मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २३ बिहीबार १०:२६:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दश प्रतिशत अक्सिजन सिलिन्डर उपभोक्ताको घरमा

बनेपाको उद्योग बिग्रँदा दैनिक १ हजार उत्पादन घट्यो

Read Time : > 5 मिनेट
२०७८ बैशाख २३ बिहीबार १०:२६:००

राजधानी काठमाडौंमा कोरोनाको अनियन्त्रित गतिका बीच अक्सिजनको अभाव जारी छ । कोरोनाको बढ्दो विनाशबीच अक्सिजनको संकट झनै गहिरिँदै गइरहेको छ । पछिल्लो २४ घन्टामा देशभर ५८ जना बिरामीको मृत्यु भएको छ । चिकित्सकहरू भन्छन्– अस्पतालमा अक्सिजनको अभावले गर्दा बिरामीहरू अस्पताल परिसरमा चिच्याउने अवस्थामा पुगेका छन् ।

भारतले अक्सिजन निर्यातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर नेपालका ठूला अस्पतालमा देखिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ शय्याको कोभिड आकस्मिक वार्ड तयार पारेको छ । तर, बिहीबार साँझसम्म १५ जना राखेर उपचार गरिरहेको छ । उनीहरू सबै अक्सिजन चाहिने बिरामी हुन् । अस्पतालका एक कोभिड चिकित्सकले भने, ‘पाटनमा दुई सय शय्या कोरोनाका लागि तयार पारिएको छ । कम्तीमा ५० बेड खाली छन् । ती बेडहरू अक्सिजन नभएर प्रयोगमा आउन सकेका छैनन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर श्रवणकुमार मण्डल आकस्मिक शय्याहरु खाली नभएको बताउँछन् । उनी भन्छन्, ‘तर, हामीले आएका बिरामीलाई समस्या नहोस् भनेर अवस्था हेरेर अन्य बेडमा सार्ने गरेका छौँ ।’ अस्पतालमा इमर्जेन्सी बेड २५ वटा छन् । तर, सबै भरिएका छन् । 

अहिले सबैका घरमा शरीरमा अक्सिजनको लेभल जाँच गर्ने अक्सिमिटर छ । संक्रमितले अक्सिजन जाँच गरेर अस्पताल भर्ना हुनुपर्ने अवस्थामा मात्रै अस्पताल जाने गरेका छन् । केही दिनमा देशभर अक्सिजन अभाव अनियन्त्रित गतिमा देख्न सकिने अक्सिजन उद्योगहरू बताउँछन् । अस्पतालमा भएका प्लान्टहरू मर्मत नगरी कमिसन पाउने नाममा सिलिन्डर खरिदमा लाग्दा महामारीमा अक्सिजन व्यवस्थापन गर्न अस्पताललाई समस्या देखिएको हो । 

नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सारडाले बनेपामा रहेको नवज्योति अक्सिजन बन्द भएपछि उत्पादनमा ठूलो समस्या आएको बताए । ‘सोमबारको हावाहुरीले उद्योगमा क्षति पुर्‍याएपछि मंगलबारदेखि उत्पादन बन्द भएको छ,’ अध्यक्ष सारडाले भने, ‘दैनिक एक हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको उद्योग पिक समयमा बिग्रँदा दाइने हात भाँचिएकोजस्तो भएको छ ।’ अहिले उद्योगको मर्मत गर्ने काम भइरहेको छ । 

एक हजार सिलिन्डर अक्सिजन ठूला दुई अस्पताललाई पुग्ने अध्यक्ष सारडा बताउँछन् । तथ्यांकअनुसार उपत्यकामा अक्सिजनका नाैवटा उद्योग भए पनि आठवटा सञ्चालनमा रहेका छन् । उपत्यकाबाहिर १७ उद्योगले उत्पादन गरिरहेका छन् । तर, यी उद्योगबाट उत्पादन भएका ४० प्रतिशत अक्सिजन विभिन्न प्रयोजनका लागि औद्योगिक क्षेत्रमा जाने गर्छन् । स्वास्थ्य मन्त्रालयले अन्य प्रयोजनका लागि अक्सिजनबाहिर जान रोक लगाए पनि उद्योगहरूमा अक्सिजन सिलिन्डर वितरण भइरहेको छ । 

ककनीमा रहेको हाम्रो अक्सिजन प्रालिले अस्पतालभन्दा बाहिरका उद्योगमा पनि अक्सिजन पठाउँदै आएको छ । अस्पतालहरूमा भन्दा बाहिर बेच्दा निकै महँगो मूल्यमा बेच्न पाइने भएपछि उद्योगहरूले बाहिरका अन्य उद्योगहरूमा वितरण गर्दै आएका हुन् । नुवाकोटका एकजना अक्सिजन सप्लायर्स जयन्त सेढाईंले अस्पतालबाहिरका उद्योगमा दिँदै आएको सिलिन्डर कटौती गरेको बताए । 

‘एउटा परिवारले तीनदेखि पाँचवटा सम्म सिलिन्डर भरेर घरमा राखेको पाएपछि त्यसो नगर्न अनुरोध गरेको छु,’ सेढाईंले भने, ‘फलाम काट्न, वेल्डिङ गर्न, हुक्का प्रयोगजस्तामा अक्सिजनको प्रयोग गरिन्छ । त्यसैले सबै अक्सिजन उद्योगबाट अस्पतालबाहिरका उद्योगमा अक्सिजन भरेका सिलिन्डर वितरण भइरहेका छन् ।’

नुवाकोटमा कोरोनाको खासै समस्या नभएकाले यहाँबाट अस्पतालबाहेक अन्य उद्योगमा पनि अक्सिजन वितरण भएको सेढाईंले बताए । ‘तर, विगतमा दिँदै आएकोभन्दा आधा मात्रै दिएको छु,’ उनले भने । तथ्यांकअनुसार देशभर औसत ८० हजार सिलिन्डर प्रयोगमा छन् । दैनिक कोरोना जोखिम बढ्दै जाँदा अवस्था जटिल बन्दै गएको संघका अध्यक्ष सारडा बताउँछन् । 

‘अक्सिजन सिलिन्डरको व्यवस्थापन निकै चुनौतीको विषय बनेकाले कसरी यसको सहज व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल जारी राखेका छौँ,’ उनले भने । ‘हिजो बनेपामा एउटा अक्सिजन प्लान्ट बिग्रियो,’ अध्यक्ष सारडाले भने, ‘एउटा प्लान्ट बिग्रनासाथ दैनिक एक हजार सिलिन्डर सिस्टमबाट हरायो । त्यसले हामीलाई झन् गारो बनाएको छ ।’ एक हजार सिलिन्डरले वीर र पाटन अस्पताललाई धान्छ । 

‘अक्सिजन सिलिन्डर खरिद गर्ने कुरा सरकारबाट आएको छ, तर यही अवस्थामा माग बढ्दै जाँदा अक्सिजन बनाउने क्षमता राजधानी उपत्यकामा पुग्दैन,’ अध्यक्ष सारडाले भने । उनले राजधानीबाहिर भने समस्या नभएको बताए । प्रदेश १ र प्रदेश २ मा उत्पादन क्षमता भएकाले त्यहाँबाट कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि छलफल थालिएको छ । राजधानीमा अक्सिजनको अभाव हुन नदिन उद्योगहरूले क्षमताभन्दा बढी सिलिन्डर भरिरहेको अध्यक्ष सारडाले बताए । 

दैनिक २० हजार सिलिन्डरको क्षमता रहेको छ । अस्पतालहरू डराएर सिलिन्डर आवश्यकताभन्दा बढी मागिरहेका छन् । ‘२० सिलिन्डर प्रयोग गर्नेले एक सय ५० र एक सय सिलिन्डर प्रयोग गर्ने अस्पतालले पाँच सय अक्सिजन सिलिन्डर मागिरहेका छन् । यो अवस्थाले अक्सिजनको माग थप बढ्नेछ । यति मात्रै हाेइन,’ सारडाले भने, ‘कोरोनाको महामारीले कुल सिलिन्डरको १० प्रतिशत उपभोक्ताले सिलिन्डर भरेर घरमा थन्क्याएका छन् ।’ उद्योगीहरूका अनुसार दुई हजार बढी बिरामीलाई पुग्ने अक्सिजन सिलिन्डर प्रयोगविहीन अवस्थामा घरमा थुपारिएको छ । उक्त सिलिन्डर अस्पतालमा प्रयोग भए धेरैको ज्यान बच्ने अधिकारीहरू बताउँछन् । 

अक्सिजनको अभावबीच केन्द्र सरकारले कुनै निर्णय लिन सकेको छैन । मंगलबार मात्रै एक हजार सिलिन्डर खरिदका लागि टेन्डर खुलाउने तयारी केन्द्रले गरेको छ । स्वास्थ्य मन्त्रालयले २० हजार सिलिन्डर चीनबाट ल्याउने बताए पनि कहिले आउँछ भन्ने कुनै लेखाजोखा छैन । 

अधिकारीहरू भन्छन्, ‘प्रदेश १ र २ मा अक्सिजनको खपत कम भएको छ, त्यहाँका ट्यांकरहरू केन्द्र सरकार मातहत पठाउन सक्नुपर्छ ।’ कुनै ठाउँमा अक्सिजन थुप्रिएको छ भने केन्द्र र सुदूरपश्चिम क्षेत्रमा अक्सिजन अभाव देखिएको छ । बर्खाको समय भएकाले ढुवानीमा समेत समस्या देखिएको छ । 

सरकार अक्सिजनको अभाव छैन भनिरहेको छ । देशका प्रधानमन्त्री भने २१ लाख नागरिकलाई खोप लगाएर नेपाल दक्षिण एसियाकै दोस्रो देश भएको भन्दै गर्व गरिरहेका छन् । तर, देशमा अक्सिजन नपाएर बिरामी मरिरहेका छन् ।

पाटन अस्पतालको आकस्मिक कक्षमा काम गर्ने एक चिकित्सकले नयाँ पत्रिकासँग भने, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो त्रासदी हो, बिरामीहरू मर्दै छन् किनकि हामीसँग अक्सिजन छैन, अक्सिजन नभएका कारण बेड खाली छन् । कोरोना निको पार्न अक्सिजन, औषधि र खोप आवश्यक छ । तर, नेपालमा उपलब्ध हुने आधार छैन ।’

बितेका १५ महिनासम्म सरकार के गरेर बसेको थियो, सरकार–नागरिक कसैले पनि कोरोनाको पहिलो छालबाट केही पनि सिकेनन् । विज्ञका अनुसार आपतकालीन अवस्थामा व्यक्तिको जीवन बचाउन २० मिनेटभित्रमा अक्सिजन उपलब्ध हुनुपर्छ । अहिलेको अवस्थामा नेपालमा त्यो सम्भावना टरेको छ । 

कहाँ–कहाँ छन् अक्सिजन उद्योग उपत्यकामा
नाम                                    स्थान                  मिटर क्यु
कान्तिपुर अक्सिजन प्रालि    हरिसिद्धि, ललितपुर    ३००
शंकर अक्सिजन प्रालि    बालाजु    ४३०
हिमाल अक्सिजन प्रालि    बालाजु    २००
सीता प्रोडक्ट अक्सिजन    चाल्नाखेल    २५०
सगरमाथा अक्सिजन प्रालि    पाटन    २५०
सोपान अक्सिजन प्रालि    लुभु    ३००
नवज्योति अक्सिजन प्रालि    बनेपा    ३००
हाम्रो अक्सिजन प्रालि    ककनी     २५०
अक्सिटेक  अक्सिजन प्रालि    नागढुंगा    ५०(बन्द छ)

राजधानीबाहिर अक्सिजन उद्योग
नाम                                      स्थान          मिटर क्यु
विनायक अक्सिजन प्रालि    सोनापुर, सुनसरी     ३००
दुर्गा अक्सिजन प्रालि    विराटनगर                   १२५
मारुती अक्सिजन     विराटनगर                    १२५
हिमाल अक्सिजन    इटहरी                           २००
मधु अक्सिजन    वीरगन्ज                             २००
जय अम्बे अक्सिजन    सिमरा                        १००
स्वर्गद्वारी अक्सिजन     चितवन                  १५०
सिद्धिविनायक अक्सिजन    चितवन            १००
पोखरा अक्सिजन    पोखरा                       २००
कालिगण्डकी अक्सिजन    पोखरा            १५०
शंकर अक्सिजन     भैरहवा                   २५०
लुम्बिनी अक्सिजन     बुटवल                 १००
ढल्केबर ग्यास    ढल्केबर                      १५०
सूर्यशक्ति अक्सिजन उद्योग    नेपालगन्ज    १००
एच ओ अक्सिजन    नेपालगन्ज              ३००
दाङ अक्सिजन    दाङ             १०० (बन्द)
मल्लिका अक्सिजन                        ५०

कोरोनाबाट एकै दिन ५८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक मृत्यु भएको छ । बुधबार २४ घन्टाको बीचमा ५८ जनाको मृत्यु भएको छ । यो मृत्यु हालसम्मकै दैनिक सर्वाधिक संख्या हो । कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ३४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घन्टामा आठ हजार ६ सय ५९ जना संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मको उच्च हो । २१ हजार तीन सय ७२ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । कुल संक्रमितमध्ये अहिले ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित छन् ।