दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ । मन्दिरको शिलामा शनिबार मध्याह्नकाे १२ :१५ बजे लगातार पसिना आइरहेको हो । मन्दिरका पुजारी कासीनारायण श्रेष्ठका अनुसार मध्याह्नकाे १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।
शिलाको दाहिनेपट्टिको शिरमा पसिना आउदा प्रजा अर्थात् जनतालाई अनिष्ट हुने किंवदन्ती रहेको स्थानीय भरत नारायण प्रधान बताउँछन् । उनका अनुसार केही बेरपछि पुनः बीचभागबाट पसिना आएकाले राज्य र नागरिक दुवैलाई उत्तिकै अनिष्टको संकेत हुन सक्ने अनुमान छ ।
यसअघि मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । जसको असरका रूपमा तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पाटीभित्र भएको फुटलाई आधार मानिएको स्थानीय बताउँछन् । कोरोना महामारीको समयमा मन्दिरको शिलामा पसिना आएपछि मन्दिरआसपासका स्थानीयहरू जम्मा भएर पूजा आराधना गरिरहेका छन् । मन्दिरको शिलामा पसिना आएपछि जिल्लास्थित सरकारी टोली पनि भीमेश्वरतर्फ जान लागेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।