१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १० बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ असार १० बिहीबार १४:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोलाको बगरमा सुकुमबासी राख्न नमुनाबस्ती

समन्वयबिना बनाइएको बस्ती र बाँधले कमल गाउँपालिकाका जोखिममा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १० बिहीबार १४:२४:oo

दमक नगरपालिका र कमल गाउँपालिको सिमाना छुट्याउने नदी हो, रतुवा । रतुवाको पश्चिमपट्टि दमक नगरपालिका पर्छ भने पूर्वपट्टि कमल गाउँपालिका । दुवै स्थानीय तह प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा पर्छ । 

यही रतुवा नदीको बगरमा दमक नगरपालिकाले कमल गाउँपालिकासँगको समन्वयविना सुकुमबासीका लागि एकीकृत बस्ती बनाएको छ । नदीकै बगरमा बनाएको यो बस्ती विगतमा बाँधिएको बाँधभन्दा धेरैभित्र पर्छ । नगरपालिकाले दमक– १ र दमक– ७ सिमानास्थित रतुवानदीको बगरमा सुकुमबासीका लागि एकीकृत बस्ती निर्माण गरेको छ ।

प्रधानमन्त्री ओलीको स्थानीय विकास साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा सुकुमबासीका लागि गत वर्ष दमक– १ मा २३ वटा चारकोठे घर निर्माण भएको थियो । यस वर्ष भने गत वर्ष बनाएको बाँधभन्दा भित्र पर्ने गरी  तीनकोठे १५ वटा घर निर्माण गरिएको दमक नगरपालिकाले जनाएको छ ।

बगरमा रहेको नमुनाबस्तीदेखि भित्र खोलाबीचमा दमक नगरपालिकाले बस्ती बचाउन तठबन्धन सुरु गरेपछि कमल गाउँपालिकाले आपत्ति जनाएको छ । दुई स्थानीय तहको सिमानामा स्थायी संरचना निर्माण गर्दा पनि कमल गाउँपालिकासँग समन्वय नभएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीले बताए ।

‘नमुनाबस्ती पनि सहमतिविनै बनाइयो । हामीले गत साल नमुनाबस्ती बनाउँदै गर्दा दमक नगरपालिकालाई नबनाउनु भनेका थियौँ । तर, उहाँहरूले जबर्जस्ती बनाएको बनाई गर्नुभयो,’ सिवाकोटीले नयाँ पत्रिकासँग भने, ‘गत साल भवन बनाउनुभयो । यसपटक खोलाबीचमै बाँध बाँध्न सुरु गर्नुभयो । यो त पेल्न खोजेकोजस्तो देखियो ।’

एकातर्फ मात्र बाँध बाँधेर नमुनाबस्ती बचाउँदा कमल गाउँपालिका– ५ पाँडाजुंगी क्षेत्रका अधिकांश बस्ती नै डुबानमा पर्ने जोखिम रहेको उपाध्यक्ष सिवाकोटी बताउँछन् । बर्खामा उर्लेर आउने रतुवानदीले यसअघि पनि दमक क्षेत्रमा आफूखुसी बाँध निर्माण गर्दा कमलका केही भाग कटान गर्दै आएको छ ।

सीमानदीमा दमक नगरपालिकाले आफूखुसी स्थायी संरचना बनाएपछि कमल गाउँपालिकाले जिल्ला समन्वय समिति झापालाई विवाद समाधानका लागि पत्र लेखेकाे छ । कमल गाउँपालिकाले समन्वय समितिलाई पत्र लेखेर आपत्ति जनाए पनि दमक नगरपालिकाले भने काम रोकेको छैन । बर्खामा बस्ती बचाउन भन्दै धमाधम बाँध बाँधिरहेको छ ।

दमक नगरपालिकाले भने नगरपालिकाको जग्गामै बाँध निर्माण गरिएको दाबी गरेको छ । नगरप्रमुख रोमनाथ ओलीले कमल गाउँपालिकाको जग्गामा निर्माण नगरिएको दाबी गरे । ‘हामीले हाम्रा ठाउँमा बनाएका हौँ । उहाँहरूले खोलामा भन्नुहुन्छ । बरु उहाँहरूले चाहिँ खोलाभित्रै बाँध बनाउनुभएको छ । बाटै खोलेर रतुवापुलमुनि बाँध बनाउनुभएको छ,’ उनले भने, ‘हामीले त खोलालाई आवश्यक पर्ने ठाउँ छाडेरै बनाएका छौँ ।’

दमक नगरपालिकाले पुरानो बगरमा रहेको नमुनाबस्ती जोगाउन पुरानो बाँधदेखि करिब दुई सय मिटर खोलातर्फ बाँध बनाएको छ । यो बाँध तत्काललाई बस्ती जोगाउन मात्र बाँध बाँधिएको मेयर ओलीले बताए । जिल्ला समन्वय समिति झापाले पनि दमक नगरपालिकालाई समन्वयविना स्थायी संरचना निर्माण नगर्न पत्रचार गरेको समन्वय प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

‘वडा कार्यालयले बनाउनुपर्नेभन्दा पूर्व बाँध बनाएछ । त्यसकारण स्थायी संरचना बनाउने कुरामा दुईवटा पालिकाको सहमतिमा मात्र बनाउनु भनेर पत्र पठाइसकेको छ,’ पोर्तेलले भने, ‘स्थायी भएको भए भत्काउन लगाउँथ्यौँ । अस्थायी भएका कारण अब नबनाउनु भनेका हौँ ।’ समन्वय प्रमुख पोर्तेलले नमुनाबस्ती भने कमल गाउँपालिकाको सहमतिमै दमक नगरपालिकाले बनाएको दाबी गरे ।