१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १३:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको प्रचण्डको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १३:०५:००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदेश कराते च्याम्पियनसिप– २०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताएका हुन् ।

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उनले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको बताए । नेपालीहरूलाई राष्ट्रहितविरोधी षड्यन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए । उनले भने,  ‘तानाशाही र निरंकुश शक्तिहरू एकचोटि परास्त भए, तर तिनीहरू पूरै परास्त अझै भएका छैनन् । उनीहरुको कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताका विरुद्ध चलिराखेको छ ।

देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितकाविपरीत गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको छ । तर, सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, बलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष प्रचण्डले केही मानिसले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए । तर, परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने बताए । उनले भने, ‘अहिले पनि केही मानिसहरूले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखापरेको छ । केही मुट्ठीभर मान्छेहरूले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिका लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए ।