मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ असार ४ शुक्रबार १४:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महामारीका वेलामा पनि सुदूरपश्चिमबाट भारतमा केराउ तस्करी 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ असार ४ शुक्रबार १४:०४:००

गत वर्ष कात्तिकतिर नेपालबाट भारत हरियो केराउ (मटर) तस्करी गर्दै आएका तस्कर गिरोह समूहले कैलालीमा दुई प्रहरीको हत्या नै गरिदिए । सुदूरपश्चिम प्रदेश कैलालीको नाका भएर भारतमा केराउ (मटर) तस्करी गर्दै आएको गिरोहले तस्करीमा अवरोध पुर्‍याएको भन्दै दुई प्रहरीको हत्या गरी मोहना नदीमा शव फ्याँकिदिएका थिए । 

तस्कर समूहले प्रहरीलाई लाइन दिएर पनि अवरोध गर्ने आक्रोशमा प्रहरी निरीक्षकसहित एक जवानको तस्करीकै क्रममा हत्या गरे । जुगेडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीमाथि तस्कर समूहले सांघातिक हमला गर्दै हत्या गरेको घटना वर्ष दिन नपुग्दै फेरि सुदूरपश्चिम कैलाली कञ्चनपुरमा तस्कर समूह सक्रिय भएका छन् ।

महामारीको मौका छोपी केराउ (मटर) तस्कर समूह सक्रिय भएका हुन् । लकडाउनका वेला अत्यावश्यक खाद्यान्न, औषधि, दूध, पानीलगायत फलफूल ढुवानीबाहेक अन्यमा रोक लगाए पनि तस्कर समूहले सेटिङ गर्दै कैलाली कञ्चनपुरमा तस्करी बढाएको बुझिन्छ ।

सुनदेखि फलामसम्म तस्करी गरिरहेको बुझिन्छ । कञ्चनपुर प्रहरीले जिल्लाको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनी, ब्रह्मदेव क्षेत्रबाट दैनिक भइरहेको तस्करी नियन्त्रण गर्दै आएको छ । बिहीबार पनि प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– २ थापाचोक क्षेत्रबाट ठूलो परिमाणमा भारत तस्करी हुन लागेको केराउ नियन्त्रणमा लिएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रदेश प्रहरी ब्युरो र कञ्चनपुर प्रहरीको टोलीले नेपाल (कञ्चनपुरको बेलौरी)बाट भारत तस्करी हुन लागेको लाखौँको केराउ बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बरामद गरिएको अवैध मटरसहित तीन टेक्टर भन्सार चलान गरिएको बताए । झन्डै साढे ६ सय बोरा मटरको मूल्य १७ लाख र तीन टेक्टर, ट्रलीसहित ३० लाखबराबरको अवैध सामान कैलाली त्रिनगर भन्सार बुझाएको प्रवक्ता थापाले बताए ।

बिहीबार बिहान बरामद गरिएको मटर ठूला तस्करको भएकाले बेलौरी प्रहरीमाथि बार्किनिङ गरेको आरोप छ । उक्त केराउ ठूला शक्तिशाली तस्कर समूहको भएकाले बिहान बरामद गरेको मटर साँझसम्म इलाका प्रहरी कार्यालयमै राखेको केही प्रहरीको भनाइ छ । मटर बरामद प्रकरणबारे बाहिर हल्ला चलेपछि जिल्ला र प्रहरी प्रहरीले चासो दिँदै गैरकानुनी गतिविधि भएकाले यथाशीघ्र भन्सार चलान गर्न निर्देशन दिएका थिए । 

जिल्ला प्रहरीले अवैध समान जसरी भए पनि भन्सार पठाउन निर्देशन दिएसँगै बेलौरी प्रहरीले बरामद गरेको समान भन्सार चलानका लागि तयार भएको प्रहरी स्रोतले जनाएको छ । तर, इप्रका बेलौरी इन्चार्ज कमलकुमार खड्काले बरामद गरिएसँगै प्रक्रिया पुर्‍याउन दिलाई भएकाले पक्रनेबित्तिकै भन्सार चलान गर्न नसकिएको बताए ।

जिल्लामा प्रहरी नेतृत्व सबल सक्षम भएकाले कञ्चनपुरका जगडिएको लागुऔषधका तस्कर तह लगाउँदै आएको प्रहरीले अब भन्सार छलेर चोरी तस्करी गर्ने गिरोहलाई समेत तह लगाउने जनाएको छ । तस्कर समूहले राष्ट्रसेवक प्रहरीमाथि गत वर्ष निर्मम तरिकाले हत्या गरेको घटनालाई स्मरण गर्दै सुदूरपश्चिम प्रदेशभरी सबै प्रहरीले गैरकानुनी गतिविधिविरुद्ध सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।