वर्षदेखि मिहिनेत गर्दै आइरहेका थियौँ । त्यसैले अहिलेसम्मको यात्रामा निकै खुसी छु । त्यसका लागि खेलाडीहरूले अहिलेसम्म गरेको उनीहरूको मिहिनेतका लागि धन्यवाद भन्न चाहन्छु । तर, हामीले अहिल्यै केही जितिसकेका छैनौँ । यसलाई हाम्रो सफलता मान्नका लागि हामीले आइतबार हुने फाइनल खेल जित्नुपर्नेछ । इंग्ल्यान्डको समर्थनमा पूरा स्टेडियम हुनेछ । त्यसका लागि हामीले उनीहरूलाई दबाबमा राख्नुपर्नेछ । फाइनल खेल अन्य खेलभन्दा फरक हुने नै छ । त्यसैले हामीले आफ्नो खेलमा केन्द्रित हुन आवश्यक छ । रमाइलो मानेर खेल्न सक्नुपर्नेछ । किनभने, यदि तपाईंले मैदानलाई रमाइलो गर्ने ठाउँको रूपमा लिनुभयो भने तपाईंले खेल जित्नुहुनेछ ।’

इटालीका कप्तान जियोर्जियो चिलेनी भन्छन्, ‘टर्कीविरुद्धको पहिलो खेलदेखि अहिलेसम्म जारी प्रतियोगिता एकदमै भावनात्मक बनेको छ । यो हामीले केही वर्षदेखि पछ्याउँदै आइरहेको सपना हो । यो हाम्रा प्रशिक्षकले बिस्तारै हाम्रो दिमागमा राखिदिएको सपना हो । उनैले हामीलाई आफ्नो दिमागमा युरोकप जित्ने लक्ष्य राख्न भनेका हुन् । त्यसवेला हामीलाई उनीबारे अचम्म लागेको थियो । तर, पछिल्लो केही वर्षमा उनले यस्तो टोली बनाएका छन्, त्यो टोली अहिले त्यही सपनाको नजिक पुगेको छ ।’

इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेट भन्छन्, ‘हामीले महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुगेको खुसीको मज्जा लिने अवसर पाएका छौँ । तर, उपाधि जित्नका लागि हामीसँग अझै एउटा ठूलो अवरोध छ । इटाली साँच्चिकै राम्रो टोली हो । मैले केही वर्षदेखि उनीहरूको प्रदर्शन हेरेको छु, उनीहरू निकै राम्रो लयमा छन् । उनीहरूसँग साँच्चिकै राम्रो रक्षापंक्ति छ । यो साँच्चिकै राम्रो प्रतिस्पर्धा हुनेछ । यो खेललाई लिएर म उत्साहित छु ।’

इंग्ल्यान्डका मिडफिल्डर जोर्डन हेन्डर्सन भन्छन्, ‘हामी पूर्ण रूपमा आइतबारको खेलमा केन्द्रित छौँ । यो हाम्रो जीवनमा अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा हो । हामीलाई फेरि यही मैदान र यो देशमा सबैलाई खुसी बनाउने अवसर मिलेको छ । टोलीकै लागि यो ठूलो अवसर हो । यसका लागि हामी आफ्नो सबै दिनेछौँ ।’

प्लेयर्स टु वाच

हारी केन, फर्वार्ड, इंग्ल्यान्ड
इंग्लिस टोलीका मुख्य फर्वार्ड हुन्, केन । अग्रपंक्तिमा तीव्र गति, आफ्ना खेलाडीसँगको राम्रो तालमेल र गोल गर्न सक्ने क्षमताका कारण यी फर्वार्ड कुनै पनि टोलीका लागि मुस्किल बन्दै आइरहेका छन् । जारी युरोकपको छनोटमा गोलका सर्वाधिक गोलकर्ता बनेका उनी समूहगत चरणमा भने गोलका लागि संघर्षरत देखिए । यद्यपि, टोली नकआउट चरणमा पुगेपछि भने उनी गोलको लयमा छन् । उनले नकआउट चरणको पछिल्लो तीन खेलबाट चार गोल गरे । इंग्ल्यान्डलाई युरोकपको पहिलो र समग्रमा पछिल्लो ५५ वर्षपछिको पहिलो उपाधि दिलाउन इटालीविरुद्ध उनले यस्तै सशक्त प्रदर्शन दिन सक्नेछन् ।

फेडेरिको चिइसा, विङ्गर, इटाली
घरेलु टोली युभेन्टस्बाट व्यावसायिक फुटबल खेल्ने चिइसा जारी युरोकपमा इटालीको महत्वपूर्ण सदस्य हुन् । यी विङ्गरले इटालीलाई आवश्यक परेको अवस्थामा नियमित गोल गर्दै प्रतियोगितामा अघि बढ्न मद्दत गरिरहेका छन् । उनले विशेष गरी अस्ट्रिया र स्पेनविरुद्धको खेलमा टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक गोल गरेका छन् । विपक्षी टोलीका रक्षापंक्तिलाई नियमित तोड्न सक्ने क्षमताका चिइसाले प्रतियोगितामा गोलको अवसरसमेत सिर्जना गरेका छन् । उनले इटालीलाई युरोकपको दोस्रो उपाधि दिलाउन प्रतियोगितामा थप आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछन् ।

ad
ad