१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ३ शुक्रबार ११:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब जग्गाको नक्सा घरबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ३ शुक्रबार ११:o५:oo

बैंक कारोबार वा अन्य प्रयोजनका लागि जग्गाको नक्सा लिन नापी कार्यालय जानुपर्ने बाध्यता हटेको छ । नापी विभागले बिहीबारबाट ‘मेरो कित्ता’ र नेपाल ल्यान्ड इन्फरमेसन (नेल्स) प्रणाली सुरुवात गरेसँगै आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा घरमै पाइने भएको हो ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार प्रणालीको उद्घाटन गरे । तर, ‘नापी कार्यालयबाट डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्नेसम्बन्धी निर्देशिका, २०७७ स्वीकृत नहुँदै प्रणालीको सुरुवात भएको हो । यो निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ । 

बिहीबारबाट कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयबाट सेवा सुरु भएको सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए । एक सय २१ वटै नापी कार्यालयमा सेवा विस्तारको लक्ष्य छ । अनलाइनबाट सेवा लिन ‘मेरोकित्ताडटजिओभीडटएनपी’मा लगइन गर्नुपर्नेछ । यसअघि नक्साबापत निश्चित रकम भुक्तान गर्नुपर्दथ्यो । अब वालेटबाटै भुक्तानीको व्यवस्था मिलाइएको छ ।

यो वेबसाइट खोल्दा पासवर्ड आवश्यक पर्दैन, जुनसुकै ब्राउजरबाट ‘मेरो कित्ता’ खोलेर जग्गाधनीको पुर्जामा रहेका कित्ता नम्बर, नाम र सम्पर्क नम्बरलगायतका तोकिएका विवरण राख्नुपर्ने हुन्छ । ‘सेवाग्राहीले राखेको विवरणका आधारमा नापी विभागले प्रमाणित गर्नेछ, प्रमाणित गर्न कार्यालय पनि धाउनुपर्दैन,’ उनले भने, ‘सेवाग्राहीले राखेको विवरणका आधारमा कारोबार योग्य रहेको प्रमाणित भए–नभएको जानकारी प्राप्त हुनेछ । विभागबाट योग्य भएको जानकारी आएपछि सेवाग्राहीले वालेटमार्फत राजस्व भुक्तानी गनुपर्नेछ ।’

सेवाको पहिलो दिन कनेक्ट आइपिएसबाट राजस्व भुक्तानी भए पनि अब महालेखा नियन्त्रकको कार्यालयमा सूचीकृत भएका वालेटबाट भुक्तानीको व्यवस्था मिलाइने उनले बताए । महालेखामा सूचीकृत भएका वालेटबाट मात्र अनलाइन राजस्व भुक्तानी गर्न पाइन्छ ।