१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कौशिक वासु
२०७७ चैत १५ आइतबार ०८:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

५० वर्षको भयो बंगलादेश

Read Time : > 2 मिनेट
कौशिक वासु
२०७७ चैत १५ आइतबार ०८:५३:००

बंगलादेशले योजनाबद्ध हस्तक्षेप र संयोगको मिश्रणबाट आजको सफलता हासिल गरेको छ 

सन् १९७१ को वर्षभरि बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) ले आफ्नो स्वतन्त्रताको लडाइँ लड्यो । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको दरिलो समर्थन पाएको पाकिस्तानले स्वतन्त्रता आन्दोलनमाथि ठूलो दमन मच्चायो । बलात्कार र नरसंहार बढ्दै गएपछि ज्यान बचाउन करोडौँ बंगलादेशी नागरिक छिमेकी भारत छिर्न थाले ।  त्यस वेला भारतीय प्रधानमन्त्री आफ्नो प्रभावको शिखरमा थिइन् । उनले बंगलादेशी शरणार्थीका लागि आफ्नो सिमाना खुला मात्रै गरिनन्, बंगलादेशी आन्दोलनकारीको सहयोगका लागि सेना पठाइन् । इन्दिरा गान्धीले बंगलादेश सेना नपठाउन अमेरिकाले दिएको दबाबसामु झुक्न अस्वीकार गरेकी थिइन् । अन्ततः राष्ट्रपति आया खानको सेनाले डिसेम्बर १६, १९७१ मा भारतीय–बंगलादेशी फौजसामु आत्मसमर्पण गर्‍यो । बंगलादेशले सन् १९७१ को मार्च २६ मा स्वतन्त्रता घोषणा गरे पनि डिसेम्बरमा गएर त्यसले साकार रूप लियो । 

त्यति वेला बंगलादेश दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र थियो । तत्कालीन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले यसलाई ‘बास्केट केस’को रूपमा व्याख्या गरेका थिए । सन् १९७४ मा स्थिति नियन्त्रण झन् खराब बन्यो । महामारी चलिरहेको समयमा निक्सन प्रशासनले बंगलादेशलाई दिइरहेको सहायता कटौती गर्‍यो । बंगलादेशले कम्युनिस्ट क्युवालाई जुटको ब्याग निर्यात गरेकोमा अमेरिकाले उक्त कदम उठाएको थियो । तर, स्वतन्त्रताको आधा शताब्दीपछि बंगलादेश आर्थिक विकासको नमुना देश बनेको छ । कुल गार्हस्थ उत्पादन वृद्धिदरमा सन् २००६ मा बंगलादेशले पाकिस्तानलाई उछिन्यो । अहिले यो विश्वको सबैभन्दा तीव्र वृद्धि भइरहेको अर्थतन्त्रमा गनिन्छ । 

आफ्ना नागरिकको औसत आयु ७४ वर्ष रहेको बंगलादेश यस सूचकमा भारत (७०) र पाकिस्तान (६८) भन्दा अगाडि छ । यो देश विश्वको तयारी गार्मेन्टको प्रमुख निर्यातक मुलुक बनेको छ । अर्थतन्त्रका अन्य क्षेत्रले पनि उचाइ लिइरहेका छन् । बंगलादेश समस्यामुक्त भने छैन । देशमा अझै गरिबी तथा कठिनाइ भयावह छ र असमानता बढिरहेको छ । जलवायु परिवर्तन र बढ्दो समुद्री सतहको जोखिम देखिन थालिसकेको छ । राजनीतिक अस्थिरताको सम्भावना अन्त्य भइसकेको छैन । 

स्वतन्त्रताको आधा शताब्दीमा बंगलादेश दक्षिण एसियाको सबैभन्दा गरिब मुलुकबाट तीव्र आर्थिक वृद्धिको नमुना देश बनेको छ । सन्तुलित श्रम कानुन र धार्मिक अन्धताको प्रतिरोधको बलमा यो देश यहाँसम्म आइपुगेको हो ।

यसका बाबजुद बंगलादेशको असाधारण आर्थिक रूपान्तरण प्रशंसायोग्य छ । विश्व बैंकको ‘न्यून मध्यम आय’ अर्थतन्त्रको वर्गीकरणमा पर्ने यस मुलुकले आजका न्यून–आययुक्त मुलुकलाई महत्वपूर्ण पाठ प्रदान गर्न सक्छ । बंगलादेशले योजनाबद्ध हस्तक्षेप र संयोगको मिश्रणबाट आजको सफलता हासिल गरेको छ । बंगलादेशको सफलतामा फेजल हमन अवेदको ‘ब्राक’ र मोहम्मद युनिसको ‘ग्रामीण बैंक’जस्ता प्रगतिशील एनजिओको महत्वपूर्ण भूमिका छ । ग्रामीण बैंकले सुरुका दिनमा लघुवित्त रकम परिवारका शीर्ष महिला सदस्यलाई दिने जुन निर्णय गर्‍यो, त्यसले अपेक्षा गरेभन्दा ठूलो प्रभाव पार्‍यो । यसबाट घरभित्र महिलाको भूमिका बढ्यो । परिणामस्वरूप बालबालिकाको स्याहारमा बढी खर्च स्थिति बन्यो । बंगलादेशले औसत आयु, सारक्षता र कुपोषणविरुद्ध राम्रो प्रगति हासिल गर्नुमा यही कारण छ । 

लघुवित्तका कारण बंगलादेशमा कैयौँ परिवारले ऋणको पासोमा पर्ने डरविना आफ्नै साना व्यवसाय गर्न सम्भव भएको छ । सेलिम रैहान, एसआर ओस्मानी र एमए बाक्वी खलिलीको अध्ययनअनुसार लगुवित्तले वित्तीय तथा मौद्रिक नीतिलाई बलियो बनाएर कुल गार्हस्थ उत्पादनमा ९–१२ ले वृद्धि गराएको छ । 

तर, बंगलादेशको सफलतामा संयोग र भाग्यको पनि हात छ । भारतीय उपमहाद्विपका श्रम कानुन जटिल प्रकृतिका छन् । जस्तो भारत र पाकिस्तान स्वतन्त्रताअघिको औद्योगिक विवाद ऐनले ठूला निर्माण फर्मको उदयलाई अवरोध पुर्‍याउँछ । पाकिस्तानले सन् १९५८ मा ठूला कर्पाेरेसनलाई सहयोग पुर्‍याउन यो कानुनलाई खारेज गर्‍यो । बंगलादेश पाकिस्तानबाट छुट्टिएकाले स्थापनाकालदेखि नै उससँग जटिल श्रम कानुन व्यहोर्नुपरेन । र, बंगलादेशले आफ्नै श्रम कानुनहरू बनायो, जुन लचकदार त थियो तर तिनले पाकिस्तानमा जस्तो कर्पाेरेसनहरूलाई असीमित शक्ति दिएको थिएन । यसले बंगलादेशलाई विश्वको सफल निर्माण हब बनाउन सहयोग गर्‍यो । 

अन्तिममा, बंगलादेशका आर्थिक सफलतामा योगदान गरेको महत्वपूर्ण राजनीतिक पक्षको चर्चा गर्न उपयुक्त हुन्छ । प्रधानमन्त्री शेख हसिनाको कैयाैँ विषयमा आलोचना हुने गर्छ, तर उनले देशको वृद्धिमा एउटा महत्वपूर्ण योगदान दिएकी छन् । हुन त बंगलादेशको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ, तर कट्टरपन्थी समूहले यदाकदा यसलाई चुनौती दिने गरेका छन् । तर, कर्मठ धर्मनिरपेक्षवादी शेख हसिनाले कट्टरपन्थी समूहको चाहनालाई नियन्त्रणमा राखेकी छिन् । धेरै देश धार्मिक कट्टरपन्थअघि झुक्दा तिनको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । तर, बंगलादेशले यस जोखिमलाई बलियो गरी सामना गरेर अघि बढेको छ । जुर्मुराउँदै वृद्धि भइरहेको अर्थतन्त्र यसको सफलताको प्रमाण हो । 

(विगतमा विश्व बैंकका प्रमुख अर्थशास्त्री वासु अहिले कोर्नेल विश्वविद्यालयमा अर्थशास्त्रका प्रध्यापक छन्)
प्रोजेक्ट सिन्डिकेटबाट