१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २७ बिहीबार
  • Wednesday, 02 July, 2025
२o७८ जेठ २७ बिहीबार o५:२५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेता–कार्यकर्तालाई आश्वस्त पार्ने कांग्रेस सभापतिको कोसिस- ‘महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिबद्ध छु’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २७ बिहीबार o५:२५:oo

महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान हो : शेरबहादुर देउवा सभापति, कांग्रेस

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन, बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु– आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो । र, पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।

...              ...


कोभिड र नेतृत्व सत्तासमीकरणका दौडधुपले कांग्रेसको १४औँ महाधिवेशन प्रभावित हुने आशंकाहरू उब्जिएका वेला सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । पार्टीभित्रै महाधिवेशनको विषयलाई लिएर कसैले गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक अभिव्यक्ति आएका भन्दै देउवाले बुधबार विज्ञप्ति जारी गरेर भदौमै महाधिवेशन सम्पन्न गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् । 

‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन, बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ,’ देउवाले भनेका छन्, ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु– आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो । र, पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

महाधिवेशनको कार्यतालिकाबमोजिम काम अघि नबढेको भन्दै मंगलबार मात्रै सातजना युवा नेताले सभापति देउवालाई भेटेर महाधिवेशनको साझा दायित्व पूरा गर्न सबैले भूमिका खेल्नुपर्ने र महामारीका बीच महाधिवेशन सम्पन्न गर्न वैकल्पिक विधिको खोजी गर्नुपर्ने आग्रह गरेका थिए । त्यस्तै, गत बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै बैठक गरी सभापतिले समयमै महाधिवेशन गर्न नचाहेको भन्दै महाधिवेशनको पूर्वतयारीका विषयमा छलफल गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको थियो । तर, देउवाले बैठक बोलाउनुको सट्टा भदौमै महाधिवेशन हुन्छ भन्ने सन्देशसहितको विज्ञप्ति जारी गरेर कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरेका छन् । 

सभापति देउवाले कोरोना महामारीको यस्तो विषम परिस्थितिमा महाधिवेशन गर्नु चुनौतीपूर्ण रहेको भन्दै सुरक्षित रहेर महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन् । ‘हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारीलगायत महाधिवेशनका सबै तयारी गर्नु छ,’ विज्ञप्तिमा छ । 

देउवाले विज्ञप्ति नै निकालेर महाधिवेशन गर्ने प्रतिबद्धता जनाए पनि पार्टीभित्रको प्रतिपक्ष भने विश्वस्त छैन । वरिष्ठ नेता पौडेलले महाधिवेशन नगरे पार्टी नै नरहने अवस्था आएपछि सभापतिले गर्छु भनेर प्रतिबद्धता जनाएको टिप्पणी गरे ।

‘अहिले हाम्रो महाधिवेशन बाध्यात्मक अवस्थामा हो । चार वर्षमै महाधिवेशन गरिसक्नुपर्ने हो । पार्टीको विधान र संविधानले दिएको बाध्यात्मक समय पनि सकिन लागेको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब पनि गरेन भने कांग्रेस नै सकिन्छ । त्यसैले महाधिवेशन त गर्नैपर्छ ।’ पौडेलले नियमित कार्य सम्पन्न गरी महाधिवेशन गर्न नसकिए वैकल्पिक विधिबाट भए पनि पार्टीको चुनाव हुनुपर्ने बताउँदै आएका छन् । 

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सभापति देउवाको प्रतिबद्धता वचनमा मात्रै सीमित हुन नमिल्ने बताए । ‘उहाँको दृढता र प्रतिबद्धता जो आएको छ, म हार्दिकतापूर्वक सम्मान गर्छु । गत फागुनमै अधिवेशनका लागि उहाँले यस्तै प्रतिबद्धता जनाउनुभएको थियो । मैले नै त्यतिवेलै सोचेर मिति तोकौँ, बरु अलि पर सारौँ, तर महाधिवेशन गर्ने गरी मिति तोकेर काम गरौँ भनेको थिएँ,’ गत वर्षको स्मरण गर्दै केसीले भने, ‘त्यही प्रतिबद्धता उहाँले पहिले पूरा गर्नुभएको भए यो अवस्था हुँदैन थियो । प्रतिबद्धता वचनमा मात्रै सीमित नहोस् ।’ नेता केसीले चार महिनाअघि नै नयाँ क्रियाशीलको काम नसकिए १३औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । 

देउवाले महाधिवेशनका सबै कार्य समयमै गर्ने विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदै गर्दा पार्टीको पूर्वनिर्धारित कार्यतालिकाअनुसार तल्ला तहको अधिवेशन सुरु हुन एक साता मात्रै बाँकी छ । जब कि अहिलेसम्म क्रियाशील सदस्यताको वितरण नै सकिएको छैन । त्यसको विवरण सार्वजनिक भएपछि छानबिन गर्नुपर्ने व्यवस्था छ । कार्यतालिकाबमोजिम क्रियाशीलको छानबिन १७ जेठमै भइसक्नुपर्ने हो । तर, अहिलेसम्म छानबिन होइन, त्यसका लागि मापदण्ड नै बनेको छैन । छानबिन समितिले यसअघि पाएको म्यान्डेट गुमिसकेकाले अब सबैभन्दा पहिले छानबिन समितिको म्याद थप्नुपर्छ । छानबिन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेसम्म आठ लाख क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा अपडेट भएको जानकारी दिए । उनले अहिले वचनले नभई कामले आश्वस्त गर्नुपर्ने समय रहेको बताए । ‘आठ लाखमध्ये तीन लाख सदस्यमा विवाद छ । त्यसका लागि मापदण्ड नै बनेको छैन, अब पनि काममा तीव्रता नदिए महाधिवेशन कसरी सम्भव हुन्छ ?’ पौडेलले प्रश्न गर्दै भने, ‘तत्काल केन्द्रीय समिति बैठक बोलाएर छानबिन समितिलाई छानबिनको जिम्मेवारी दिने, नयाँ कार्यतालिका बनाउने र त्यसै रफ्तारमा काम नगरे यी सबै काम दुई महिनामै गर्न निकै मुस्किल छ ।’

कांग्रेसले विधानको व्यवस्थाबमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि संवैधानिक व्यवस्थालाई टेकेर ६ महिना म्याद थप गरी ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । यस्तै, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।