मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ६ बिहीबार
  • Wednesday, 18 December, 2024
बारी साउटम्यान/यान ह्यारोङ
२o७८ जेठ ६ बिहीबार o९:२४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीमा अल्पसंख्यक र उदार लोकतन्त्र 

Read Time : > 2 मिनेट
बारी साउटम्यान/यान ह्यारोङ
नयाँ पत्रिका
२o७८ जेठ ६ बिहीबार o९:२४:oo

उदार लोकतन्त्रले जातीय अल्पसंख्यकको हित गर्छ भन्ने पश्चिमको दाबी आधारहीन छ

चीनका जातीय अल्पसंख्यक समुदायका लागि यो महामारी मूलधारको पश्चिमी बहसले अपेक्षा गरेजस्तो कहर भएन । अमेरिकी गृह मन्त्रालयका एक पूर्वअधिकारीले शासन प्रणालीका कारण चीनलाई भाइरसको प्रकोपसँग जुझ्न उदार लोकतन्त्रहरूलाई जस्तो सजिलो नहुने दाबी गरेका थिए । सोहीबीच, बेलायतको एउटा अग्रणी जर्नलले चीनतर्फ संकेत गर्दै कोभिड–१९ जस्ता रोगहरू गैरलोकतन्त्रका लागि असाध्यै घातक हुन्छन् समेत भन्यो ।

कतिपयले यो महामारीको समयमा चीनको भन्दा भारतजस्ता मुलुकमा जातीय अल्पसंख्यक समूहको स्थिति राम्रो हुने ठानेका थिए, तर यथार्थ उल्टो भयो । अमेरिका, बेलायत र भारतजस्ता मुलुकका अल्पसंख्यक नै सबैभन्दा बढी यो महामारीको कहरमा परे । अमेरिकामा, एसियन अमेरिकीलाई छोड्ने हो भने श्वेत अमेरिकीको तुलनामा आदिवासी, अश्वेत, ल्याटिन अमेरिकीजस्ता अल्पसंख्यक समुदायमा कोभिड–१९ को मृत्युदर दोब्बर वा त्यसभन्दा पनि बढी रहेको छ । चीनमा भने कोभिड–१९ पीडितमा जातीय अल्पसंख्यकको संख्या एकदमै थोरै छ । जातीय आधारमा कोभिड–१९को पूरै तथ्यांक त अहिले उपलब्ध भइसकेको छैन, तर अहिले आँकडाहरूबाट अनुमान भने लगाउन सकिन्छ । चीनको हुवेई प्रान्तको संक्रमित संख्याले चीनको कुल संक्रमितको ६६ प्रतिशत ओगट्छ । 

कैयाैँले यो महामारीको समयमा चीनको भन्दा भारतजस्ता मुलुकका जातीय अल्पसंख्यक समूहको स्थिति राम्रो हुने ठानेका थिए, तर यथार्थ उल्टो भयो, अमेरिका, बेलायत र भारतजस्ता मुलुकका अल्पसंख्यकहरू नै सबैभन्दा बढी यो महामारीको कहरमा परे 

कोभिड–१९को उद्गम पनि यसै प्रान्तको राजधानी वुहानबाट भएको थियो । हुवेई प्रान्तमा जातीय अल्पसंख्यकहरू मुख्यतः इन्सीमा छन्, जहाँ संक्रमितको संख्या प्रति १० लाखमा ७४ मात्रै रह्यो । जुन यो प्रान्तकै न्यून संक्रमण दर हो । जबकि अमेरिकाको सबभन्दा ठूलो आदिवासी राज्य नाभाजोमा १८ मे २०२१ सम्ममा ३० हजार ७२२ जना भन्दा बढी संक्रमित र एक हजार २९३ भन्दा बढीको मृत्यु भएको छ । यो अन्यको तुलनामा अल्पसंख्यकमा संक्रमण १.७५ गुणा र मृत्युदर चार गुणाले बढी हो । जातीय अल्पसंख्यक वा आदिवासीहरूको यो स्थितिका लागि त्यहाँको गरिबी, स्वास्थ्य हेरचाह तथा स्वास्थ्य पूर्वाधारमा कमजोर लगानी, मुटुरोग, मधुमेह, मोटोपनको उच्च दर, शुद्ध पिउने पानीको अभावलगायतले काम गरेको छ । 

चीनको दक्षिण–पश्चिमस्थित स्वशासित क्षेत्र तिब्बतका बासिन्दा (जहाँको ३५ लाख जनसंख्यामा ९० प्रतिशत तिब्बती छन्) र नेपाल तथा भारतमा निर्वासनमा रहेका ८६ हजार तिब्बतीबीच तुलना गर्दा पनि महामारीमा अल्पसंख्यकको स्थिति प्रस्टिन्छ । गत ३ मेसम्ममा भारत, नेपाल र भुटानमा रहेका दुई हजार ५८४ निर्वासित तिब्बतीमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको थियो, जसमध्ये ५९ जनाको मृत्यु भएको थियो । १८ मेमा आइपुग्दा परिस्थिति थप खराब भएको छ । नेपाल, भारत र भुटानमा रहेका संक्रमित निर्वासित तिब्बतीको संख्या तीन हजार ५१० पुगेको छ भने ८८ को मृत्यु भएको छ । तर, स्वशासित क्षेत्र तिब्बतमा अहिलेसम्म एकजना मात्रै संक्रमितको केस भेट्टाइएको छ भने कसैको पनि मृत्यु भएको छैन । यी तथ्यांकलाई हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक डाक्टर विलियम हासेलटाइनले पनि पुष्टि गरेका छन् ।

छोटोमा, चीनका तिब्बती जातीय समुदाय यो महामारीबाट भारतका तिब्बती समुदायभन्दा कति हो कति सुरक्षित छन् । क्विन्सल्यान्ड विश्वविद्यालयका भाइरोलोजिस्ट इयान म्याके वुहानको लकडाउनले भाइरसलाई प्रभावकारी रूपले नामेट पारेर अन्य भागमा प्रकोप फैलन नदिएको ठान्छन् । चीनका तिब्बती र भारतमा निर्वासनमा रहेका तिब्बतीबीचको यो भिन्नता भएको भारतमा पर्याप्त स्वास्थ्य हेरचाहको अभाव भएकाले होइन । तिनले पश्चिमी संस्था तथा भारत सरकारबाट तिब्बत रिहाबिलेसन नीतिअन्तर्गत पर्याप्त सहयोग र कोष नपाएकाले हो । अमेरिकी सरकारले निर्वासित तिब्बतीका लागि बर्सेनि ९० लाख डलर र अमेरिकी कंग्रेसले दुई करोड ३० लाख डलर छुट्याउने गरेको छ ।

चीनमा रहेका तिब्बतीको तुलनामा भारत निर्वासित तिब्बती यो महामारीबाट धेरै प्रभावित हुनुमा भारत सरकारको केन्द्रीय एवं स्थानीयस्तरका नीतिगत कमजोरी बढी जिम्मेवार छन् । यो तुलनाले पश्चिमी विमर्शमा रहेको उदार लोकतान्त्रिक राजनीतिक प्रणालीहरू चीनको प्रणालीभन्दा उत्कृष्ट छन् भन्ने दलिललाई खारेज गर्छ । साथै, बहुपार्टी प्रणाली भएका स्थानमा जातीय अल्पसंख्यकहरूको स्थिति राम्रो हुन्छ भन्ने दाबीलाई पनि खारेज गर्छ । 

(साउटम्यान हङकङ विश्वविद्यालयका विज्ञान तथा प्रविधिका भिजिटिङ प्रोफेसर र ह्यारोङ हङकङ पोलिटेक्निक विश्वविद्यालयकी सहप्राध्यापक हुन्)
ग्लोबल टाइम्सबाट