मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ बैशाख १८ शनिबार ०९:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह    

Read Time : < 1 मिनेट
२०७८ बैशाख १८ शनिबार ०९:५४:००

नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरूका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् ।  

१३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक कार्यकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गरेका छन् । 

महामारीको संक्रमणबाट आफ्नो जीवनरक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरेका छन् ।  

श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार रहेको तथा श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिए पनि श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताए ।  

अध्यक्ष प्रचण्डले पश्चगामी र परिवर्तनविरोधी तत्व श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्न श्रमिक वर्गमा अपिल गरेका छन् । रासस