अदृश्य भाइरसविरुद्धको लडाइँ मिलेरै जित्नुपर्छ, त्यसैले जुटेर सहयोगी हातहरू फैलाऔँ र कोरोनालाई परास्त गरौँ
नेपालको स्वास्थ्य सेवाका संरचनाहरू, राज्यले स्वास्थ्य क्षेत्रमा गर्दै आएको लगानी, राज्यको क्षमता र कार्य तत्परतालगायत सबैको योगले केही दिनयता मुलुक एउटा मृत्यु कारखानामा परिणत भएको जस्तो देखिन्छ । अस्पताल, घर, पूर्व र पश्चिम जताततैबाट मृत्युका समाचार आउँछन् र मानिसलाई तर्साएर जान्छन् । सबै समाचारका केही पक्ष मिल्दाजुल्दा हुन्छन् । अक्सिजन नपाएर मानिसलाई समयमै उपचार गर्न नसकिएकाले ज्यान गएको । अस्पतालहरूमा शय्याको नितान्त अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिएको, भएका अस्पताल, आइसियू, भेन्टिलेटर र चिकित्साकर्मीको उपयोग व्यवस्थापन गर्न नसकेर मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । यो अहिलेको एउटा चीत्कार हो । एक सातायता विश्वभरका समाचार संस्थामा नेपालको यही चित्र छाएको छ । अहिले संक्रमण दरमा नेपाललाई भियतनामले उछिनेर पहिलो भएको भए पनि मृत्युदर भने नेपालकै उच्च रहेको छ ।
शुक्रबार मात्र दुई सयभन्दा बढीको मृत्यु भएको छ । यस्तो अवस्थासित जुध्ने तीनवटा उपाय हुन्छन् । पहिलो सरकार आफैँले आफ्नो क्षमताको उच्च प्रयोग गर्ने र खासगरी व्यवस्थापकीय क्षेत्रमा उच्च दक्षताको प्रयोग गर्ने । तर, सरकार अलमलमा छ भन्ने कुरा अक्सिजनको व्यवस्थापनमा सिसिएमसीले हस्तक्षेप गरेको र थप अस्तव्यस्त बनेपछि चार दिनमै स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी फर्काएको घटनाले पुष्टि गर्छ । सञ्चार माध्यममा आइरहेका दृश्यहरू र प्रधानमन्त्रीको दाबीबीच कतै तालमेल नदेखिनुले सरकार अक्षम मात्र होइन, परिस्थिति नियन्त्रणमा ल्याउनसमेत गम्भीर छैन भन्ने सन्देश गएको छ । यस्तो वेलामा दोस्रो भूमिका समुदायको हुन्छ । अहिले स्थानीय पालिकाहरू, प्रदेश सरकारहरू तथा अस्पताल व्यवस्थापन समितिहरू यस मामिलामा अलि बढी प्रभावकारी देखिएका छन् । पछिल्लो समय सबैभन्दा बढी प्रभावित मानिएको नेपालगन्जमा त्यहाँका मेयर र जनप्रतिनिधिले खेलेको भूमिका प्रशंसित भइरहेको छ ।
अरू स्थानीय तहमा पनि धेरैजसोले आफ्नो क्षेत्रभित्र प्रभावकारी रूपमा काम गर्ने पहल गरिरहेका देखिन्छन् । स्वयंसेवी पंक्तिले पनि विभिन्न रूपमा यस्तो काममा सहयोग गरिरहेका देखिन्छन् । तेस्रो पक्ष निजी क्षेत्र हो । यहाँ निजी क्षेत्रको अर्थ उद्योग, व्यापार, व्यवसाय या अरू माध्यमबाट धन आर्जन गरेका र आफ्नो जिम्मेवारी बुझेका मानिस र संस्थाहरूको कुरा हो, जसले आपत्कालमा आर्थिक तथा भौतिक सहयोगका माध्यमबाट योगदान दिन सक्छन् । पछिल्लो समय यो पंक्तिले पनि संस्थागत र व्यक्तिगत रूपमा समेत सहयोगका हात बढाउन थालेको छ । जावलाखेल ग्रुपका विजय शाह, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पोखराका व्यवसायी नारायण पौडेल, उद्योग वाणिज्य महासंघ आफैँ पनि अघि सरेर आर्थिक र भौतिक सहयोग गर्ने, अक्सिजन प्लान्ट बनाउन बजेट उपलब्ध गराउने, उपचार केन्द्रहरू स्थापना गर्ने आदि गरिरहेका छन् । कतिपय निजी अस्पतालले पनि आफूले सकेको उपचार सेवा दिन प्रयास गरिरहेका छन् । यो आफैँमा एउटा सकारात्मक र आशालाग्दो खबर हो ।
विश्वका विभिन्न सञ्चार माध्यमले नेपालको अवस्थाबारे समाचार दिन थालेपछि बेलायत, संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्डजस्ता देश नेपाललाई सहयोग गर्न तम्सिएका छन् । चीन र भारतले त विभिन्न ढंगले सहयोग गर्दै आएका छन् । भारतले १० लाख मात्रा खोप प्रदान गर्यो । चीनले आठ लाख मात्रा खोप र अरू करोडौँ मूल्यका स्वास्थ्य उपकरण सहयोग गरेको छ । सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी, सफाइ मजदुरलगायतले रातदिन गरिरहेको सेवाका समाचारले सबैमा आशा जगाउन सहयोग गर्छन् । एकजना पनि असुरक्षित रहुन्जेल कोही पनि सुरक्षित रहँदैन । यो अदृश्य भाइरसविरुद्धको लडाइँ सबैले मिलेरै जित्नुपर्छ, त्यसैले जुटेर सहयोगी हातहरू फैलाऔँ र कोरोनालाई परास्त गरौँ ।