
सर्लाहीको दक्षिण–पश्चिम सीमावर्ती क्षेत्र बलरा नगरपालिकास्थित मिर्जापु र लक्ष्मीपुर गाउँमा उच्च ज्वरोका चारजना बिमारीको ज्यान गएको छ भने सयौँ बिमारी परेका छन् ।
बलरा नगरपालिका– ६ स्थित मिर्जापुर गाउँका दुईजना ८०–८५ वर्षका वृद्धसहित चारजनाको ज्यान गएको हो । उनीहरू केही दिनदेखि उच्च ज्वरोका कारण बिमारी परेका थिए । बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहका अनुसार आइतबार एकै दिन तीनजनाको गाउँमै र एकजनाको उपचारको क्रममा वीरगन्जमा ज्यान गएको हो । गाउँमा अझै सयौँजना उच्च ज्यरोले ग्रसित रहेको उनको भनाइ छ ।
नगरको ६ नम्बर वडाको मिर्जापुर गाउँ र वडा नम्बर ३, लक्ष्मीपुर गाउँका सयौँ व्यक्ति ज्वरोका कारण सिकिस्त अवस्थामा रहेका मेयर सिंहले जानकारी दिए । कोरोना संक्रमणको डरले गाउँमा बिमारी परेकाको आफन्तले यो कुरा गोप्य राखेका थिए । कोरोना संक्रमणको जोखिम रहेको भन्दै गाउँमा स्वास्थ्यकर्मीहरू पठाउँदा उनीहरूले उपचार गर्न नमानेको उनको भनाइ छ । ‘गाउँमै स्वास्थ्यकर्मी गएर चेकजाँच गर्न खोज्दा गाउँल डराए,’ उनले भने, ‘कोरोनाको डरले गाउँलेहरूले आफूलाई ज्वरो नआएको भन्दै पन्छिए । चेकजाँच नै गर्न दिएनन् ।’
बिमारी भएकाहरूले समेत कोरोना चेकजाँच गर्ने र त्यसपछि आइसोलेसनमा पठाउने डरले ज्वरो नै नआएको भन्दै ढाँट्ने गरेका मेयर सिंहको भनाइ छ । उक्त गाउँ भारतीय सीमासँग जोडिएको गाउँ हो । उक्त स्थानका मानिसहरू दैनिक उपभोग्य सामान खरिद तथा औषधि उपचारका लागि आजभोलि पनि भारतीय बजार धाइरहेका छन् । उनीहरूलाई सदरमुकाम मलंगवा ३३ किलोमिटर, बरहथवा २६ किलोमिटर र रौतहट सदरमुकाम गौर पुग्न १३ किलोमिटर जरजर अवस्थाको बाटो छिचोल्नुपर्ने बाध्यता छ ।
यसैबीच, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी धेरै देखिएको भन्दै यसबारे बुझ्न सोमबार जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ । टोलीले दिएको रिपोर्टअनुसार कोरोना संक्रमणको लक्षणसँग मिलेकाले मंगलबार थप थ्रोट स्वाब संकलक टोली पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवण नायकले जानकारी दिए ।