
गैरआवासीय नेपाली संघले सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र पारेको जनाएको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार विश्वभर रहेका नेपालीमध्ये ६८ हजार ६ सय ५१ को सदस्यता स्वीकृत भइसकेको छ भने थप ५ हजार १ सय ९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेको संघले जनाएको छ । ५६ वटा राष्ट्रिय समन्वय परिषद्मार्फत सदस्यता संकलन भइरहेको संघले जनाएको छ ।
संघका अनुसार क्षेत्रगत रूपमा एसिया प्यासिफिकमा १९ हजार ९ सय ११, ओसियानियामा १६ हजार ५ सय ३६, अमेरिकामा १५ हजार ४ सय २१, युरोपमा ९ हजार ८ सय ११, मध्यपूर्वमा ६ हजार ३ सय ५७ र अफ्रिकामा ६ सय १५ गैरआवासीय सूचीकृत भइसकेका छन् ।
संघले मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई सहज र पारदर्शी बनाएको जनाएको छ । जापान र अस्ट्रेलियामा सदस्यता वितरण सकिएको छ । हालसम्मको सूचीकृत तथ्यांकअनुसार जापानमा सबैभन्दा धेरै गैरआवासीय नेपालीले सदस्यता लिएका छन् ।
दोस्रोमा अस्ट्रेलियामा रहेका नेपालीको संख्या छ । त्यस्तै, क्यानडा, न्युजिल्यान्ड, आयरल्यान्ड, साउदी अरेबियामा, साउथ सुडान, फ्रान्समा पनि सदस्यता वितरण सकिसकेको संघले जनाएको । ‘आगामी दिनहरूमा बाँकी परिषद्को सदस्यता आवेदन स्वीकृतिपश्चात् यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ,’ संघले विज्ञप्तिमार्फत भनेको छ ।