Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार १ मंगलबार १३:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करिब ५५ अर्बको बजेट ल्याउँदै बागमती सरकार

Read Time : > 1 मिनेट
२०७८ असार १ मंगलबार १३:५३:००

बागमती प्रदेश सरकारले स्थापनापछिको चौथो बजेट आज मंगलबार ल्याउँदै छ । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती सरकारले आकार बढाउँदै आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट ल्याउन लागेको हो । 

चालू आव ०७७/७८ मा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको बागमती सरकारले आगामी आवका लागि करिब ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको छ । कोरोना महामारीका कारण बजेट खर्च कमजोर भएको र चालू आवमा यातायात, घरजग्गाको कर एक अर्बले बढी भएका कारण बजेटको आकार वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालय प्रवक्ता विमला अधिकारीले बताइन् ।

उनका अनुसार कोरोना नियन्त्रण, रोकथाम र उपचारलाई प्राथमिकतामा राखिएको र भौतिक पूर्वाधारका लागि सबैभन्दा बढी रकम विनियोजन गरिएको छ । ‘बजेटमा अनिवार्य दायित्व, बहुवर्षे योजनापश्चात् बाँकी रहेको बजेट कोरोना नियन्त्रण र न्यूनीकरणसँग सम्बन्धित योजनाहरूलाई समावेश गरिएको छ,’ अधिकारीले भनिन् ।

२९ जेठमा पारित गरिएको आगामी आवको नीति, कार्यक्रमअनुसार बजेट आउने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलको दाबी छ । प्रदेशभित्रका १३ वटै जिल्लाका लागि कोरोना न्यूनीकरण र रोकथामलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उनले बताए । ‘सरकारले यस वर्ष कोरोना संक्रमितको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर रकम छुट्याएको छ, जुन रकम १३ वटै जिल्लालाई वितरण गरिनेछ,’ मन्त्री ढुंगेलले भने ।

बजेटमा कागज उद्योग, कृषि औजार उत्पादन कारखाना, कृषि ऋणलाई थप व्यवस्थित र उत्पादनमा आधारित अनुदानलगायत समेटेको मन्त्रालयले जनाएको छ । विकासमा सन्तुलन, उत्पादन वृद्धि र तत्काल रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट विनियोजन गरिएको उनको भनाइ छ । 

मन्त्रालयका अनुसार बजेटमा कोरोनाबाट प्रभावित विपन्न वर्गलाई न्यून ब्याजदरमा ऋणको व्यवस्था, आगामी आर्थिक वर्षभित्र सरकारबाट विद्युतीय बस सञ्चालन, भीमफेदी–कुलेखानी सुरुङमार्ग र प्रदेश चक्रपथ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।