मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Thursday, 19 December, 2024
कौशिक वासु
२o७८ कार्तिक १७ बुधबार o८:o५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ग्लास्गो, ग्रेटा र असल नियत

Read Time : > 2 मिनेट
कौशिक वासु
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार o८:o५:oo

‘ग्रेटाज डिलेमा’अनुसार वातावरणीय रूपमा सचेत मानिसले सामूहिक रूपमा वातावरणमा क्षति पुर्‍याउँछन्


ग्लास्गोमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६)लाई धेरैले भय र आशाको नजरले हेरिरहेका छन् । जलवायु परिवर्तनका असरले विश्वका हरेक भेगलाई प्रभावित बनाउँदै लगेको छ । यस पृष्ठभूमिमा सम्मेलनमा बढ्दो तापक्रमका कारण बढिरहेको डढेलो, बाढी, बढ्दो समुद्री सतह घटाउन कदम उठाइनेछैन कि भन्नेमा मानिसहरू चिन्तित छन् । त्यसबाहेक वातावरणीय विनाश र त्यसका कारण उत्पन्न द्वन्द्वले ठूलो स्तरको शरणार्थी समस्या सुरु भइसकेको छ । 

ग्लास्गो सम्मेलनबाट आशाप्रद घोषणा हुनेमा आशावादीहरू थुप्रै छन् । तर, यस्तो आशा गर्नेमा जलवायु अभियन्ता ग्रेटा थनवर्ग छैनन् । मानव जगत्ले सामना गरिरहेको ठूलो चुनौतीको सम्बोधन गर्न महत्‍वाकांक्षी कदम उठाउन माग गरिरहेकी छन्, थनवर्ग । युरोपले सन् २०५० सम्म कार्बन उत्सर्जन शून्य बनाउने महत्‍वाकांक्षी योजना अघि सारेको छ । साथै, अमेरिकाले पनि यो शताब्दीको मध्यकालसम्ममा कार्बन उत्सर्जन शून्य बनाउने घोषणा गरेको छ । अमेरिकाले विकासोन्मुख देशलाई जलवायु परिवर्तनसँग जुध्न दिइरहेको आर्थिक सहयोग दोब्बर बनाएर ११.४ अर्ब बनाउने घोषणा पनि गरेको छ । 

हाल विश्वव्यापी उष्णता कम गर्न विभिन्न प्रयास सुरु भए पनि विश्वले जलवायु संकटविरुद्ध ढिलो कदम चाल्न सुरु गर्‍यो । र, यदि मानिसहरू पनि डाइनोसोरजस्तो लोप नहुने हो भने सुधारात्मक कदमलाई तीव्रता दिन आवश्यक छ । जलवायु संकट विश्वव्यापी मुद्दा हो र यसका विरुद्ध विश्वका सबै देशले सामूहिक कदम चाल्न आवश्यक छ । तर, धेरै विकासोन्मुख मुलुकसँग आफैँले कदम उठाउन पर्याप्त वित्तीय स्रोत छैन । जलवायु संकटका असरसँग जुधिरहेका विकासोन्मुख मुलुकसमेत केही गर्न नसक्ने अवस्थामा छन् । 

दक्षिण अफ्रिका, दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका अधिकांश देशजस्ता उदीयमान अर्थतन्त्र आर्थिक वृद्धिका लागि कोइलामाथि निर्भर छन् । आगामी दिनमा हरित संक्रमणबाट गुज्रँदा तिनको आर्थिक वृद्धिमै असर पर्छ । त्यसैले अहिले विश्वलाई एक वित्तीय तथा वैज्ञानिक सहायता प्रणाली निर्माण गर्ने सामूहिक प्रतिबद्धताको आवश्यकता छ । सन् २०१५ को पेरिस जलवायु सम्झौता एक कूटनीतिक सफलता थियो । त्यस सहमतिलाई दुई सयभन्दा बढी मुलुकले समर्थन जनाएका थिए । तर, विश्व पेरिस सम्झौताअनुरूपको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यपछाडि छ । यस सन्दर्भमा ग्लास्गो सम्मेलनले कुनै सटिक कदम चाल्ला ? थनवर्गले भर्खरै एक ठाउँमा सम्बोधन गर्दै ‘विश्वका नेताले वाचा गर्ने तर कुनै कदम नचाल्ने’ भन्दै आक्रोश व्यक्त गरिन् । जब जलवायुसम्बन्धी कदम गरिएको वाचाअनुरूप हुँदैन, तब सबै वाचा पाखण्ड पो हुन् कि भन्ने सोच आउनु स्वाभाविक हो । 

यदि भावी पुस्तालाई बस्नलायक विश्व छाडेर जाने हो भने पहिले त एकजना व्यक्तिले के चाहन्छ र समूहले के गर्न चाहन्छ भन्नेबीचमा भिन्नता बुझ्न आवश्यक छ । जलवायु संकटलाई सम्बोधन गर्नुपर्ने प्रतिबद्धता र दृढता राजनीतिज्ञको मात्र समस्या होइन, सामाजिक विज्ञान र नैतिक दर्शनको पनि समस्या हो । नवशास्त्रीय अर्थशास्त्रले हामीलाई भनेभन्दा फरक आधुनिक अर्थतन्त्र विशुद्ध व्यक्तिगत खेलाडीको आकांक्षाबाट निर्देशित हुने बजारको शृंखलाबाट सञ्चालित हुँदैन । 

यदि भावी पुस्तालाई बस्नलायक विश्व छाडेर जाने हो भने पहिले त एकजना व्यक्तिले के चाहन्छ र समूहले के गर्न चाहन्छ भन्नेबीचमा भिन्नता बुझ्न आवश्यक छ । अर्थात्, आजको जटिल वैश्विक अर्थतन्त्रमा विश्वलाई जलवायु विपद्बाट जोगाउने हो भने मानवीय अन्तरक्रियाको रणनीतिक आधारमा थप ध्यान दिन आवश्यक छ । 

बजारबारेमा बरु मरियाना मजुकाटोको टिप्पणी सही छ । मरियानाले उनको पुस्तक ‘मिसन इकोनोमी : ए म्यानसुट गाइड टु चेन्जिङ क्यापिटालिजम’मा बजार ‘विधि, मान्यता र संस्थागत व्यवहारलाई प्रभावित बनाउने सम्झौता, अन्तरक्रिया र संरचात्मक डिजाइन’मा अन्तरनिहित हुन्छ भनेर लेखेकी छन् । त्यसैले बजारलाई व्यक्तिगत मनसायको योगको रूपमा हेर्नु गलत हुन्छ । जब एक व्यक्तिले आफू जलवायु विपद् उल्टाउन चाहेको त बताउँछन्, तर त्यसतर्फ एकदम थोरै मात्र काम गर्छन्, उनीहरू पाखण्डी भएर त्यसो नगरेको पनि हुन सक्छ । उनीहरू मैले भर्खरैको एक शोधपत्रमा व्याख्या गरेझैँ ‘ग्रेटा डिलेमा (ग्रेटा द्विविधा)’ले प्रभावित बनाएको हुन सक्छ । 

यो खेलमा मानिसको समूह प्रारम्भमा आफ्नो स्वार्थलाई मात्र ध्यान दिन्छ । उसको कदमले भावी पुस्तालाई हानि पुग्छ भनेर यस चरणमा उनीहरू कुनै ख्याल पुर्‍याउँदैनन् । तिनै मानिस पछि वातावरणीय रूपमा सचेत भएपछि भने सुधारात्मक कदम उठाउन थाल्नेछन् । परम्परागत आर्थिक मोडेलले यसपछि भावी पुस्ताको कल्याण हुने गरी मानिसको व्यवहार रूपान्तरण हुने प्रक्षेपण गर्छ । तर, हामी बस्ने जटिल तथा रणनीतिक रूपमा जोडिएको विश्वमा भने योभन्दा फरक परिणाम हुन सक्छ । ‘ग्रेटाज डिलेमा’अनुसार वातावरणीय रूपमा सचेत मानिसले सामूहिक रूपमा वातावरणमा थप क्षति पुर्‍याउँछ । परिणामस्वरूप भावी पुस्तालाई सहयोग पुग्नुको साटो उल्टो उनीहरूमाथि हानि गर्छन् । 

यो सिद्धान्तले के देखाउँछ भने आजको जटिल वैश्विक अर्थतन्त्रमा विश्वलाई जलवायु विपद्बाट जोगाउने हो भने मानवीय अन्तरक्रियाको रणनीतिक आधारमा थप ध्यान दिन आवश्यक छ । यो साँघुरो प्राज्ञिक बहसजस्तो लाग्ला, तर त्यसो होइन । ग्रेटा थनवर्गले बोकेको लक्ष्य यथार्थमा बदलियोस् भन्ने आमसर्वसाधारणदेखि नेताहरू चाहन्छन् । त्यसका लागि हामीले भावी नीति तथा संस्थान निर्माण गर्न ‘ग्रेटाज डाइलेमा’लाई प्रयोगमा ल्याउनुपर्छ । 

यसैले आममानिस नेताले कोप–२६ मा आवश्यक कदम उठाउँदैनन् कि भनेर चिन्तित हुनु स्वाभाविक हो । जलवायु परिवर्तन र अन्य मुद्दामा हामीले सामाजिक तथा आर्थिक खेल चलिरहेको छ भनेर बुझ्न आवश्यक छ । त्यसैले हामीले नियमलाई बदलेर हाम्रो व्यक्तिगत नैतिक नियतलाई सामूहिक प्रतिफल प्रतिबिम्बित गर्ने प्रयास गर्नुपर्छ ।