१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३० बिहीबार १५:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई भेटेपछि आफूपक्षीय सांसदसँग छलफलमा महन्थ र राजेन्द्र : सबै अप्सनमा कुरा भइरहेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३० बिहीबार १५:४१:००

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विकल्पमा छलफल सुरु गरेको छ । नयाँ सरकार गठनका लागि दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमा सकिनै लाग्दा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् । 

देउवाले त्यस विषयमा पनि सोच्न सकिने भनेपछि अहिले ठाकुर र महतो आफूपक्षीय सांसदहरूसहित छलफलमा जुटेका छन् । छलफलमा सबै विषयमा कुराकानी भइरहेको वरिष्ठ नेता महतोले नयाँ पत्रिकालाई जानकारी दिए । ‘विभिन्न अप्सनहरू आएका छन् । अरूलाई समर्थन गर्ने भन्ने मात्रै होइन, हामीले भन्ने गरेको हाम्रै नेतृत्वमा समेत सरकार गठन हुने विकल्पमा पनि छलफल चलिरहेको छ,’ वरिष्ठ नेता महतोले भने, ‘अहिले हामी अरूसँगको भेटघाट सकेर आन्तरिक छलफलमा जुटेका छौँ । केही घन्टा बाँकी छ, अहिले नै निष्कर्ष के निस्किन्छ भन्न सकिन्न ।’

उनले आफूले मात्रै चाहेर नहुने भएकाले सबैको छलफलले दिने निष्कर्ष नै अन्तिम हुने भन्दै सबै विकल्पमा छलफल भइरहेको बताए ।

संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले तोकेको समयसीमा सकिन केही घन्टा मात्रै बाँकी रहँदा मुलुकको राजनीतिक वातावरण तातेको छ । बिहानैदेखि सत्तासमीकरणका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफलहरू चलिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भनेपछि माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले साथ दिने बताएको छ । त्यतिले मात्रै संसद्को अंकगणित नपुग्ने भएपछि जसपाकै महन्थ–राजेन्द्र पक्ष र एमालेको असन्तुष्ट पक्ष झलनाथ खनाल तथा माधव नेपाल पक्षलाई सहयोग गर्न देउवाले आग्रह गरेका छन् । त्यसमा सहमति जुट्न सकेको छैन । 

अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल चलिरहेको छ । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच पनि छलफल चलिरहेको छ । यसपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । जसपाको महन्थ–राजेन्द्र पक्षको छलफल पनि जारी नै छ ।