मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Wednesday, 18 December, 2024
डा. चन्द्र भण्डारी
२o७८ जेठ ५ बुधबार o९:२९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

परीक्षाको घडीमा हराएको नेतृत्व

अग्रलेख

Read Time : > 5 मिनेट
डा. चन्द्र भण्डारी
नयाँ पत्रिका
२o७८ जेठ ५ बुधबार o९:२९:oo

जनतालाई आडभरोसा दिलाउँदै साथमा उभिनुपर्ने राजनीतिक नेतृत्व संकटको समयमा कहीँ देखिएन, गायब भयो 

आज हाम्रो देश नेपाल र हामी नेपाली मात्र हैन, विश्व मानव समुदायले नै अत्यन्त ठूलो चुनौतीको सामना गरिरहेको छ । विज्ञान र प्रविधिको उत्कर्षले भौतिक विकासका साथमा मानवको भविष्यमाथि पनि चुनौती थपेको छ । बायोटेकको चरम विकास र रासायनिक पदार्थ प्रयोग गरिएका तरकारी, फलफूल जंकफुडलगायत असन्तुलित खानाले मानव स्वयं कमजोर र हाइब्रिड बनिरहेको छ । यसले मानवमा दीर्घकालीन समस्यालाई आमन्त्रण गरिरहेको छ । साथै, यसले मानसिक विकासमा समेत नकारात्मक प्रभाव पारेको छ । यसरी चौतर्फी रेडिएसनले घेरिएको समयमा कोभिड– १९ को महामारीको आक्रमणले मानव समाजलाई नै थला पार्दै लगेको छ । कोभिड– १९ को महामारी झेल्न मानवसमाज पूर्णतः तयार भइनसकेको अवस्थामा आएको यो विपत्तिले मान्छेका यावत् विज्ञान, प्रविधि, बुद्धि र विवेकमाथि समेत गम्भीर प्रश्न खडा गरिदिएको छ । यसले संसारभर मानवीय क्षति मात्र गरेको छैन, आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परावादी व्यवस्थालाई समेत जरैदेखि हल्लाइदिएको छ । 

कोभिड–१९ को पहिलो लहरलाई बडो मुस्किलले पार लगाएर सामान्य अवस्थामा फर्कंदै गरेको विश्वमा भारत, नेपालजस्ता देश दोस्रो लहरले उठ्नै नसक्ने गरी थला पर्दै गइरहेका छन् । यतिखेर हाम्रा ठूला र तुलनात्मक सुविधासम्पन्न सहरदेखि विकास निर्माण र सुविधामा पछि परेका दूरदराजका ससाना गाउँबस्तीसम्म कोभिड–१९ को दोस्रो लहर सम्हाल्न नसक्ने गरी फैलिएको छ । जनतामा एक किसिमको कोलाहल व्याप्त छ । घर, परिवारदेखि सडकसम्म त्यस्तो कोलाहल जताततै देखिन्छ, सुनिन्छ । अस्पतालको शड्ढयामा जीवनको आसमा छटपटाइरहेका, चिकित्सकहरूसित जीवनको भिख मागिरहेका भोकानांगा जनता सामान्य अक्सिजन र औषधिसम्म नपाएर तड्पीतड्पी प्राण त्याग्न विवश भइरहेका छन् । यस्तो कोलाहलपूर्ण अवस्थामा हामीसित न कोरोनाको लक्षण देखिएकालाई राख्ने सुरक्षित आइसोलेसन सेन्टरहरू छन् न त तिनलाई उपचार दिन सक्ने अस्पताल र बेड नै छन् । न हामीसित पर्याप्त अक्सिजन छ, न त अत्यावश्यक औषधि नै छ । न हामीसित कोरोना संक्रमणका कारण गम्भीर बनेका बिरामीको जीवनरक्षाका लागि आवश्यक पर्ने आइसियू नै पर्याप्त छन् न त भेन्टिलेटर नै छन् । भएका उपकरण चलाउने दक्ष प्राविधिकदेखि स्वास्थ्यकर्मीको समेत चरम अभाव देखिँदै छ । अस्पतालहरूमा पिसिआर परीक्षण गर्ने किटको समेत अभाव भइरहेका समाचार हामीले पढ्दै आएका छौँ ।

हरेक बिहान उठेपछि समाचारपत्रहरू हातमा लिँदै गर्दा मुटु थर्र काँप्छ । राज्यले हरेक दिन कोरोनाबाट मृत्यु हुने नागरिकको शव गनेर आफ्नो दायित्व पूरा गरिरहेको छ । एम्बुलेन्स, अक्सिजन, बेड, आइसियू या भेन्टिलेटर नपाएर यतिको मृत्यु भयो, दैनिक यति संक्रमित थपिए, अक्सिजन नपाएर अस्पतालमा कोलाहल, अक्सिजनका लागि चिकित्सकहरूको हारगुहारजस्ता शीर्षकमा छापिएका समाचार पढ्नुपर्दा कसको पो मन नपोल्ला र ? मानिसहरू आफन्तलाई बचाउने आसमा अक्सिजन प्लान्टसम्मै सिलिन्डर बोकेर दौडिरहेका छन् । अस्पतालमा बेड नपाएर बिरामीलाई एम्बुलेन्सबाट झार्न नपाउँदै मृत्यु भइरहेको छ । एकातिर संक्रमितले उपचार पाइरहेका छैनन्, उपचार अभावमै उनीहरूले ज्यान गुमाइरहेका छन् भने अर्कातिर दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने मजदुरहरूको चुलो बल्न छाडेको छ । उनीहरू भोककै कारण कोरोनाको पहिलो लहरमै ज्यान गुमाएका सूर्यबहादुरकै नियति दोहोरिने हो कि भन्ने त्रासमा भोको पेट लिएर जसोतसो बाँचिरहेका छन् । 

यतिखेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालमा कोरोना महामारी संसारमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको, उपचार व्यवस्था निकै कमजोर रहेको, अत्यावश्यक साधन र स्रोतको अभाव भएको देशका रूपमा चित्रण गरेर समाचारहरू प्रकाशन, प्रसारण गरिरहेका छन् । यस्तो कहालीलाग्दो अवस्थामा आमजनतालाई ढाडस दिन र उनीहरूमा आत्मबल जगाउन हाम्रो नेतृत्वले के गर्नुपथ्र्यो ? उसले के गर्न सक्थ्यो ? उसले आफूसित भएका साधन–स्रोतको कसरी समुचित प्रयोग गर्न सक्थ्यो ? यस्ता प्रश्न सर्वत्र उठिरहेका छन् । हाम्रो नेतृत्व आफूसित भएका साधन–स्रोतको उपयुक्त परिचालन गर्नबाट पूर्णतः चुक्यो । त्यति मात्र होइन, अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने र जनतालाई यो महामारीको समयमा हामी तिमीहरूको साथमै छौँ भन्ने अभिभावकत्व प्रदर्शन गर्नबाट समेत हाम्रो नेतृत्व पूर्णतः चुक्यो । या भनौँ संकटको समयमा जनतालाई आडभरोसा दिलाउँदै साथमा उभिनुपर्ने राजनीतिक नेतृत्व कहीँ देखिएन, गायब भयो । औषधि, स्वास्थ्य उपकरण र खोप ल्याउने विषयमा समेत हाम्रो नेतृत्व कमिसन र कमिसनखोरको जालोमा नराम्ररी फस्यो । अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि राखिएका औषधिदेखि खोपसम्म जनताले समयमा पाउन सकेका छैनन् ।

कोरोनालाई परास्त गरेर जनतालाई बचाउन एकजुट भएर खट्नुपर्ने हाम्रो राजनीतिक नेतृत्व यो संकटको घडीमा पनि जनता बचाउन छाडेर कुर्सी बचाउने र पाउने दौडधुपमा लागेको छ 

अन्तर्राष्ट्रिय जगत्मा त्यहाँको नेतृत्वको सुझबुझ र कुशल नेतृत्वका कारण महामारीमा पनि जनता सुरक्षित छन् । हाम्रा लागि हाम्रो सरकार, राज्य र नेतृत्व छ भन्नेमा त्यहाँका जनता ढुक्क छन् । तर, यहाँ भएका अस्पतालहरू यो वा त्यो बहानामा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । बनिसकेका अस्पताल भवन खाली छन्, बिरामी सडकको पेटीमा उपचारको प्रतीक्षामा टिठलाग्दो अनुहार लिएर अस्पतालतिर हेरिरहेका छन् । कोरोनालाई परास्त गरेर जनतालाई बचाउन एकजुट भएर खट्नुपर्ने हाम्रो राजनीतिक नेतृत्व यो संकटको घडीमा पनि जनता बचाउन छाडेर कुर्सी बचाउने र पाउने दौडधुपमा लागेको छ । आफूहरू जीवन–मरणको दोसाँधमा संघर्षरत रहेको अवस्थामा पनि सत्ता र कुर्सीको रत्यौलीमा लागिरहेका दल र नेतृत्वप्रति जनताले के मनले भोलिका दिनमा विश्वास गर्ने ? जनतालाई प्रश्नैप्रश्न उठाउने ठाउँ नेताहरूले दिएका छन् ।

सरकारको त जता हेर्‍यो त्यतै कमी–कमजोरी देखिए । सरकार कामभन्दा बढी प्रचारमुखी देखियो । झन्डै दुईतिहाइको शक्तिसहित सत्तामा पुगेको सत्तापक्ष आन्तरिक झगडाले गर्दा विश्वासको मत लिनसमेत असफल हुने अवस्थामा पुग्यो । दुईतिहाइको नेतृत्व गरेका प्रधानमन्त्री घुम्दैफिर्दै अल्पमतको सरकार चलाउने अवस्थामा पुगे । सत्तारुढ दलको घरझगडाले गर्दा देश र जनता अप्ठ्यारोमा परे । जनताले आफ्नो पीडामा साथ दिने अभिभावक पाएनन् । सत्तापक्ष गैरजिम्मेवार बनेको अवस्थामा हामीले अपनाइरहेको संसदीय व्यवस्थामा प्रतिपक्षी दलको भूमिका महŒवपूर्ण हुन्छ, तर त्यसको प्रयोग संसद्बाट हुने गर्छ । तर, नेपालमा विश्वप्रसिद्ध र बहुसंख्यक देश र जनताले रुचाएको संसदीय व्यवस्था सञ्चालन गर्न नेपालका राजनीतिक पार्टीहरू सक्षम र साँच्चिकै पार्टीजस्ता बन्न सकेनन् । नेताहरूमा संसदीय व्यवस्थाको गुण, धर्म र मूल मर्म नै देखिएन । समय र घटनाअनुसार के गर्ने र के बोल्ने भन्ने प्राथमिकता नै निर्धारण हुन सकेन । संघीय संसद् हुँदै प्रदेशसम्मकै संसदीय संस्कार कामकाजी र सर्वसाधारणको पहुँचमुखी भएनन् । त्यसैले भुइँफुट्टा र आरोपितहरूको ताज बढ्दो छ । सरकारले जनता र राष्ट्रको आवाजको प्रतिनिधित्व गर्ने संस्था व्यवस्थापिका संसद् चलाउन नसक्दा प्रतिपक्षी दल कमजोर हुँदोरहेछ । महामारीको समयमा प्रतिपक्षी दलले चर्को स्वरले भूमिका खेल्न नसकेको कुरा स्वीकार गर्नुपर्छ । राजनीतिशास्त्र र नेतृत्वको परिभाषाअनुसार नेपालको राजनीति क्षेत्र मात्र होइन, सबै क्षेत्रको नेतृत्व असफल र अक्षम देखियो ।

यो संकटबाट हामी जसरी भए पनि पार हुनु छ । संकटको यस घडीमा हामीले पहिलो प्राथमिकतामा जनतालाई नै राख्नुपर्छ । यो त्रासको अवस्थाबाट उम्किन र कोरोनाको आक्रमणबाट जनताको जीउधनको सुरक्षाका लागि सबै एकजुट हुनैपर्छ । यसका लागि सरकार, राजनीतिक दल, नेता, तिनका कार्यकर्ता, स्थायी सरकार मानिने कर्मचारीतन्त्र, संवैधानिक निकाय उद्योग व्यवसायी सामाजिक संघ–संस्थालगायत सबैले व्यक्तिगत लाभ, स्वार्थ र राजनीतिभन्दा माथि उठेर जनताको सेवामा जुट्न सक्नुपर्छ । अन्य देशमा राजनीतिक नेतृत्व असफल हुँदा, राजनीतिक नेतृत्व भ्रष्ट हुँदा त्यहाँको कर्मचारीतन्त्र, संवैधानिक निकाय र न्यायालयले जनताको पक्षमा ठुल्ठूला र दूरगामी निर्णय लिने गरेका उदाहरण पाइन्छन् । छिमेकी भारतमै पनि यस्ता धेरै उदाहरण देखिन्छन् । तर, हामीकहाँ भने कर्मचारीतन्त्र, संवैधानिक निकाय र न्यायालयले समेत समय र आवश्यकताअनुसार काम गर्न सकेनन् । उनीहरूलाई नेपाली समाजले प्रश्न मात्र गरेको छैन, गम्भीर आरोप पनि लगाइरहेको छ ।

सरकारलाई नमागेको सुझाब 

१. ट्याक्सी, निजी या सरकारी सवारीसाधनका चालकलाई भ्याक्सिन र पिपिएको व्यवस्था गरी तिनका साधनलाई संक्रमितको सेवामा परिचालन गराउने । 

२. अक्सिजनसहितका अस्थायी अस्पतालको व्यवस्था गर्ने ।

३. खोप, औषधि र स्वास्थ्य उपकरण सरकार आफैँले किनेर ल्याउने ।

४. डाक्टर पढ्दै गरेका विद्यार्थी इन्टर्नसिपमा छन् । उनीहरूलाई स्वतः स्थायी हुने गरी आवश्यक क्षेत्रमा सुरक्षित हुने गरी पठाउने । साथै, रिटायर्ड डाक्टरहरूलाई पनि सम्मानपूर्वक सरकारले सेवाका लागि अनुरोध गर्ने ।

५. समस्यामा सम्पर्क गर्नका लागि सयौँ सम्पर्क बुथको व्यवस्था गर्ने ।

६. राज्यका सबै निकायलाई अधिकतम उपयोग गर्ने ।

७. सबै संघ–संस्थालाई जनतालाई आवश्यक सहयोग पु¥याउन अनुरोध गर्ने ।

८. संकटको समयलाई दुरुपयोग गर्दै कमिसन र भ्रष्टाचारमा लाग्नेलाई तुरुन्त कारबाही सुरु गर्ने ।

९. स्थानीय तहको बजेटलाई स्वास्थ्यक्षेत्रमा एकीकृत गरी खर्च गर्ने । 

केही घटना मानिसको चेत खुलाउने प्रकृतिका हुन्छन्, जसले उनीहरूको जीवनमा आमूल परिवर्तन ल्याइदिन्छ । जस्तै– सिद्धार्थ गौतम बुद्ध बन्नु, रत्नाकर डाकु महर्षि वाल्मीकि बन्नु, हिंसाप्रेमी अशोक बुद्धमार्गी बन्नु आदि । यसैगरी यो कोरोनाले पनि हाम्रो नेतृत्वलाई जगाएर देश र जनताप्रति उत्तरदायी बनाइदिए हुन्थ्यो । एकमुट्ठी श्वासको कति महत्व छ र जीवन कति क्षणभंगुुर छ ! तैपनि, हाम्रो नेतृत्व ब्रह्मलुटमा लागेको छ । हे कोरोना ! यिनलाई सिकाइदे, हाम्रा मान्छेहरू बाँचे मात्र हामी बाँच्ने हो । लासको थुप्रोमाथि बस्नु राजगद्दीमा बस्नु होइन । 

इतिहासले सिकाएको पाठ र यथार्थ के हो भने ठुल्ठूला जनसहभागितामा आन्दोलन गरिन्छ र सफल बनाइन्छ । कैयन् सहिदको सहादतको जगमा सफल भएका राजनीतिक उपलब्धि कोठा, बैठक, कचहरी हुँदै व्यक्तिमा पुग्छ त्यसैलाई नेपालमा प्रजातन्त्र मानिन्छ । हाम्रो नेतृत्वले जहिल्यै राजनीतिलाई प्राथमिकता दिइरह्यो, जनताको जीउधनलाई महŒव दिन आवश्यक नै ठानेन । हाम्रो राजनीति राजनीतिशास्त्रसित जोडिन सकेन । हाम्रो राजनीतिक नेतृत्व राजनीतिक परिभाषासित जोडिन सकेन । हाम्रो कर्मचारीतन्त्र आफ्नो दायित्व र इमानसित जोडिन सकेन । स्थानीय तहदेखि प्रदेश हुँदै संघसम्मको राजनीतिक नेतृत्व पनि राजनीतिक दाउपेचकै सेरोफेरोमा घुमिरहे । जसले गर्दा जनताका पीडा र समस्या ओझेलमा परिरहे । जनता सामान्य अक्सिजन र औषधि नपाएर मरिरहे, नेतृत्व राजनीतिक लडाइँमा जुधिरह्यो । 

यस्तोमा अब आफैँ गरौँ कसले के गर्दै छ, के भन्दै छ, कुन पार्टीले के गर्दै छ, त्यो सब छोडिदिनुस्, जुन हाम्रो हातमा छैन । हामी अरूभन्दा फरक हुनुपर्छ । अहिलेको समयमा हाम्रो पहिलो काम जनतालाई कसरी सुरक्षित गर्ने र बिरामीलाई कसरी बचाउने भन्ने नै हो । जतिवेलासम्म हामी ढल्दैनौँ, लागिराखौँ । अब मनन गरौँ । विगतमा कमी–कमजोरी भए, अब गर्दैनौँ । लोभको भाँडो कहिल्यै भरिँदैन । 

(डा. भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन्)