घुससहित पक्राउ परेका मालपोत कार्यालय सिमराका प्रमुख, नायवसुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको छ ।
‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्र्याकबाट पास गराइदिने भन्दै ६ लाख रुपैयाँ घुस लिएको’ आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार खनालले सेवाग्राहीको जग्गा रजिस्ट्रेसन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवद्र्धन विभाग, नयाँ बानेश्वरमा रोक्का छ, त्यसका लागि खर्च गर्नुपर्छ भनेर घुसका लागि मोलमोलाइ गरेका थिए भने लेखनदास बडालले घुस रकम बुझेका थिए ।
खनाल र बडालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी कायम गरिएको छ ।