मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार १६:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्विवाद प्राप्त कांग्रेसका १३४ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक, सदस्यता शुल्क र लेबीसहित सबै कागजात बुझाउन निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार १६:५१:००

कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको हो । 

यसअघि ६० भन्दा बढी जिल्लाबाट प्राप्त एक सय एक स्थानको नामावली कांग्रेसले आफ्नो वेबसाइटमा राखिसकेको छ । कांग्रेसले १४औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या दोब्बरले वृद्धि गरी दश लाख पुर्‍याउने लक्ष्यसहित नवीकरण र वितरणको काम थालेको थियो ।

जसअनुसार जिल्ला कार्यसमितिले पूराना क्रियाशीलको नवीकरण र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरूले नयाँ सदस्यता वितरण गरी केन्द्रीय कार्यालयको सफ्टवेयरमा देशभरका २०७ स्थानबाट नवीकरण र नयाँ सदस्यताको विवरण अपडेट हुने व्यवस्था गरिएको थियो । तीमध्ये अहिलेसम्म एक सय ३४ स्थानको नामावली प्रक्रिया पुर्‍याएर निर्विवाद रूपमा प्राप्त भएको र छानबिन समितिले ती नामावली सार्वजनिक गरेको सचिव रिजालले जानकारी दिए । 

यसपटक थपिएका चार लाख १९ हजार नाै सय ३९ र नवीकरण गरेका तीन लाख ८० हजार तीन सय ७८ गरी कुल आठ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा प्राप्त छ । त्यसमध्ये अहिलेसम्म पाँच लाखभन्दा बढीको नामावली सार्वजनिक भएको हो । १३औँ महाधिवेशनमा क्रियाशीलको संख्या साढे लाख मात्रै रहेको थियो ।

‘अहिले सार्वजनिक गरिएको नामावली विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभाबाट सफ्टवेयरमा इन्ट्री भएका क्रियाशीलको नामावली हो । यसबाहेक अरू ठाउँबाट पनि विवरण प्राप्त छ, तर त्यहाँ प्रक्रियामै विवाद छ,’ कांग्रेसका केन्द्रीय सदस्य एवम् छानबिन समितिका सदस्य जीवन परियारले भने, ‘केन्द्रमा सबै प्रक्रिया पुर्‍याएर प्राप्त भएको विवरणमाथि उजुर बाजुर गर्ने, त्रुटि सच्याउने वा छुटपुट थप गर्ने प्रयोजनका लागि यो नामावली सार्वजनिक गरिएको हो ।’ 

शनिबारै बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको मिति हेरफेर गर्दै २० असारभित्र क्रियाशीलको छानबिनसमेत पूरा गरी केन्द्रीय समितिमा बुझाउन भनेपछि छानबिन समिति दबाबमा परेको छ । समितिले सार्वजनिक गरिएका नामावलीउपर एक साताभित्र उजुरी वा गुनासो भए केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ । 

यस्तै, सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउनका लागि ६ असारसम्मको समय तोकेको छ । 

सदस्यता शुल्क र लेबीसहित सबै कागजात बुझाउन निर्देशन
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता शुल्क र सहयोग रकम अर्थात् लेबीसहित क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण कागजातहरू एक साताभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्न निर्देशन दिएको छ । समितिले क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने प्रक्रियामा वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिले गरेका निर्णयको प्रतिलिपि, क्रियाशील सदस्यताको प्रस्तावित नामावली प्रमाणित सूची, सदस्यता शुल्क र सहयोग रकम (लेवी) समेत जम्मा गरेको भौचर आवश्यक कागजात विवरण केन्द्रमा बुझाउन निर्देशन गरेको हो । समितिले कोरोनाका कारण अहिले भौतिक रूपमा ल्याउन समस्या भए इमेलमार्फत भए पनि बुझाउन आग्रह गरेको छ ।

कांग्रेसले भदौ १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन गर्ने गरी ६ साउनबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेको छ । महाधिवेशनबारे छलफल र निर्णय गर्न सभापति शेरबहादुर देउवाले आउँदो बिहीबार केन्द्रीय समितिको बैठक बोलाएका छन् ।