
पार्टी एकतामा देखिएको समस्या समाधानका लागि गठित एमालेको कार्यदलले पार्टी एकतामा असहयोग पुग्ने सबै प्रकारका गतिविधि तत्काल बन्द गर्न नेता–कार्यकर्ता पंक्तिलाई आग्रह गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकले त्यस्तो निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ‘कार्यदलले पार्टीको समस्या समाधान गर्न काम सुरु गरिसकेको परिप्रेक्ष्यमा सबै नेता–कार्यकर्ताले यसलाई सकारात्मक निष्कर्षमा पु¥याउन योगदान गर्ने, असहयोगका कुनै पनि गतिविधि नगर्ने र समस्या समाधानका लागि सबैले सकारात्मक सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको छ,’ ज्ञवालीले सञ्चारकर्मीहरूसँग भने ।
बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरेर लागू गर्ने निर्णय गरेको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए । पार्टी एकतामा देखिएको समस्या समाधानका लागि आइतबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १० सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो ।
कार्यदलमा ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेपालका तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।