मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २ आइतबार ०९:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनुदानमा खोप, अक्सिजन र स्वास्थ्य सामग्रीका लागि पहल गर्न राजदूतहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २ आइतबार ०९:३६:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप, अक्सिजन, औषधी तथा स्वास्थ्य सामग्री नेपालमा ल्याउन सक्रिय भूमिका निर्वाह गर्न राजदूतहरूलाई निर्देशन दिएका छन् । मन्त्री ज्ञवालीले शनिबार चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनीलगायत ११ मुलुकका लागि नेपाली राजदूतसँग शनिवार भएको भर्चुअल बैठक गरेका हुन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले खोप, अक्सिजन सिलन्डिर तथा अन्य स्वास्थ्य उपकरण अनुदानमा प्राप्त गर्ने प्रयासका लागि  द्धिपक्षीय तथा बहुपक्षीय तहमा छलफल गर्न भनेका छन् । विभिन्न मुलुकका मानवीय संस्थाहरू, निजि क्षेत्र तथा नेपाली समुदायसँग थप समन्वय गर्न पनि राजदुतहरूलाई निर्देशन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा परराष्ट्रसचिव भरतराज पौड्याल, अमेरिकका लागि राजदूत युवराज खतिवडा, चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डे, बेलायतका लागि राजदुत लोकदर्शन रेग्मी, जापानका लागि राजदूत प्रतिभा राणा, क्यानाडाका लागि राजदूत भृगु ढुंगाना, युएईका लागि राजदुत कृष्णप्रसाद ढकाल, बेल्जियमका लागि राजदुत गेहेन्द्र राजभण्डारी, फ्रान्सका लागि राजदुत दिपक अधिकारी, जर्मनीका लागि राजदूत रामकाजी खड्का, साउदी अरबका राजदूत महेन्द्र सिंह राजपूत, कतारका लागि राजदुत नारदमुनि वाग्ले, कुवेतका लागि राजदुत दुर्गाप्रसाद भण्डारी, स्वीटजरल्याण्डका लागि राजदूत मणि भट्टराई लगायत थिए । चीनका लागि राजदूत पाण्डे, अमेरिकका लागि राजदुत खतिवडा तथा बेलायतका लागि राजदुत रेगमीले खोप सहायताका लागि भइरहेको प्रयासबारे जानकारी दिएका थिए । 

ओमानबाट आइपुग्यो अक्सिजन सिलन्डिर
मध्यपूर्वको ओमानबाट गैर आबासीय नेपालीहरूको पहलमा संकलित पाँच सय ६० सिलिन्डर शनिवार काठमाडौं आइपुगेको छ । नेपाल सरकारको ढुवानी खर्चमा नेपाल बायु सेवा निगमको चार्टर जहाजले शनिवार अक्सिजन सिलिन्डर ल्याइपुर्‍याएको हो । 

अक्सिजन सिलन्डिर करिब ७५ लाख रुपियाँ बराबरको रहेको छ । गैरआवासिय नेपाली संघले विज्ञप्ति जारी गरि विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरूसँग थप सहायताका लागि सहकार्य गरिरहेको जनाएको छ । नेपाल ल्याइएका अक्सिजन सिलिन्डर आइतवार नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।