१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १९:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक सातापछि प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘सिटीहल’को मन्त्री साहद्वारा निरीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १९:१४:००

सहरी विकासमन्त्री प्रभु साहले ललितपुरको गोदावरीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘सिटीहल’को निरीक्षण गरेका छन् । एक सातापछि प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सिटीहलको शुक्रबार मन्त्री साहले निरीक्षण गरेका हुन् ।

मन्त्री साह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारीसहित सिटीहलको निरीक्षणमा गएका हुन् । निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीहरूले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माण सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्तसम्मको समय दिइएको थियो । गोदावरी नगरपालिका– ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । तीन रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी दुई आनामा बगैँचा तथा हरियाली र १३ रोपनी पार्किङ र अन्य कार्यका लागि छुट्याइएको छ ।

ध्वनि अवशोषित, भूकम्प प्रतिरोधी सो सिटीहलमा कम्तीमा पनि तीन हजारजना सहभागी भएर बैठक गर्न सक्नेछन् । भवनभित्र दुईवटा भिभिआइपी कक्ष बनाइएको छ ।  आयोजना निरीक्षणपछि सहरी विकास मन्त्रालयका सचिव ई. रमेशप्रसाद सिंहले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही वैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनसाइज नाम दिइएको पनि उनले जानकारी दिए ।  केसी समानान्तर जेभी काठमाडौंले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार दुई सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख चार सय तीन रुपैयाँ रहेको छ ।

आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगैँचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जालगायतका काम बाँकी नै छन् । सिटीहल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलव आठ किलोमिटर र चक्रपथबाट नाै दशमलव पाँच किलोमिटर दूरीमा रहेको छ ।