१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद भण्डारीलाई २ बजे मुम्बई लगिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार १३:२१:००

सांसद डा. चन्द्र भण्डारीलाई दिउँसो २ बजे भारतको मुम्बई लगिँदै छ । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ । 

उपचारमा संलग्न चिकित्सकहरूको आग्रहमा सरकारले उनलाई मुम्बईको जेनरल बर्न हस्पिटलमा थप उपचारका लागि लैजान लागिएको हो । 

उनलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

उपचारका लागि भारत लैजानुपर्ने चिकित्सकले बताएपछि सांसद भण्डारीले अस्वीकार गर्दै नेपालमै उपचार गराउने चाहना व्यक्त गरेका थिए । 

चिकित्सकहरूको आग्रह, स्वास्थ्यमन्त्री गिरीलगायत उनलाई भेट्न गएका सबै नेताले नेपालमै उपचार गराउने जिद्दी नगर्न जोड दिएपछि उनी भारत जान तयार भएका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवालगायत पार्टीका पदाधिकारी, सरकारका मन्त्रीहरू र परिवारका सदस्यहरूलाई भण्डारीले उपचारका लागि बाहिर जाने इच्छा नरहेको भन्दै यहीँ उपचारको चाहना व्यक्त गरेका थिए । 

चिकित्सकको सुझावपछि परिवारका सदस्यहरूले भने थप उपचारका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका थिए । त्यसैअनुसार सरकारको व्यवस्थापनमा केहीबेरपछि उनलाई भारत लैजान लागिएको हो । 

कीर्तिपुर अस्पतालले आज बिहान विज्ञप्ति जारी गरी सांसद भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुन सक्ने अत्यधिक सम्भावना रहेकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा छिटो लगेर उपचार गराउन आवश्यक रहेको जनाएको थियो । 

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएको बताएका थिए ।