मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार १६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाण्डे र भुसालको ब्रिफिङ– अनौपचारिक छलफल सकारात्मक छ, अब बल ओलीको कोर्टमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार १६:३५:००

एमाले नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टी एकता जोगाउने कि नजोगाउने अब बल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कोर्टमा रहेको ‘ब्रिफिङ’ गरेका छन् । आफ्नो समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा पाण्डे र भुसालले संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँगको संवाद सकारात्मक रहेको जानकारी गराउँदै त्यस्तो ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले बताए । 

उनीहरूले व्यक्तिगत तवरमा अनौपचारिक हिसाबले भएको वार्ता वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको जानकारीमै भएको र उनीहरू दुवैलाई त्यसबारे नियमित ‘ब्रिफिङ’ गर्दै आएकोसमेत प्रस्ट्याएका छन् । ‘अनौपचारिक छलफलमा २ जेठमा फर्किन साथीहरू तयार हुनुहुन्छ । छलफलमा जे भएका छन्, माधव कमरेड र झलनाथ कमरेडसँगको जानकारीमै भएको छ र उहाँहरूलाई ब्रिफिङ पनि हुँदै आएको छ,’ पाण्डे र भुसालको ब्रिफिङ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘अनौपचारिक कुराकानीमा जे कुरामा जान सकिन्छ भन्ने समझदारी भएको छ, त्यसलाई पार्टी अध्यक्षले औपचारिकता दिएर अगाडि बढाउनुभो भने एकता सम्भव छ । तर, उहाँले अब कसरी अगाडि बढाउनुहुन्छ, हेरौँ ।’ 

पाण्डे र भुसालले ओली पक्ष पछिल्लो अनौपचारिक समझदारीलाई औपचारिक रूप दिन तयार भएमा अहिलेको एकता प्रयासलाई छिट्टै टुंगोमा पु¥याउन सकिने, तर त्यसमा प्रधानमन्त्री ओलीको भूमिकामै भरपर्ने जानकारी गराएका थिए । ‘कुराकानी त सकारात्मक नै छ, तर ओलीजीले के चाहनुभएको छ, अब केही दिनमै थाहा भइहाल्छ,’ उनीहरूको भनाइ थियो ।

पाण्डे, भुसालसहित योगेश भट्टराई र गोकर्ण विष्टले संस्थापन पक्षका दोस्रो तहका नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतसँग संवाद गर्दै आएका छन् ।