सिंगापुर अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्रलगायत क्षेत्रका अनुसन्धाताका लागि एक यस्तो प्रयोगशाला हो, जहाँ कैयौँ पहेलीको विश्लेषण गरिन बाँकी नै छ । मलाक्का समुद्री सन्धिको निकटताका कारण दलदलयुक्त सिंगापुर टापु औपनिवेशिक कालभन्दा पहिले नै व्यापारिक केन्द्र थियो । यहाँ चीन र भारतबाट आएका धेरै व्यापारीले बस्ती बसाएका थिए । पछि पोर्चुगल र नेदरल्यान्ड्सबाट पनि व्यापारी आइपुगे । र, अन्ततः यो टापुमा बेलायती पुगे र यिनले टापुमा पूर्वी एसिया, श्रीलंका र भारतबाट कामदार ओसारे ।
‘सिंगापुर’ नाममै रहस्य लुकेको छ । १३औँ शताब्दीको उत्तरार्धमा बौद्ध राजकुमार साङ निला उतामा, जो आफूलाई एलेकजेन्डर द ग्रेटको वंशज दाबी गर्थे, उनले टापुमा राज्य स्थापना गरेका थिए । उनले नयाँ राज्यमा सिंह देखेको दाबी गरेका थिए । यसकारण उनले आफ्नो राज्यलाई सिंहपुर नाम दिएका थिए, जसको अर्थ संस्कृतमा ‘सिंह सहर’ हुन्छ । तर, सिंगापुर सिंहको प्राकृतिक वासस्थान भने होइन ।
९ अगस्ट, १९६५ मा मलेसियाको संसद्ले समस्याग्रस्त टापु मुलुकबाट हटाउने प्रस्ताव पारित गरेको थियो । तत्पश्चात् सो टापु एक स्वतन्त्र सहर–राज्य बनेको थियो, जसलाई अहिले सिंगापुर भनेर चिनिन्छ । तत्कालीन समयमा एसिया र अफ्रिकाका स्वतन्त्र र विकासशील राष्ट्रका तुलनामा सिंगापुर निकै विपन्न थियो, जहाँ प्रतिव्यक्ति आय पाँच सय डलर पनि थिएन । तर, राज्य बनेको २० वर्षपछि प्राकृतिक स्रोतसमेत नभएको यो सानो टापु एसियाकै धनी राष्ट्रमध्ये एक बन्न पुग्यो । अहिले सिंगापुरको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जिडिपी) करिब ८५ हजार डलर छ, जुन अमेरिकाको प्रतिव्यक्ति जिडिपीभन्दा बढी हो ।
सिंगापुरको आर्थिक चमत्कार के कारणले सम्भव भयो ? सिंगापुरको अद्वितीय सफलतालाई लिएर केही दक्षिणपन्थी समूहले अधिनायकवादी व्यवस्था प्रभावकारी हुन्छ भन्ने दलिल पेस गर्छन् । तर, हामी सबैलाई थाहा भएकै हो, सहसम्बन्ध (दुई भिन्न परिघटनाबीच पारस्परिक रूपमा देखिने अनुकूल सम्बन्ध) कारण हुनैपर्छ भन्ने छैन । यदि यसो हो भने बेलायती अर्थशास्त्री डेभिड हेन्ड्रीले बेलायतमा अवलोकन गरेको एक सहसम्बन्धलाई त्यहाँको मुद्रास्फीतिसँग जोड्न सकिन्छ (बेलायतमा मुद्रास्फीति भइरहँदा त्यहाँको राज्य स्कटल्यान्डमा हैजाको महामारी फैलिएको थियो) ।
सिंगापुरमा भएको तीव्र आर्थिक वृद्धि त्यहाँको उच्च लगानी, बचत दर, उत्किृष्ट शिक्षा प्रणाली र विवेकपूर्ण नीतिका कारण सम्भव भएको हो । एक अधिनायकवादी नेताले बिलकुलै बुद्धिमत्तापूर्ण नीतिगत निर्णय लिन सक्छ, तर अधिनायकवादी नेता र बुद्धिमत्तापूर्ण नीतिगत निर्णयबीच कुनै सम्बन्ध भने छैन । अधिनायकवादी राज्यमा आसेपासे पुँजीवाद (सत्तानिकट पुँजीपतिको रजगज) मौलाउँछ र राज्य नै असफल हुने दिशातर्फ जान सक्छ ।
सिंगापुरको तीव्र आर्थिक वृद्धि त्यहाँको उच्च लगानी, बचत दर, उत्कृष्ट शिक्षा प्रणाली र विवेकपूर्ण नीतिका कारण सम्भव भएको हो
अर्थशास्त्रीले बारम्बार सांस्कृतिक मान्यता, सामाजिक एकता र सार्वजनिक विश्वासजस्ता विभिन्न गैरआर्थिक कारक, जसले आर्थिक प्रदर्शनमा प्रभाव पार्ने गर्छ, तिनलाई बेवास्ता गर्छन् । अधिनायकवाद लादिएका अन्य मुलुकका ठिकविपरीत सिंगापुरको समाजमा अत्यधिक विश्वास देख्न सकिन्छ अथवा सिंगापुर ध्रुवीकृत छैन । सन् २०१७ को एक भाषणमा तत्कालीन उपप्रधानमन्त्री र हालका वरिष्ठ मन्त्री थर्मन सानामुगारत्नमले ‘सिंगापुरको पहिचान हाम्रो बहुसांस्कृतिकताको ‘ब्रान्ड’ हो । यसले हामीलाई एक राष्ट्र–राज्य बनाएको छ, जहाँ सबै धर्म र संस्कृतिका नागरिकले एकअर्कालाई समान रूपमा स्विकार्छौं’ भन्ने बताएका थिए ।
यो टापु मुलुकको एक सानो भ्रमणमा मैले सहर डुल्ने, त्यहाँका विद्यार्थी एवं प्राध्यापकसँग संवाद गर्ने मौका पाएको थिएँ, जहाँ मैले आफैँले बहुसांस्कृतिकतालाई नजिकबाट नियाल्ने मौका पाएको थिएँ । हाजी सडक वा अरब गल्लीमा हिँड्दा पृष्ठभूमिमा सुन्दर सुल्तान मस्जिद चमक देख्न सकिन्छ, जसले जोकोहीलाई पनि सजिलै इस्तानबुल वा साउदी अरबमा भएको महसुस गराउन सक्छ । त्यसैगरी चाइनाटाउनमा मानिसको कुराकानी सुन्दा तपार्इं आफूलाई बेइजिङ वा सांघाईका गल्लीमा टहल्लिरहेको पाउन सक्नुहुन्छ ।
सानो भारत बडा रोचक थियो । मैले जताततै तमिल बोली सुनिरहेको थिएँ, यद्यपि यस बोलीमा भारतीय राज्य तमिलनाडुको लवज भने थिएन । त्यसैगरी, भारतभन्दा अलिक फरक ढंगले महिलाले साडी पहिरिएका र टीका लगाएका थिए । यात्रु, पसले र ट्याक्सी चालकसँग कुराकानी गर्दा प्रत्येक समूहले आफ्नो सांस्कृतिक सम्पदालाई कायम राखेका थिए र यी सबैले सिंगापुरवासी हुनुलाई निकै ठूलो प्राथमिकता दिएका थिए ।
सिंगापुरको अधिनायकवादी शासन प्रणाली त्यहाँको सफलताको कारक हो भन्ने आधार नभए पनि यो अधिनायकवाद सहर–राज्य सिंगापुरको चरित्रको एक महत्वपूर्ण अवयव हो । एक कानुन मान्ने समाज यस्तो समाज हो, जहाँ मानिस सडक पार गर्नुअघि रातो बत्ती निभेको कुर्छन्, चाहे सडकमा टाढा टाढासम्म गाडी नै किन नदेखियोस् । कानुन अवहेलना गर्ने समाजको तुलनामा यो समाज उत्तम नै हो, तर जुन समाजमा मानिस कानुनका अक्षरभन्दा पनि कानुनको मर्मलाई पछ्याउँछन्, त्यो समाज उत्तम हुन्छ । उदाहरणका लागि न्युयोर्क वा लन्डनमा मानिस ट्राफिक समस्या सिर्जना नगर्ने गरी रातो बत्तीमै पनि सडक पार गर्छन् । सिंगापुरको समाज भने कानुनको अक्षर पछ्याउने मुलुक हो । सिंगापुर बसाइका क्रममा मैले सडक पार गर्न अनावश्यक रूपमा हरियो बत्ती कुर्नुपरेको थियो ।
(वासु विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री र भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार हुन्) प्रोजेक्ट सिन्डिकेटबाट