खेलाडीको नजरमा युरोकप
अहिले राष्ट्रिय क्रिकेट टोलीको पनि बन्द प्रशिक्षण सुरु भएको छ । त्यसैले युरोकपका सबै खेल हेर्न पाएको छैन । यत्तिकै पनि युरोकपका खेलहरू राति हुने भएकाले सबै खेल हेर्न मुस्किल छ । प्रतियोगिता सुरु भएको केही दिन साँझ ६:४५ र राति ९ः१५ का खेलहरू हेरेँ । तर, थकान र अन्य कारणले १२:४५ को खेल भने खासै हेरेको छैन । बरु, भोलिपल्ट त्यसको हाइलाइट्स भने हेर्ने गरेको छु ।
युरोकप सुरुवातबाटै मनपर्ने प्रतियोगिता हो । मैले सन् २००४ को युरोकपदेखि यो प्रतियोगिता हेरेको याद छ । त्यसवेला पोर्चुगल र ग्रिसले फाइनलमा उपाधि भिडन्त गरेका थिए । पोर्चुगलको टोलीमा लुइस फिगोलगायत खेलाडी थिए । मैले त्यसवेला ग्रिसको समर्थन गरेको थिएँ । ग्रिसलाई मन पराउनुको खास कारण त केही थिएन । ग्रिस ‘अन्डर डग’ टोली थियो । सायद हामीलाई अन्डर डग टोलीलाई समर्थन गर्नुपर्छ भन्ने परेको थियो ।
आखिर त्यो प्रतियोगिता ग्रिसले नै जित्यो । त्यसवेलादेखि नै युरोकप नियमितजस्तै हेर्दै आइरहेको छु । युरोकपमा मेरो मनपर्ने टोली त छैन । यद्यपि, युरोपमा विश्व च्याम्पियन टोलीहरू छन् । युरोकपका खेलहरू प्रतिस्पर्धात्मक लाग्छ त्यसैले मिलेसम्म हेर्ने गरेको छु ।
यसपटक पनि मिलेसम्म नकआउट चरणदेखिका खेलहरू भने हेर्ने योजनामा छु । यही समय कोपा अमेरिका पनि चलिरहेको छ । कोपा अमेरिकामा मलाई मनपर्ने टोली ब्राजिल पनि छ । अमिल्दो समयका कारण कोपा अमेरिकाको खेल झनै हेर्न पाएको छैन । कोपा अमेरिकाको खेल पनि बिहान उठेर हाइलाइट्स हेर्ने गरेको छु ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव जीवनलाई नै संकटमा पारेको यो विषम परिस्थितिमा यी प्रतियोगिताहरू आयोजना भएका छन् । यो खुसीको कुरा हो । यी प्रतियोगिता आयोजना गर्न धेरै सावधानी अपनाइएको छ । भ्याक्सिन आएपछि र संक्रमण नियन्त्रणका धेरै उपाय अपनाएर यी प्रतियोगिता आयोजना भएका छन् । यस्ता प्रतियोगिता आयोजना हुँदा पहिले सुरक्षा महत्वपूर्ण हो । अहिलेको यो कठिन परिस्थितिमा आयोजना भएका यी प्रतियोगिता खेलको मज्जासँगै पीडा भुलाउने माध्यम पनि दिएको छ ।