मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार १४:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्ने तयारीमा छ : मन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार १४:५९:००

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको पत्रकारिता क्षेत्रलाई स्वस्थ, मर्यादित र अझ गुणस्तरीय बनाउन सरकारले छिट्टै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । छैटाैँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा मन्त्री गुरुङले त्यस्तो बताएका हुन् । 

प्रतिष्ठानको स्थापनाबाट पत्रकारहरूको व्यावसायिक क्षमतामा थप अभिवृद्धि हुने बताउँदै मन्त्री गुरुङले त्यसबाट मुलुक र समाजले अपेक्षा गरेअनुसार पत्रकारिता क्षेत्रले पनि योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे । कोरोनाको जोखिममा रहेको पत्रकारिता क्षेत्रको संरक्षण र पत्रकारहरूको स्वास्थ्य सुरक्षामा सरकार संवेदनशील रहेको जानकारी दिँदै उनले सरकारले पत्रकार कल्याणकारी कोषलाई थप व्यवस्थित र परिमार्जित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको पनि बताए ।

पकारिता दिवसका अवसरमा सबै श्रमजीवी पत्रकारलाई शुभकामना दिँदै मन्त्री गुरुङले राज्यका तर्फबाट प्रदान गरिएको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरू सबैका लागि प्रेरणाको स्रोतका रूपमा नमुना पत्रकार बनेमा पुरस्कारको गरिमा अझ बढ्ने बताए । कोभिड संक्रमणको रफ्तार बढेका कारण पुरस्कार वितरण कार्यक्रम आयोजना गर्न नसकिए पनि संक्रमणको जोखिम कम भएपछि उपयुक्त समयमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्ने सोच राखिएको उनले जानकारी दिए । 

शुक्रबार आयोजित कार्यक्रममा सरकारले चारजना वरिष्ठ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान तथा  १२ जना पत्रकारलाई पछिल्लो दुई वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी गराइएको थियो ।