मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १४ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका
२o७८ जेठ १४ शुक्रबार १७:४५:oo
Read Time : > 3 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

अस्पतालमा हिंसा रोक्न विशेष कानुन आवश्यक छ : डा. अरुण उप्रेती

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ जेठ १४ शुक्रबार १७:४५:oo

विराटनगरमा हालै ड्युटीमा तैनाथ स्वास्थ्यकर्मीमाथि आक्रमण भयो । महामारीको वेला पनि स्वास्थ्यकर्मीमाथि आक्रमण जारी रह्यो । किन भइरहेको छ, नियन्त्रण कसरी गर्ने ? 

उपचार गर्ने व्यक्ति र संस्था संसारैभरि आक्रमणको उच्च जोखिममा रहन्छन् । अस्पतालमा कसैले अभिभावक त कसैले सन्तान गुमाइरहेका हुन्छन् । बिरामी पीडामा छटपटाइरहेका हुन्छन् । आफ्नो मान्छे गुमाउँदा वा गुमाउने सम्भावना देखिँदा आवेग–आक्रोश पोख्ने क्रममा कोही आवेशमा आउँछन्, आक्रामक भइदिन्छन् । कुनै न कुनै प्रकारको हिंसा अस्पतालमा देखिन्छ । संसारभरिका अध्ययनले देखाएअनुसार सुरक्षाकर्मीपछि हिंसाको जोखिममा रहने समूह भनेको स्वास्थ्यकर्मी नै हो । यसको मतलब स्वास्थ्यकर्मीको सुरक्षाका खातिर छुट्टै कानुन चाहिन्छ, सुरक्षाकर्मीमाथि हिंसा गर्नेलाई जसरी दण्डित गर्न । हामीकहाँ बाटोमा हिँडिरहेको मानिसलाई कसैले हातपात गर्‍याे भने जुन कानुन लाग्छ, त्यही कानुन अस्पतालमा स्वास्थ्यकर्मीमाथि हिंसा हुँदा लाग्ने हो । त्यही कानुनअनुसार पनि दोषी दण्डित भइहाल्छन् भन्ने छैन । यहाँ पीडक कुनै राजनीतिक दलसँग आबद्ध छ वा पहुँचवाला छ भने सुलह गर्न दबाब पर्छ । ०६२–६३ पछि कार्यस्थलमा हिंसा बढेको देखिन्छ, जेमा पनि राजनीतिक दलहरू हावी भएका कारण । 

हाम्रोमा अर्को समस्या पनि छ– डाक्टरले उपचारमा लापरवाही गरेको खण्डमा दण्डित गर्ने कारबाहीको प्रणाली स्थापित भइसकेको छैन । यसले पनि स्वास्थ्य क्षेत्रमा हिंसालाई बढावा दिएको छ । लापरवाहीबारे हामीमा विद्यमान धारणामा पनि समस्या छ । जस्तो कि कुनै बिरामीलाई केही अप्ठ्यारो भयो भने डाक्टरले गडबड गर्दियो भन्ने खाले धारणा बनिसकेको हुन्छ । फेरि उपचारमा अरू पक्षको पनि हात हुन्छ । जस्तो, कुनै बिरामीलाई अक्सिजन दिन प्रशासनिक वा अरू कारणले विलम्ब भयो भने डाक्टरले दिएन भन्ने लाग्छ । यस्ता कारणले पनि स्वास्थ्य क्षेत्रमा सुरक्षा चुनौती थपिएका छन् । दण्डको थिति नबसाली नियन्त्रण गर्न सकिन्न । अन्यत्र विशेष कानुन हुन्छन् । भारतमै कोभिड संक्रमण बढिसकेपछि स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तीन वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुने र निश्चित जरिवाना पनि तिर्नुपर्ने गरी दण्डनीय बनाइयो । यस्तै माग नेपालमा विगत आठ–दश वर्षदेखि हुँदै आएको छ, आन्दोलनहरू पनि भएका छन् । माग सम्बोधन हुनुको सट्टा उल्टै डाक्टरलाई कमजोर बनाउने खालका नियम आएका छन् । जस्तै, बागमती प्रदेशमा नै डाक्टरले रिफर गर्न नपाउने भनेर एउटा कानुन आएको थियो, विकल्पमा के गर्ने भन्नेचाहिँ थिएन ।

हाम्रोमा विश्वासको अभाव हो कि जस्तो पनि देखिन्छ । नेता, पत्रकार र हुँदाहुँदा डाक्टरलाई पनि विश्वास नगर्ने अवस्था देखिन्छ । यो अविश्वासको वातावरणको सिकार पनि चिकित्सकहरू भएका हुन् ? 

– सबै क्षेत्रमा अविश्वास बढ्दो छ । जस्तै, अहिले पनि म लुगा किन्न जाँदा आमा छोरा ठगिन्छ कि भनेर चिन्ता गर्नुहुन्छ । पसलेले परल मोलमा सामान दिन्छ भनेर उहाँलाई विश्वासै छैन । समाचार छापिएपछि पत्रकारले के स्वार्थमा यो लेख्यो भनेर सोच्ने अवस्था छ । यो समस्या स्वास्थ्य क्षेत्रमा पनि देखिएको हो । तैपनि, अध्ययनहरूले देखाएअनुसार अहिले पनि स्वास्थ्यकर्मीलाई अन्य पेसाकर्मी र व्यवसायीभन्दा बढी विश्वास गरिन्छ । तर, हिंसाको जोखिम भएको क्षेत्र हुनाले थोरै मात्रै अविश्वासमा पनि हिंसाको खतरा हुन्छ ।

स्वास्थ्य क्षेत्रमा त्यस्ता के बेथिति छन्, जसका कारण यो क्षेत्रप्रति अविश्वास बढ्दो छ ?

हामी जहिल्यै ‘हाम्रो स्वास्थ्य क्षेत्रमा कमीकमजोरी छन् र त हिंसा हुन्छ’ भनेर हिंसाको औचित्य पुष्टि गर्न खोज्छौँ । कुनै पनि हालतमा हिंसालाई पुष्टि वा स्वीकार गर्न सकिँदैन । सबै क्षेत्रमा यो हुँदैन । जस्तो, पत्रकारितामा गलत समाचार प्रकाशन भयो भन्दैमा मानिस पिट्नै आइहाल्दैनन्, सञ्चारगृहमा धावा बोलिहाल्दैनन् । स्वास्थ्य क्षेत्रमा हिंसा हुनुको कारण अविश्वास हो भन्ने भनाइ पूरा सत्य होइन । यो सोच बदल्नुपर्छ, सँगसँगै समग्र स्वास्थ्य प्रणाली बदल्नु जरुरी छ । 

स्वास्थ्य क्षेत्रमा हुने यस्ता हिंसाका घटनाहरूको विश्वव्यापी अवस्था के छ ?

–अस्पताल भनेकै दुःख–अप्ठ्यारो परेपछि पुग्ने थलो हो । नेपालमा मात्रै होइन, दुनियाँका अधिकांश ठाउँमा अस्पतालमा हिंसा हुन्छ । हिंसा हुन्छ भनेर थाहा भएकैले प्रायः मुलुकमा कडा कानुन बनाइएका छन् । हामीकहाँ पनि प्रहरी वा अन्य यस्ता जोखिमयुक्त क्षेत्रका लागि विशेष कानुन छन् । जस्तो कि ड्युटीमा तैनाथ प्रहरीलाई कसैले हातपात गरे विशेष कानुनअन्तर्गत कारबाहीको व्यवस्था छ । प्रहरीलाई त्यहीअनुसार तालिम दिइएको हुन्छ । कतिपय मुलुकमा त आक्रमणको जोखिममा रहेको समूह भएकाले स्वास्थ्यकर्मीलाई पनि सुरक्षाको आधारभूत तालिमको व्यवस्था छ । स्वास्थ्यकर्मीमाथि हुने हिंसा विश्वमा जताततै भए पनि दक्षिण एसियाली मुलुकमा फरक प्रकृतिको छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष कानुन चाहिन्छ भनेर स्वास्थ्य र कानुन मन्त्रालयले राम्रोसँग बुझेका छन् । पटक–पटक आन्दोलन गरेर राम्रोसँग बुझाएका छौँ । हामीलाई अस्पतालमै आएर कुटपिट गर्दा प्रहरीचाहिँ ‘यो दुई पक्षको झडप हो, यही मिलाउनु उपयुक्त हुन्छ’ भनेर त्यतातिर केन्द्रित हुन्छ । अति सामान्य विवादका रूपमा लिने गरिएको छ । हालै ड्युटीका प्रहरीमाथि कुटपिट हुँदा गरिने कारबाही गर्ने भन्ने निर्णय भएको थियो । तर, त्यो कहीँ कार्यान्वयन भएको जानकारी छैन । म चरिकोटमा कार्यरत रहँदा भएका घटनाहरूमा सुरक्षा निकायले गम्भीरता महसुस गरेको कहिल्यै पाइनँ । 

हिंसाका लागि सञ्चारमाध्यमलाई पनि जिम्मेवार ठह¥याएर सामाजिक सञ्जालमा लेख्नुहुन्छ, सञ्चारकर्मीले के गल्ती गरे ? 

भैरहवाको एउटा उदाहरण छ । पेट दुखेर हिँड्दै आएको मान्छे मृत्यु भएपछि हुलदंगा भएको थियो । त्यतिवेला लापरवाहीको आरोप लगाउँदै तनाव भनेर समाचार प्रकाशन–प्रसारण भयो । तर, हिँड्दै आएका ती बिरामीलाई हृदयाघात भएको थियो । यसरी अपूर्ण समाचार आउँदा चिकित्सकप्रति अविश्वास बढाउँदै लगेको छ । अर्को त सबैतिर भ्रष्ट छन् भन्ने आमधारणा छ । त्यसैको प्रतिछाया अस्पताल मात्रै होइन, जहाँ पनि देखिन्छ । पटक–पटक सञ्चारकर्मीसँग संवाद पनि गरेको छु । सञ्चारमाध्यममा स्वास्थ्यसम्बन्धी समाचारको कभरेज एकदमै कमजोर देखिन्छ । यसै पनि नेपालीमा स्वास्थ्यसम्बन्धी बुझाइ कमजोर छ । जस्तो कि अस्पताल जानेबित्तिकै हेरिदिनुपर्ने बुझाइ छ । दुनियाँभर हेर्नुभयो भने कहीँ त १० घन्टासम्म पर्खिनुपर्ने (वेट आवर) हुन्छ । हाम्रो त धेरै अस्पतालमा दुई घन्टाभन्दा कम मात्रै ‘वेट आवर’ छ । सञ्चारमाध्यमले यस्ता अभ्यास सुसूचित नगर्दिंदा पनि विश्वासमा संकट पैदा गरेको छ ।