१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १४ मंगलबार
  • Sunday, 23 June, 2024
एजेन्सी नयाँदिल्ली
२o७८ बैशाख १४ मंगलबार o६:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा कोरोनाको दोस्रो लहर किन खतरनाक बन्यो ?

Read Time : > 3 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o७८ बैशाख १४ मंगलबार o६:५७:oo

विवाह, सामाजिक कार्य, राजनीतिक र्‍याली तथा धार्मिक भेला कोरोना महामारीको रूपमा फैलिनुअघिको पूर्ववत् अवस्थामै सञ्चालनको अनुमति दिएसँगै भारतमा दोस्रो लहर फैलन मद्दत पुगेको विज्ञहरूको भनाइ

भारतमा लगातार तीन लाख बढी कोरोना संक्रमित भएको समाचारले विश्वलाई तरंगित बनाएको छ । यसअघि जनवरीमा अमेरिकामा तीन लाख सात हजार संक्रमित भएका थिए । अमेरिकाको त्यो रेकर्डलाई भारतले भंग गरेको छ । यतिवेला एउटा बहस सुरु भएको छ, किन भारतमा कोरोनाको दोस्रो लहरले डरलाग्दो रूप लिइरहेको छ ? यद्यपि, विश्वभरि नै कोरोनाको दोस्रो तथा तेस्रो लहर फैलँदो क्रममा छ । भारतको तुलनामा अन्य देशमा देखिएको प्रजाति त्यति खतरनाक नभएको विज्ञहरूले मानेका छन् । भारत र अन्य देशमा देखिएको कोरोनाको दोस्रो लहर र प्रजातिबीच के फरक भन्ने प्रश्न छ । 

भारतका वैज्ञानिकहरूले ती प्रश्नका उत्तर खोज्ने प्रयास नगरेका होइनन्, तर उनीहरूको अनुसन्धानले अझै पूर्णता पाउन सकेको छैन । कोरोनाको दोस्रो प्रजाति भाइरसलाई वैज्ञानिकहरूले १.६७ संज्ञा दिएको छ । यही १.६७ संज्ञा दिइएको दोस्रो लहरको कोरोना भारतमा तीव्र गतिमा बढिरहेको भारतीय वैज्ञानिकहरूले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । 

अर्को समस्या भनेको भारतमा सबैतिरबाट दोस्रो प्रजातिको नमुना संकलन हुन सकिरहेको छैन । अहिले केवल महाराष्ट्रमा मात्र नमुना संकलन तीव्र गतिमा बढाइएको छ । यहाँ ६१ प्रतिशत नमुना संकलन भएको छ । धेरैजसो नमुनामा दोस्रो प्रजातिकै संक्रमण देखिएको छ । 

भारत र बेलायतबीचको हवाई सेवा
विश्वमा कोरोना भाइरसको दोस्रो प्रजाति ब्राजिल, दक्षिण अफ्रिका र बेलायतबाट सुरु भएको मानिन्छ । यी तीन देशबाट विश्वका विभिन्न कुनाकाप्चासम्म कोरोनाको दोस्रो लहर फैलिएको हो । र, कोरोना भाइरस संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । भारतमा संक्रमित संख्या बढ्नु र यो अनियन्त्रित हुनुको पछाडि भारत र बेलायतबीचको हवाई सेवा तत्काल नरोकिनु पनि एक कारणका रूपमा देखिएको छ । यद्यपि, यो सेवा हालै मात्र बन्द भइसकेको छ । बेलायतबाट भारत आएका र भारतबाट बेलायत गएका व्यक्तिले दोस्रो प्रजाति सार्ने काम भएको बेलायती स्वास्थ्यमन्त्री म्याट हेनकोकले जनाएका छन् ।

स्वास्थ्यमन्त्री हेनकोकले गत साता भारतबाट आएकामध्ये एक सय तीनजनामा दोस्रो प्रजातिको भाइरस पाइएको बताएका छन् । त्यसपछि बेलायतले भारतसँगको हवाई सेवा तत्काल रोक्यो । बेलायतले भारतलाई कालोसूचीमा राखेको छ । 

दोस्रो लहरलाई बेवास्ता गर्नु
एक समय भारत सरकारले कोरोनाविरुद्ध राम्रो काम गरेको जनाएको थियो । भारतमा संक्रमित संख्यामा कमी आएको भन्दै सरकारले पछिल्लो केही महिना कोरोनाप्रति बेवास्ता नै गर्‍यो । विवाह, सामाजिक कार्य, राजनीतिक र्‍याली तथा धार्मिक भेला कोरोनाअघिको पूर्ववत् अवस्थामै सञ्चालन गर्न अनुमति सरकारले दिएको छ । कोरोना संक्रमितको संख्यामा कमी आएपछि यहाँ खोप लगाउने पनि घट्दै गएको छ । भारतले जुलाई महिनासम्म २५ करोडलाई खोप दिने घोषणा गरेको छ । तर, यो लक्ष्यअनुसार काम हुन सकिरहेको छैन । यी विभिन्न कारणले नै भारतमा दोस्रो लहरको कोरोना छिटो फैलिएको मानिन्छ । 

दोस्रो प्रजातिले इम्युनिटी शक्ति कम गर्ने
भारत र अन्य विश्वका वैज्ञानिकहरूले पहिलोको तुलनामा दोस्रो प्रजाति भाइरस किन छिटो फैलिएको भन्ने अनुसन्धानमै लागेका छन् । उनीहरूले दोस्रो प्रजातिमा ई ४८४ क्यू तथा एल ४५२ आर जस्तो दुईवटै भाइरस अनुसन्धानका क्रममा देखिएको बताएका छन् । यी दुई तत्वले धेरै संक्रमित बनाउने र भाइरसविरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर हुने जनाएको छ । पहिलो र दोस्रो प्रजातिबीच धेरै परिवर्तन रहेको उनीहरूको भनाइ छ । दोस्रो प्रजाति भेटिएका व्यक्तिको स्वाप लिने कामलाई द्रुत गतिमा अगाडि बढाइनुपर्ने वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । 

दोस्रो प्रजातिमा भेटिएको ई ४७४ क्यू तत्वको भाइरस अति नै खतरनाक भएको वैज्ञानिकहरूले बताएका छन् । लुसियाना स्टेट विश्वविद्यालयका साइन्स सेन्टरका डाक्टर जर्मी कामिनले ई ४७४ धेरै हदसम्म ई ४८४ सँग मिल्दोजुल्दो रहेको बताएका छन् । ई ४८४ भाइरस ब्राजिल र दक्षिण अफ्रिकामा देखिएकै भाइरस हो । यो भाइरसले शरीरभित्र इम्युनिटी शक्ति नष्ट गर्ने डाक्टर जर्मीको भनाई छ ।  

विश्व स्वास्थ्य संगठनअन्तर्गत कोभिड प्राविधिक विज्ञ मारिया वेनले पनि ई ४८४ भाइरसले एन्टिबडी नष्ट गर्ने काम गर्ने बताएका छन् । भाइरसविरुद्ध लड्ने क्षमता नै नष्ट गर्ने काम ई ४८४तत्वले गरेका कारण नै विश्वभरि नै दोस्रो लहरको कोरोना फैलिएको विज्ञहरूको भनाइ छ । 

सूचना आदानप्रदानको कमी
जिआइएसएआइडी डाटाबेसअनुसार भारतीय अनुसन्धानकर्ताहरूले नयाँ प्रजातिका भाइरसमा देखिएको ६६६ सिक्वेन्स मात्र आदानप्रदान गरेका छन् । अहिलेसम्म भारतमा आठ हजार एक सय ७० जिनोम सिक्वेन्स सेयर भएको जिआइएसएआइडी डाटाबेसले उल्लेख गरेको छ । भारतको तुलनामा बेलायतले यसै समयमा जिनोम सिक्वेन्स तीन लाख ८४ हजार पत्ता लगाएको छ । यसलाई बी १.१७ नाम दिइएको छ । 

वैज्ञानिक डा. कामिलले भारतीय वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले दोस्रो प्रजाति देखिएलगत्तै काम गर्नुपर्ने अवस्थामा ढिलासुस्ती गरेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘अहिलेसम्म भारतीय वैज्ञानिकहरूले जिनोम सेयरिङ अनुसन्धानमा नयाँ मोड ल्याउन सकेको छैन, यसमा खासै राम्रो काम भएको जस्तो लाग्दैन, यो निकै दुःखद पक्ष हो ।’ 

नयाँ भाइरस पत्ता लगाएको समयमै यसमा सूक्ष्म रूपमा यसको अनुसन्धान भए खण्डमा भारतमा दोस्रो लहर तीव्रताका साथ फैलन नपाउने उनको भनाइ छ । ‘यदि जेनोमको सूचना सही समयमै सेयरिङ गरेको भए भारत तथा अन्य देशका वैज्ञानिकहरूलाई मूल्यवान् हुने थियो,’ डा. कामिलले भने । भारत तथा अमेरिकाले जिनोम सिक्वेन्स सेयर गर्नुपर्ने र यसमाथि अध्ययन भइरहनुपर्ने अन्य वैज्ञानिकहरूले बताएका छन् । 

क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजीका प्राध्यापक रवि गुप्ताले भारतमा देखिएको दोस्रो प्रजातिमा खतरनाक भाइरस समावेश भएको मानेका छन् । ‘भारतमा देखिएको भाइरस किन डरलाग्दो छ भने यसका दुवै प्रजाति खतरनाक छन्, यो भाइरसले सामान्य मानिसको इम्युनिटी शक्तिमा ह्रास ल्याउने काम गर्छ,’ प्राध्यापक गुप्ताले भने, ‘यो धेरै जनसंख्या भएको देशमा छिटै फैलिन्छ, यसै कारण भारतमा १५ अप्रिलपछि प्रतिदिन दुई लाखभन्दा बढी संक्रमित देखिएको हो ।’ 

ad
ad
ad
ad