जिल्ला प्रहरी कार्यालय गोरखाले संकलन गरेको ७८ थान अक्सिजन सिलिन्डर अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला सदरमुकामका विभिन्न ग्यारेज, आयोजनाहरू, ग्रिल उद्योग, क्रसर तथा विभिन्न निकाय तथा उपभोगताहरूबाट हालसम्म ७८ थान अक्सिजन सिलिन्डर संकलन गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
संकलन भएकामध्ये ४० वटा गोरखा अस्पताल, १५ वटा आइसाेलेसन सेन्टरका लागि गोरखा नगरपालिका र ६ थान आइसाेलेसन सेन्टरका लागि आरुघाट गाउँपालिकालाई दिइएको उनले जानकारी दिए । बाँकी सिलिन्डर स्थानीय तहले सञ्चालन गर्ने आइसोलेसन सेन्टरलाई उपलब्ध गराउने उनले जानकारी दिए ।
जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमित बिरामीहरूको संख्या दिनप्रतिदिन बढेसँगै संक्रमितको उपचारका लागि अक्सिजन अति आवश्यक हुने भएकाले यसको आपूर्ति व्यवस्थापनमा असर पर्न नदिन गत सोमबार जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले खाली सिलिन्डर प्रहरीलाई बुझाउन आग्रह गरेको थियो ।
सोही निर्णयअनुसार कोरोना संक्रमितहरूका लागि अक्सिजन अभाव हुन नदिन उपचारबाहेकका अन्य क्षेत्रमा प्रयोजन भएको अक्सिजन सिलिन्डर प्रहरीले संकलन गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले सिलिन्डरको माग र संकलन गर्ने अभियान जारी रहेकाले अन्य प्रयोजनका लागि प्रयोग भइरहेका अक्सिजन ग्यास सिलिन्डरहरू प्रहरीमार्फत जिल्ला अस्पताल गोरखामा उपलब्ध गराउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।