१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ३० आइतबार
  • Tuesday, 08 July, 2025
२o७८ जेठ ३० आइतबार o६:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस प्रदेश सांसद  वैद्यले स्विकारे गल्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ३० आइतबार o६:२७:oo

प्रधानमन्त्रीविरूद्ध आफूले बोलेका शब्द फिर्ता लिँदै प्रदेश सभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह

बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलीविरुद्ध दिएको अभिव्यक्तिमा आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले आफूले बोलेका शब्द फिर्ता लिँदै प्रदेश सभाकोे रेकर्डबाट हटाउनसमेत सभामुखसमक्ष आग्रह गरेका हुन् । 

शनिबारको प्रदेश सभा बैठकको सुरुमै सांसद वैद्यले सभामुख सानुकुमार श्रेष्ठसँग समय लिएर आफूले असाध्यै आवेगमा आएर कुरा पोख्ने क्रममा आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गर्न पुगेको भन्दै आत्मालोचना गरेका थिए । बागमती प्रदेशमा आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । सांसद वैद्यले शुक्रबारको बैठकमा ‘प्रधानमन्त्री ओली सबै कुरा बिगार्न उद्यत रहेकाले नेपालमा पनि कोही न कोही नाथुराम गोड्से बन्नुपर्ने, कोही नभए आफैँ बन्ने पो हो कि ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । कांग्रेसले उनलाई आत्मालोचना गर्न निर्देशन दिएको थियो । 

सांसद वैद्यले प्रधानमन्त्रीप्रति आफूबाट प्रयोग भएका शब्दहरू कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गरेको र पार्टीको संसदीय दलले पनि फिर्ता लिन निर्देशन गरेको भन्दै आफूले बोलेको अभिव्यक्ति फिर्ता लिने बताएका हुन् । उनले आफूले हिंसाबाट शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक अभ्यासका लागि अन्य राजनीतिक दलहरूलाई समेत प्रेरित गर्ने र संयोजनकारी भूमिका खेल्ने पार्टीको सिपाही भएको हिसाबले पनि सो अभिव्यक्ति गलत भएको महसुस गरेको स्पष्ट गरेका छन् । 

‘नीति तथा कार्यक्रमको छलफलको क्रममा मैले संसद्को रोस्ट्रममा उभिएर आफ्नो प्रतिक्रिया दिनेक्रममा माननीय प्रधानमन्त्रीज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरू आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैँले पनि आफूले बोलेको कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गरेको छु,’ सांसद वैद्यले भने, ‘शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरू राजनीतिक दलहरूलाई समेत लोकतान्त्रिक अभ्यासका लागि प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछु ।’

उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो भने कांग्रेस केन्द्रीय समितिले नै उनलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न दबाब दिएको थियो । उनी काठमाडौं ४ (क) बाट निर्वाचित सांसद हुन् ।